सप्ताहन्त

संस्मरण र अनुभूति-२८

गठ्ठाघरको पिगलेट हेरेपछि

वसन्त लोहनी |
असोज १, २०७९ शनिबार ७:५० बजे

कसले कसरी कहाँ भन्यो, या भन्दै आएका छन् आ-आफ्नो प्रकारले, त्यो यतिखेर हेक्का भएन। यो भाव मभित्र कसरी अङ्कुरित भयो त्यो थाहा भएन। अनि किन बाँचिरहेको छ त्यसको ज्ञान पनि छैन मलाई। तर बाँचिरहेको छ निश्चितरूपमा । त्यो हो (मान्छे न जन्मिन्छ, न उसको मृत्यु नै हुन्छ। जसलाई हामी जन्म भन्छौँ त्यो धरतीको भ्रमण हो। र, जसलाई हामी मृत्यु भन्दछौँ त्यो भ्रमण पूरा  भएको मात्र हो। यात्रा निरन्तर चलिरहेको छ । न यसको सुरु छ, न अन्त्य नै। यस अर्थमा जसले मलाई बनायो उसलाई म ‘तँ’ भन्ने गर्दछु किनकि निरन्तरताको अंश सिर्फ उसले मात्र दिएको हो मलाई। बाँकी सबै तपसिल हुन्। यात्राका भेटघाट र चिनजानहरू जुन शक्ति, आशक्ति, तृष्णा या मोह बनेर चलायमान गराउँछन्। अब म वेदप्रसाद लोहनी बाँचिरहेको देख्छु। अनि मात्र आफू सुरक्षित भएको महसुस गर्दछु । र, उनी मसँग संवाद गरिरहेका हुन्छन्। सपनीमा होस् वा मेरो अन्तस्करणको कुनै आवाज बनेर होस्।

१९ वर्ष र करिब ५ महिना अगाडि धरतीको यात्रा पूरा गरेका वेदप्रसाद लोहनीको यो वर्षको भाद्र १७ गते १०८ औँ जन्म जयन्ती। जन्मँदा वृहस्पतिबार दिन थियो। यो वर्ष शुक्रवार पर्यो। तर एउटा अचम्मको संयोग। विक्रम संवत् १९७२ साल भाद्र १७ गते वृहस्पतिबार र त्यस दिनको अङ्ग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर २ तारिख २०१५। यो वर्षको भाद्र १७ गतेमा पनि सेप्टेम्बर २ तारिख नै परेछ। त्यही दिन त्रिभुवन  विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले वेदप्रसाद लोहनी स्वर्ण पदक तथा नगद वितरण कार्यक्रमको आयोजना गरेको थियो। नेपालमा सिमेन्ट ढलान निर्माण प्रविधि सुरु गर्ने पहिलो नेपाली वेदप्रसाद लोहनीको सम्मान र सम्झनालाई चिरस्थायी बनाउन। यो पदक त्रिभुवन विश्वविद्यालयले २०५९ सालमा  स्थापना गरेको हो।


यस पुनीत कार्यको लागि इन्जिनियरिङ अध्ययन संस्थानको सिभिल इन्जिनियरिङको एम। एस। सी।  स्टक्चरल इन्जिनियरिङमा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई यो पदकबाट सम्मानित गरिने गरिएको छ। विई गरेकाहरूमध्ये सबैजसोले पढ्न चाहने भनेको स्ट्रक्चरल इन्जिनियरिङ हो त्यहाँ। यसरी यो एउटा ‘प्रेस्टिजियस’ अर्थात् प्रतिष्ठित पदक हो। प्रत्येक वर्ष दिइने यो पदक सुरुका दिनहरूमा प्रधानमन्त्रीले वितरण गर्नु भएको थियो। २०६१ सालमा अहिले कै प्रधानमन्त्री शेर बहादुर देउवाले वितरण गर्नु भएको थियो। केही वर्ष निरन्तरता पाउने सकेन पनि यसले। यो वर्ष भने २०७७ सालमा पहिलो हुने विद्यार्थी दीपेश तिवारीलाई इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा डा शशीधर राम जोशीले भाद्र १७ गते यो पदक र ५० हजारको नगद पुरस्कार सहित प्रमाणपत्र दिनुभएको थियो।

वेदप्रसाद लोहनी आफ्नी छोरी र नतिनीसँग रमाउँदै आफ्नै घरमा।

स्वर्गीय लोहनीको योगदान र वहाँको बहु आयामिक व्यक्तित्वबारे प्रा डा प्रेम नाथ मास्के, प्रा डा सुदर्शन राज तिवारी,  प्रा डा भरत शर्मा र प्रा डा मोहनप्रसाद लोहनी लगायतले प्रकाश पार्नुभएको थियो। लोहनीले निर्माण गरेको भवनहरूबारे डा मास्केले स्टकचरल र डा तिवारीले वास्तुकलात्मक धारणा प्रस्तुत गर्दै भन्नुभयो (वेदप्रसादजीको कामलाई त्यति वेलाको समय र नेपालको परिबेसमा राखेर मूल्याङ्कन गरेपछि उनको कामको महत्त्व अझ राम्ररी बुझिन्छ। त्यसै गरी त्यो समय र त्यो परिवेशमा त्यो खालको काम गर्ने आँट देखाउन सकेकोबारे चर्चा गर्दै  प्रा डा शर्माले भन्नुभयो ( वेदप्रसादजी जिनियस हो। डा लोहनीले उहाँलाई ‘बर्न जिनियस’ भन्दै २००५ सालमा नेपाली भाषा प्रकाशिनी समितिले छापेको शिल्प(ज्यामितिको पुस्तक सभालाई देखाउनु भयो। इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूले भोग्नु परेको विषयगत पुस्तकको अभाव कमगर्न वेदप्रसाद लोहनीले लेख्नु भएको उक्त पुस्तक नेपालीमा लेखिएको नेपालको पहिलो हो।

वेद प्रसाद लोहनी एउटा युग पुरुषु हुन्। एउटा युगमा मात्र जन्मने। त्यसैले नेपालको सिभिल इन्जिनियरिङलाई नयाँ युगमा लैजान सकेका। गुम्बज र फलामको सत्तरीबाट नयाँ प्रविधिमा छलाङ लगाउने सकेका। सिमेन्ट ढलान युगको सुरुवातकर्ता। २००२ सालको नेपालमा एउटा  डिप्लोमा होल्डरले 'सरस्वती सदन'को निर्माण गरेर। 'डिप्लोमा होल्डर' भनेर सम्बोधन गर्दा उनको इज्जत सगरमाथा जस्तो अग्लो हुन्छ। एउटा युग लिएर हिँडेका थिए उनले २०१२ सालमा निर्माण सम्पन्न भएको रञ्जना सिनेमा हलसम्म। रञ्जनाको त्यो डोम, त्यो बल्कोनी, त्यो फोयर अनि एकोस्टिकको चेत । त्यो दशक वेदप्रसाद लोहनीको युग थियो। त्यसपछि उनकै चेलाहरूको, मूलतः लेखनाथ रेग्मीको। त्यसपछि शङ्कर नाथ रिमालहरूले अगाडि लगे नेपालको सिभिल इन्जिनियरिङलाई।

युग पुरुष बन्न मान्छेले जन्मिँदाखेरि नै लिएर आउनु पर्दछ। यो जन्मजात प्रतिभा हो। विश्वका ठूला विश्वविद्यालयमा प्राप्त हुने ठूला डिग्रीले दिने गहन शिक्षाले यसलाई निखार्न सक्छ तर त्यो जन्मजात प्रतिभा दिन भने सक्तैन। ठूलो चिकित्सक, इन्जिनियर या वैज्ञानिक या अर्थशास्त्री बन्ने एउटा पाटो हो। तर आफ्नो ज्ञानको क्षेत्रमा युग परुष बन्ने बिलकुल अर्को कुरो हो। यसका उदाहरण जताततै छन्। एक दुइटा मात्र हेरेर अगाडि बढौँ। संयुक्त राज्य अमेरिका स्थापना गर्ने मध्येका एक हुन् बेन्जमन फ्रान्क्लिन। स्कुलको शिक्षासमेत पूरा गर्ने मौका नपाएका मान्छे। १२ वर्षदेखि कामगर्न थालेका र १७ वर्षमा कामको लागि घर छोडिसकेका। तर उनी त वहुशास्त्रज्ञाता बनेर पो निस्किए। उनी के भएनन् र ? वैज्ञानिक, दार्शनिक, राजनेता, कूटनीतिज्ञ, आविष्कारक। कसरी प्रतिभा लिएर जन्मेका हुँदा। आफूले आफैलाई सिकाएर।

 

त्यस्तै डेभिड रिकार्डोलाई हेरौ। उनी पनि १४ वर्षबाट कामगर्न थालेका र स्कुल पूरा नगरेका मान्छे। तर उनीले निकालेको अन्तर्राष्ट्रिय व्यापारको सिद्धान्तमा अहिलेको विश्व व्यापार आधारित छ। र, उनको सिद्धान्तमा टेकेर अनुसन्धान गर्ने प्राध्यापकले अर्थशास्त्रमा नोबेल पुरस्कार पाएका छन्। अल्वर्ट आइन्स्टाइन, जसलाई अझ इज्जत गर्दा भनिन्छ (  ‘हाइ स्कुल ड्रप आउट’। उनले पढ्दा पढ्दै स्कुल छोडेका थिए । र, पछि मात्र ज्युरिकको एउटा पोलिटेक्निकबाट डिप्लोमा लिएका थिए। तुलनात्मरुपमा साहित्यमा झन् बढी छन् यस्ता प्रतिभा। यसको पुष्टिको लागि सन् १९०१ देखि साहित्यमा दिन थालिएको नोबेल प्राइज विजेताहरूमध्ये कतिले उच्च शिक्षा प्राप्त गरेका रहेछन् त्यो हेरेमा प्रस्ट हुन्छ। तर तिनीहरूको कृतिमा अध्ययन तथा अनुसन्धान गरेर विद्यावारिधि गरेका विद्वान प्राध्यापकहरू जुनसुकै विश्वविद्यालयमा पनि छन्। त्यसैले शिक्षित भनेको त्यो हो जसले ज्ञान आर्जन गरेको छ। तर पनि होइन त्यति बेलासम्म जबसम्म त्यो ज्ञान उसले आफू बाँचेको समाज र मुलुक हितको लागि प्रयोगगर्न सकेको छैन। त्यसैले ज्ञान आर्जन गरेकाहरू मध्ये पनि कैयौ कैयौ अशिक्षित भएर गएका छन्। चाहे ती जतिसुकै षट्शास्त्री बनेका किन नहुन्। 

कसैसँग कोही दाँज्न खोजेको होइन यहाँ । न औपचारिक उच्च शिक्षाको महत्वलाई कम गर्न खोजिएको हो। भन्न केवल यति मात्र खोजिएको हो ‘युग पुरुष’ हुन मान्छेले जन्मँदाखेरि नै त्यो प्रतिभा लिएर आउनु पर्दछ। त्यो बेलाको अनकन्टार, गरिब र सानो मुलुक नेपालमा वेदप्रसादले साधारण दुई वर्षको डिप्लोमा पढेको तागतमा सिभिल इन्जिनियरिङलाई नयाँ युगमा पुराएका थिए। यसरी नयाँ युग हाँकेका थिए। त्यसैले त्यो युग ‘डिप्लोमा होल्डर’को युग बन्यो। र,यस अर्थमा निश्चितरूपमा उनी ‘युग परुष’ थिए। जन्मिँदा ल्याएको प्रतिभा थियो उनको जसले गर्दा आफूले आफैलाई सिकाए उनले युग परिवर्तनको लागि। त्यो भनेको सिभिल इन्जिनियरिङको यथास्थितिबाट आधुनिक युगमा छलाङ लगाउन। मलाई लाग्छ वेदप्रसादलाई ‘डिप्लोमा होल्डर’ भन्दा नै उनको इज्जत र कद अझ उँचो हुन्छ। पदक वितरण समारोहले उजागर गरेको यो वृत्तान्त पछि अब नियमित शृङ्खलातर्फ लागौँ। 

नियमित शृङ्खला सुरु गर्दा एउटा कुरा मैले भन्ने पर्ने भएको छ। सायद मैले पहिले पनि भनिसकेको हुँला। मेरो जिन्दगीले दिएको सबभन्दा ठूलो सौभाग्य भनेको सारा जिन्दगी मैले मेरो पितासँग बिताउन पाएको थिएँ । असहाय रोएर जन्मेदेखि आफैँले राति आर्यघाट पुराउन्जेलसम्म। अनि फेरि असहाय महसुस गरी रातभरि आर्यघाटमा रोएर। दाह संस्कार बिहान भएको थियो। मेरी आमाको मृत्यु भएपछिको अन्तिम चरणका उनको एक्लोपनाको खुसी नै विभिन्न प्रसङ्गमा आफ्ना बितेका दिनहरू मलाई सुनाउनुमा थियो। म ध्यान दिएर सुन्थेँ। त्यसैले लाग्छ म सँगै छु उनीसँग। यो पल पनि छु। अहिले पनि सुन्छु स्वरहरू कता कता मलाई सुनाइरहेका। जे लेखिँदै गएको छन् ती सब उनले गरेका कुराहरू हुन्। मात्र सम्झना मेरो, ती कति धूमिल पनि भएका छन्। रङ्ग भर्नु परेको होला मैले। त्यसैले शैली मेरो, अनि मुलुकको अद्यावधिक इतिवृत्त मेरो। तर कुरा वेदप्रसादको नै हो, उनको समय(प्रवाहको, उनको परिवेशको। उनले नै बताएको हो यी सब, आफ्नो जीवनको पछिल्लो चरणमा। त्यसैले जतिसुकै धूमिल बन्दै गएका किन नहोस्। जतिसुकै समयले बिस्तारै आफूसँग लिएर जाँदै गरेको किन नहोस्। वृत्तान्त वेदप्रसादले बताएको नै हो। 

भीमफेदीबाट बेलुकी घर आइपुगेर पिगलेटको दुनियाँमा हराएर निदाएका वेदप्रसाद भोलिपल्ट बिहान उठ्दा पूर्वको झ्यालबाट आएको घाम कोठाभित्र छिरिसकेको थियो। उनको कोठामा लहरै चार झ्यालहरू थिए पूर्वपट्टि धारा भएको चोकतिर फर्केका। पानी भर्नेको हल्लाले पनि उनीलाई बिउँझाएन। दिनभरिको हिँडाइबाट थाकेर सुतेको भनेर कसैले पनि उठाउन  उचित ठानेनन्। उठेदेखि नै व्यस्त हुने उनीकहाँ भेट्ने मानिसहरू आएर तल फलैँचामा बसिसकेका थिए। कोठामा सरासर आउन सक्ने कीर्तिराज गुर्जु र माधव प्रसाद प्रधान, जो लखनउ पोलोटेक्निकमा उनको सहपाठी थिए र हाल उनको सहयोगी, उनीहरू पनि तलै थिए।

 माथि बोलाएर सबै कुरा बुझे वेदप्रसादले विभिन्न ठाउँहरूमा भएको निर्माणसम्बन्धी। उनले दिएको स्केच र निर्देशन बमोजिम माधवले तयार गरेर ल्याएको डिजाइन र ब्लु प्रिन्ट हेरे। अनि गर्नु पर्ने कुराहरू अराएर पठाए। त्यसपछि हतार हतार नित्य कर्ममा लागे ( नुहाइ धुवाइ, पूजाआजा। खाना फटाफट ठुलो भान्छामा गएर खाए। चाँडै गर्नु पर्ने फुर्तिलो स्वभावले चौकाको पिर्कामा पलेटी कसेर समय लगाएर होइन कि पिर्कामा टुक्रुक्क बसेर खाने स्वभाव। मेरी आमाको भनाइ अनुसार पिर्कामा टुक्रुक्क बसेपछि खाना दिन पनि भ्याउन गाह्रो। र, बस्न पाएको छैन चार गाँस  सकेर हिँडी हाल्ने चुठ्न। त्यसपछि फटाफट लुगा लगाएर साइकल घिसारी हाल्ने चौडिलबाट तल गल्लीमा। र, साइकल गुडिसकेको हुन्थ्यो चढ्दा त। 

वेदप्रसाद यसरी हतारिँदै हान्निए बागबजार हुँदै रानीपोखरी तिर। उनको गन्तव्य थियो गठ्ठाघर। उद्देश्य थियो त्यहाँ राखेको पिगलेट हेर्ने। गठ्ठाघर, जङ्गी अड्डा भित्रको। त्यसैले त्यहाँ साइकल राख्ने झन्झट होला भनेर उनले आफैले बनाएको सरस्वती सदनमा राखे। त्यो परिचित ठाउँ। त्यहाँ सबै परिचित। अनि फटाफट हिँड्न थाले। न बार लगाएको थियो रानीपोखरीमा न टुँडिखेलमा। वारपार थियो। टुँडिखेलको डिलै डिल हिँड्दै गए। भित्र जान पाइँदैन थियो। एकाधले नजानेर या यसै भित्र छिर्यो भने पुलिस कराइ हाल्थ्यो ( ए हट! किन भित्र छिरेको। त्यो युग थियो राज्य नै व्यक्तिगत सम्पत्ति भएको। नेपालीहरू आमोद प्रमोदको वस्तु सरह भएको। सामाजिक मन यसरी नै कन्डिसन गरिएको थियो। त्यसैले यो जीवन पद्धति थियो।

गएको शृङ्खलामा थानकोटबाट लरी चढेर त्रिपुरेश्वरमा झरेका वेदप्रसाद। बेडिङ र ट्याङ्का भरियालाई बोकाएर ज्ञानेश्वरको आफ्नो घर फर्कँदा टुँडिखेलको डिलै डिल हिँडेर आउँदा वेदप्रसादले देखेको टुँडिखेल जसको वर्णन मैले सुनेको थिएँ त्यो वर्णन भइसकेको छ। त्यो बेला उनी दक्षिणबाट उत्तर ज्यादै थिए टुँडिखेलको पश्चिमको किनाराबाट। यो पटक गठ्ठाघर जाँदा भने टुँडिखेलको अर्को साइडको पूर्वको किनाराबाट उत्तरबाट दक्षिण ज्यादै थिए डिलै डिल।

अब अलिकति वेदप्रसाद अगाडिको कुरा पनि इतिहास पल्टाएर गरौँ न। त्यो परिवेशलाई ठम्याउन यो महत्वपूर्ण छ। अझ महत्वपूर्ण छ टुँडिखेल।  टुँडिखेललाई एउटा चउरमा मात्र सीमित गरेर यो बुझिँदैन। टुँडिखेल शक्तिको स्वरूप थियो। अहिलेका लुटेराहरूले बताएको गाडी पार्किङ र पसलहरू होइन। वरिपरिका बाटाघाटा जोडिएका भूगोल मात्र होइन खुला चउरको। यसमा जोडिएका छन् धर्म, तन्त्र, राजनीतिक शक्ति, शासन, मिथक र आदि इत्यादि। किरात काल अर्थात् २ हजार वर्ष अगाडिदेखिको ठूलो खुला चउर मात्र होइन टुँडिखेल यस अर्थमा।

नेपालको कुनै पनि पहाडमा गएर हेरेमा देखिन्छ बस्ति बसाल्दाको हाम्रो पुर्खाहरूको सोच। त्यो सोच पर्यावरण र अर्थतन्त्रसँग जोडिएको छ। विदेशी दान दातव्यमा गफ ठटाएर मोज गर्ने कुरा त थिएन। बाच्न त आफ्नै तागतमा पर्थ्यो। शोषण थियो त्यसको अर्को पाटो छ। राजनीति अधिकार हुनु एउटा कुरा हो तर आर्थिक शोषण त अहिले कता हो कता बढेको छ। हिजो नेपालीको टाउकोमा ऋण बोकाएर जुकाले जस्तो चुस्दैन थिए। अहिले २० खरबको ऋण नेपालीको थाप्लोमा बोकाएर त्यो लुटेर विदेशी बैकमा राख्ने र करिब १८ खरबको व्यापार घाटाबाट राजस्व उठाएर सरकार चलाउने परिपाटी बनेको छ। समग्रमा, यो शोषणको रूपान्तरण नै नेपालको अर्थतन्त्र बनेको छ, राजनीतिक हल्लाखल्लाबिच। शोषण त सरासर बढेको छ। फरक यत्ति हो त्यो सार्ने तरिका बेग्लै बनेको छ।

राज्यको सम्पत्ति र आम्दानीमा हालीमुहाली गर्ने त सीमित व्यक्ति नै छन् जुन सामन्तवादको अवशेषबाट हट्टाकट्टा भएको नव सामन्तवादी वर्ग बनेको छ। र, जुन दलाल पुँजीपतिको पनि दलाल बनेको छ। तर यिनीहरू नै पानी माथिको ओभानो बनेर हामीलाई पो सोध्छन् (होइन,  तलब खुवाउन पनि विदेशबाट ऋण लिनु पर्ने यो के भएको धान निर्यातगर्ने हामी अब चामल बाहिरबाट किन्नु पर्ने यो के भएको खुर्सानीसम्म पनि विदेशबाट आयातगर्नु पर्ने यो के भएको उत्तर त प्रस्ट छ ( गरिब नेपालीले रगत पसीना गरेर परिवारलाई बाच्न पठाएको पैसा जसलाई रेमिटेन्स भनिन्छ त्यसबाट चाहिने नचाहिने सब आयात गरेर।

त्यसैबाट त तिमीहरूको फेरि प्रधानमन्त्री हुने सपना र देशले मलाई प्रधानमन्त्री हेर्न चाहेको छ भन्ने बकम्फुसे भाषणहरू गर्न पाएका छौँ। कुनै प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिनँ भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार गरेँ। कुनै प्रधानमन्त्रीले साइनबोर्ड नराखेर मुलुक लुटे। प्रधानमन्त्रीको सरकारी निवास त बेचेर खाने प्रधानमन्त्री भएकाहरूले मुलुकले मलाई नै प्रधानमन्त्री चाहेको छ भनेर भाषण गरिरहेका छन् मङ्सिर ४ को चुनावको लागि। कुनै पनि पद्धतिमा यो वर्णन गर्न सकिँदैन जे नेपालमा भइरहेको छ। महाअभियोग खेपिरहेका प्रधान न्यायाधीशको बयानबाट सबै शासक नाङ्गा भएका छन्।

तर पनि लबेदा सुरुवाल वा टाई लगाएर भिजन र मिसनको प्रधानमन्त्री बनेर चमत्कार गर्ने गफ ठटाइरहेका छन्। र, यही नै बनेको छ हाम्रो मिडियाको मुख्य सम्प्रेषण गर्ने सामाग्री। त्यसको पनि घाँटी निमोठ्न मिडिया काउन्सिल विधेयक ल्याएका छन्। आवाज ननिकाल भन्नको लागि।  प्रजातन्त्रको लागि सङ्घर्ष गरेका, जनजीविकाको रूपान्तरणको लागि जन युद्ध गरेका हामीहरूको मुलुक लुट्ने नैसर्गिक अधिकार हो। नदीमा फोहोर नफाले आफै सुद्ध हुँदै गए जस्तै लुटपाट मात्र नगरे अर्थतन्त्र आफै बौरिएर आउँछ। यदि चेतना भए। अहिले त अचाक्ली नै भयो। अण्डा होइन कुखुरी नै खान खोजेपछि के हुन्छरु 

त्यो बेला आफ्नै पौरखमा बाँच्नु पर्ने भएकोले कम उपयोगी डाँडाको माथिल्लो भागमा बस्ती बसाएका र तल्लो भाग र अझ फाँट खाली छोडेका थिए खेती र वस्तुको चरनको लागि। अहिलेको पोखरा सहरमा जताततै पाटन थिए। जस्तो (मालेपाटन, गैह्रापाटन, मियापाटन, मझेरीपाटन, फलेपाटन, घारीपाटन, छोरेपाटन । कति पाटन कतिरु अल्गो ठाउँ विन्ध्यवासिनीको वरिपरि सहर। पाटन भनेको पहाड तलको मैदान जुन चरनको लागि छोडिएको हुन्थ्यो। दूध दिन छोडेका गाई भैँसीलाई भने जङ्गलमा छोडिन्थ्यो नब्याउन्जेलसम्म। हराउँदै गए पनि यो चलन अझै पनि छ। यसलाई बचाउन धर्म र संस्कृतिसँग पनि जोडिएका थियो। यस अर्थमा हाम्रा पुर्खा धेरै बुद्धिमान थिए। वास्तवमा कहाँ घर बनाउन पाउने, कहाँ नपाउने र कहाँ खुला छोड्नु पर्ने त कहाँ पार्क बनाउनु पर्ने, कहाँ जङ्गल। यी नै हुन् सहरी विकासको अवधारणा बढ्दै गएको जटिलताबिचमा अहिले पनि। यो ज्ञान परिमार्जन भएको छ अध्ययनले। र, प्रस्तुतगर्ने शैली फरक भएको छ प्रविधिले।

किरातपछिको लिच्छवी कालमा टुँडिखेललाई धेरै ठुलो खुला ठाउँ बोध गराउन होला ‘सहश्रमणडल’ भनिएको कथन छ। त्यति वेला त धेरै नै ठूलो फैलिएको थियो होला उत्तर देखि त्रिपुरेश्वर काटे पछिको सायद बागमती नदीसम्म, धरातल एकनास नभए पनि। सन् १८५० मा काठमाडौँको ब्रिटिस रेजिडेन्सीमा चिकित्सक भएर दस वर्ष भन्दा बढी बसेका डा। हेनरी एम्ब्रोज ओल्डफिल्डले टुँडिखेल ५ किलोमिटर लामो र ३०० मिटर चौडा भनेर उल्लेख गरेका छन्। त्यति बेला अहिलेको नारायणहिटी भएको ठाउँमा जङ्ग बहादुरका भाइहरूले बस्न थालिसकेका थिए। तर त्यसपछिको जमीन भने सबै खाली नै थियो। किनकि आफ्नो लागि सेतो दरबारदेखि पुत्रहरूको लागि अरू त्यहाँ दरबारहरू सन् १८८५ मा वीर शमशेर श्री ३ बने पछि नै बन्न थालेका हुन्।

वेदप्रसाद लोहनी आफ्नो नातिसँग रमाउँदै आफ्नो घरमा।

देवी बसेको ठाउँ। यो मान्यता अनुसार नै ‘टुँडीख्य’ भनिएको, जुन अपभ्रमित भएर टुँडिखेल बन्यो। राजा गुणकामदेव तान्त्रिक थिए। उनले काठमाडौँ बसाउँदा सहर सुरक्षित राख्न चारैतिर आठ ठाउँहरूमा अजिमा अर्थात् शक्ति पीठको स्थापना गरेपछि टुँडिखेल धर्मसँग जोडिन पुग्यो। त्यहाँ पनि लुमडी अजिमा स्थापना गरे उनले। हामी भद्रकाली माता भनेर पूजा गर्दछौँ। त्यस अगाडिको रुख तन्त्रसँग जोडिएको छ जहाँ इटुम्बहाल छिरेको राक्षसलाई फकाएर ल्याएर राखेको हुनाले ‘राक्षसको आँगन’ पनि भनियो टुँडिखेललाई। मेघको रूपमा  काशीबाट चिन जान लागेको महांकाललाई तान्त्रिक राजा गुणकामदेव र गुभाजुले रोकेर त्यहाँ विराजमान गराएको कथा पनि छ। अनि ‘दुई मजु’को मन्दिर पनि छ त्यहाँ। तीनटा रथहरू नचाउने ठाउँ पनि टुँडिखेल बनेको कारण यसलाई ‘तुरंख्य’ पनि भन्छन्। यसरी टुँडिखेल धर्मसँग र संस्कृतिसँग गाँसिन पुगेको छ र मल्लकालमा आइपुग्दा यो सम्बन्ध झन् बलियो भयो।

गुणकामदेवले नै सुरु गरेका इन्द्रजात्रा हिन्दु र बुद्ध धर्मको अनुपम सम्मिलनको स्वरूप हो। १५ वर्ष अगाडिदेखि त्यस दिन कुमारीको रथ चलाउने चलन बसालेका काठमाडौँका राजा जयप्रकाश मल्लले सन् १७६८ सेप्टेम्बर २६ को इन्द्रजात्रा भने मनाउन पाएनन्। भागेर पाटन पुग्नु पर्यो। पृथ्वीनारायणले मनाए त्यो इन्द्रजात्रा। बिहानको ब्रह्म मुहूर्ततिर उनी राज सिंहासनमा बसिसकेका थिए। भीमसेन स्थान, नरदेवी र टुँडिखेल गरी तीन तिरबाट धावा बोलिएको त्यो वेला पृथ्वीनारायण टुँडिखेलबाटै हनुमान ढोका पुगेका थिए। नेपाल बन्यो यो वर्ष एकीकृत भएर । अनि फैलिने क्रम चालु भयो सन् १८१५ सम्म। यो फैलावटको नेपालको शक्ति काठमाडौँमा फैलिएको खुला चउर बन्यो टुँडिखेल। शक्तिको विम्ब नै बन्यो। 

राणा कालमा त शक्ति प्रदर्शन गर्ने थलो। जनतालाई गरिएको अमानवीयकरण अनुरूप सामाजिक मनलाई कन्डिसन गर्ने थलो। जङ्ग बहादुरले शक्तिको प्रदर्शन मात्र होइन राजा राजेन्द्रलाई नै यही टुँडिखेलबाट सैनिकहरूको सामुन्ने घोषणा गरेर नै हटाइदिए। लडाइँ लड्न जाने अगाडि सैनिकहरू जम्मा भएर चाँजोपाँजो मिलाउने ठाउँ। बिगुल लागेपछि खान लागेको भात पनि छोडेर सैनिक जम्मा हुनुपर्ने ठाउँ। सेनाको परेड खेल्नेदेखि खरीको बोटको चौतारीबाट देशवासीलाई महत्त्वपूर्ण सूचना सुनाउने ठाउँ। श्री ३ चन्द्र शमशेरले दास प्रथा हटाएको घोषणा यहीँबाट गरेका थिए। पछि राजा त्रिभुवन र महेन्द्रले पनि यहीबाट जन सम्बोधन गर्थे।

विदेशी पाहुना आउँदा नागरिक अभिनन्दन यही गरिन्थ्यो। भर्खरै दिवङ्गत भएकी एलिजाबेथ द्वितीयाको पनि अभिनन्दन यही गरिएको थियो। प्रजातन्त्र आएपछि नागरिकहरू भेट्थे र छलफल गर्थे यहाँ मुलुकको र आफ्नो दुःखसुखको। छलफल र प्रवचन हुन्थ्यो। कुनै बेला मैले आफैँले देखेको थिए गोविन्द प्रसाद लोहनीले पहिलो पल्ट म्यार्कसिजमको खुला क्लासहरू लिएको यहीको चउरमा। केटाहरू फुटबल खेलिरहेका र दन्त मन्जन बेच्नेदेखि चटक देखाउनेहरू घुमिरहेका हुन्थे। प्रजातन्त्रको उद्घोष र राजनीतिक गतिविधिको विरोध र समर्थनका आवाजहरू यहीँबाट प्रतिध्वनित हुँदै आएको हो। यो यति खुला थियो कि सबै किसिमका विचारहरू यहाँ सम्मिलन हुन सक्थ्यो। मान्छेहरूले खुला श्वास लिन सक्थे।  

कुनै बेला फैलिँदै पनि गएको थियो टुँडिखेल। र, अझ फैलाउन चाहन्थे श्री ३ रणोद्वीप त्रिपुरेश्वरसम्म नै। अहिलेको दशरथ रङ्गशाला र खेलकुद परिषद् भएको ठाउँ सबै पुरेर।  जबकि प्रविधि थिएन तर कति आँटिलो कुरो। उनी मारिएपछि यो योजना पनि मर्यो। पछि टुँडिखेल फैलिने होइन कि खुम्चिन थाल्यो। खुम्चिने मात्र होइन टुक्रिन थाल्यो। र, अहिले कस्तो बिजोग भोगिरहेको छ रु अब त के टुँडिखेल भन्नेरु बिचौलियाले सुरु गरेको व्यापार गर्ने ठाउँ बनेको छ। ‘अकुपाई टुँडिखेल’ भन्ने अभियान पनि चलाएका छन् यो सहन नसकैका जिम्मेदार जन सचेतकहरूले यसलाई बचाउन। यो ‘काठमाडौँको फोक्सो’ बाँच्यो भने मात्र काठमाडौँवासी बाँच्न सक्छन् भन्ने धारणा लिएर।

तर जुन सहरका नदीहरूलाई मुस्किलले बहन दिएको छ यसका बहने किनाराहरू सबै बिचौलिया, ठालु र राजनीतिकर्मीहरू मिचेर, त्यहाँ सहरको मुटुको टुँडिखेल अतिक्रमण हुनबाट के जोगिन्थ्योरु बागमती र विष्णुमती नदीको लालपुर्जाबाट मात्र करिब दुई तिहाइ जमीन खाइसकेका छन्। नदी नै पनि पुरेर खाए। हेरौँ टुकुचाको हाल। नागरिकता दिने होइन कुन बहानाले विदेशीलाई सकेसम्म धेरै बाँडेर सत्तामा विदेशी आशीर्वाद लिएर टिक्ने राजनीतिगर्नेहरुको कारण मुलुक त नजोगिने अवस्थामा आइपुगिसकेको वेला जाबो टुँडिखेल के हो र यिनीहरूको लागि। त्यसैले जनताले टुँडिखेल ‘अकुपाई’ अर्थात् जनताको लागि राख्ने नभएर ठालुहरूको छत्रछायामा जसले सक्छ उसले ‘अकुपाई’ गर्ने भयो टुँडिखेल।

२००२ सालको टुँडिखेल। दस बजे अफिस पुग्ने हिसाबमा वेदप्रसाद टुँडिखेलको डिलबाट हिँडिरहेका छन् दक्षिणतिर जङ्गी अड्डाको गठ्ठाघर पुग्न। घाम अनुहारमा परिरहेको। तर एकलव्यको छ उनको धुन। उनी दायाँबायाँ आलोपालो गरेर हेर्दै हिँडिरहेका थिए। टुँडिखेलबाट एउटा केटो घोडा चढेर जाँदै थियो। पछिपछि मानिसहरू कुदिरहेका ( सरकार, गरिब परवर, भन्दै। त्यति बेलाको चाकरीको यो एक प्रकारको नमुना। त्यो केटो सिंहदरबार भएको तिर लाग्यो। चन्द्र शमशेरका छोराहरू बबर शमशेर वा सिंह शमशेरका छोराहरू थिए होलान्। वेदप्रसाद आफ्नो धुनमा भएकोले हेक्का राखेनन्। दायाँतिर हेरे खरीको बोटको त्यो सैनिक चौतारी। त्यति चहलपहल थिएन। अनि अझ परसम्म हेरे, महांकाल स्थान र मिलिटरी अस्पताल।

हुन त उनी अति बेफुर्सदी मान्छे। तर हेरिरहे कहिले काहीँ बसेको महांकाल स्थानसँगै जोडिएको टुँडिखेलको सानो भागलाई। त्यहाँ बेलुकी ४ बजे पछि मान्छेहरूलाई बसेर गफ गर्न दिइन्थ्यो। त्यहाँ गफगर्नेहरू एकले अर्कोलाई चिन्नु पर्दैन थियो। एकले अर्कोलाई मिस्टर भने हुन्थ्यो। खुब चलनमा थियो त्यो शब्द ुमिस्टरु को। वेदप्रसाद त चुरोट नखाने हुनाले मतलब थिएन। तर किन हो सलाई बोकेर हिँड्ने भन्दा चुरोट खाएर हिँडिरहेका मानिसलाई देखेपछि भन्थे ( मिस्टर, खै त१ यसरी चुरोट सल्काउँथे। यो मिस्टर शब्दले मलाई मेरो सानो छँदाको सम्झना हुरुरुरु अगाडि ल्यायो। वेदप्रसादको अत्यन्त मिल्ने साथी थिए जसको नाम पछि मात्र मैले थाहा पाए ( देवीका नाथ जोशी। उनीहरू एक अर्कोलाई मिस्टर भनेर सम्बोधन गर्थे।अहिले बल्ल यो लेख्दा यो आपसी मिस्टरको सम्बोधनको गुत्थी फुकेको जस्तो लाग्यो। त्यति बेलाको प्रचलनबाट आएको रहेछ।

यत्तिकैमा उनी भद्रकाली आइपुगिसकेका थिए। फैलिएको त्यो टुँडिखेल वारपार हेर्दा उनलाई लाग्यो इतिहासको के कुरा उनले पनि देखे शक्ति प्रदर्शन हस्तान्तरण भएको टुँडिखेलबाट। भीम शमशेर, जुद्ध शमशेर र पद्म शमशेर महाराज भएको त उनले आफैले देखेका थिए त्यति बेला सम्ममा। भीमको मृत्यु हुनु अगाडि नै मृत्यु पक्का भएपछि मुख्तियार जुद्ध शमशेरले धरहराबाट बिगुल लगाउन  लगाइसकेका थिए। राति ११ बजे उनी मर्दा त सेना टुँडिखेलमा जम्मा हुन थालिसकेका। मुक्तियार जुद्धले आफैलाई आफैले श्री ३ घोषणा गरी १९ तोपको सलामी लिए। यही टुँडिखेलमा सैनिक परेड हेरेका थिए जुद्धले। यसको लागि न श्री ५ त्रिभुवनबाट पाउनु पर्ने लालमोहर लिए उनले, न दाम राख्न गए। गए दाम राख्न दस दिन पछि। यो सबै टुँडिखेलले हो। सेनाले टुँडिखेलमा श्री ३ मानेपछि सकियो। शक्ति भनेको पल्टन हो। जोसँग पल्टन छ उसैले राज्य गर्ने हो।

अब वेदप्रसाद ठूलो टुँडिखेलको किनारमा थिए। त्यसपछि सानो टुँडिखेल सुरु हुन्थ्यो। जुन भनेको अहिले दशरथ रङ्गशाला र खेलकुद परिषद्को परिसर जसभित्र गठ्ठाघर विलय भइसकेको छ। त्यति बेला नजिकै पुगिसकेका थिए गठ्ठाघरको, जहाँ उनी पिगलेट हेर्न गइरहेका थिए। के हो पिगलेटरु यसलाई बुझ्न श्री ३ देव शमशेरको पालामा पुग्नु पर्ने हुन्छ। सबभन्दा कम समय श्री ३ भएका देव शमशेर ( ११४ दिन मात्र। वीर शमशेरको सन्तानहरूबिचको झगडा मिलाउने बहानाको षडयन्त्र अनुरुप सेतो दरबारमा देव शमशेरलाई पुराए। त्यही चन्द्र शमशेरले कन्चटमा रिभल्भर तेर्साएर राजीनामा लेख्न लगाएर सत्ता लिएका थिए। तर यो छोटो अवधिमा पनि देवले १० बजेदेखि ५ बजेसम्मको कार्यालय समय तोक्ने, गोरखापत्रको सुरु र समयको हेक्का राख्न १२ बजेको तोप पड्काउने चलन चलाएका थिए।

 यस्तो तोप त्यही टुँडिखेल पड्काइन्थ्यो। सँगै तलबाट तोप केही सैनिकले तान्दैमाथि टुँडिखेलमा ल्याउँथे। वीर शमशेरले राखेको घण्टाघरले टाइम बोलिरहेको हुन्थ्यो। तर पनि सैनिकले ठीक टाइम इसारा गरेपछि यता तोपमा आगो झोसेर पड्काउँथे। घण्टाघरले समय दिएकै थियो किन तोप पड्काउनु पर्ने भन्ने प्रश्नको उत्तर पनि सायद शक्तिसँग नै गाँसिएको छ। त्यतापट्टि नजाऊ अहिले। १९९० सालको महा भूकम्पपछि घण्टाघर ढल्यो र घण्टाघरको पुनर्निर्माण नहुन्ज्यालसम्म त्यसैको घण्टामा डन्डीले हानेर समय दिन थालियो। डन्डी हान्नको लागि चाहिँ त्रि(चन्द्र कलेजमा सूर्यको प्रकाशबाट चल्ने घडी जडान गरिएको थियो। 

जे होस् यस्तो तोप तीन पटक पट्काइन्थ्यो। बिहान जनता जगाउन, दिउसो काम बुझाउन र बेलुकी घरबाट बाहिर निस्कन नदिन।अघोषित लकडाउन। राति निस्कनको लागि प्यारोल अर्थात् त्यो रातलाई तय गरेको पासवर्ड बताउन सक्नु पर्थ्यो। प्रजातन्त्र आएपछि २००८ सालको एउटा राजपत्रमा जारी सूचनामा भने बिहान र बेलुका मात्रै छ। यसरी पड्केको तोपबाट बारुद बलेपछि झरेको खोका सैनिकले  सबै जम्मा गरेर राखेका थिए। त्यसैलाई पिगलेट भनिँदो रहेछ। टुँडिखेलको त्यो एउटा भागलाई गठ्ठाघर भनिन्थ्यो। गोला बारूद , हात हतियार राख्ने ठाउँ। जम्मा भएको पिगलेटलाई जङ्गी अड्डाले त्यही गठ्ठाघरमा राखेको थियो। लिलाममा चढाएको थियो यो पिगलेटलाई। यसको जानकारी वेदप्रसादले कलकत्ताबाट काठमाडै फर्कँदा रक्सौलदेखि अमलेखगन्जसम्मको  नेपालको रेलको यात्रमा आफू बसेको डब्बामा सुनेका थिए। पछाडिको डब्बामा बसेकाहरूले गरेको गफबाट। त्यसपछि उनी ‘पिगलेटको दुनियाँ’मा हराएउदै आएका हुन्।

गठ्ठाघरमा चाङ लगाएर राखेको त्यो अजङ परिमाणको पिगलेट देखेपछि उनी चकित परे। प्रत्येक पिगलेटमा उनले धन देखे, सुन जस्तै। यसरी धन दिन सक्ने हुँदा अर्को ‘धनाढ्यको दुनियाँ’मा पुगे वेदप्रसाद। वास्तवमा पुगे नै २००६ सालतिर जब उनी नेपालको धनी व्यक्तिहरूमा एक बन्न सफल भए।  तर त्यति वेला ठूलो प्रश्न तेर्सियो अनको अगाडि ( त्यो पिगलेट हासिल गर्ने कसरीरु त्यो चहकिलो बनेको अनुहारमा यो अनुत्तरित प्रश्नले उदाएको सूर्यलाई बादलले छोपेको जस्तो भएको थियो। बादल हराउँदै जान्थ्यो देदीप्यमान सूर्य देखिन्थ्यो। फेरि बादल आउँथ्यो त्यो खुसीको उज्यालोलाई छोपी दिन्थ्यो। यो अवस्था लिएर उनी अड्डा बन्द नहुन्ज्यालसम्म त्यो पिगलेटको रासलाई हेरिरहे।

वेदप्रसादबारे वसन्तका लेख

२१/६५३,  लोहनी-कुटी पुगेपछि

- डाँक गाडीबाट भीमफेदी

त्यो यात्रा नेपाली रेलको

- लामो निरन्तरतासँग मिसिएको छोटो यात्रा​

प्रकाशको जन्म, व्यवसायको सुरुवात

भत्केको घर र नबनेको दरबार

साइकलमा आएका राजा र त्यो डोम

‘जिनियस’ हुन् वेदप्रसाद

राँची पुगे वेदप्रसाद

राष्ट्रिय धरोहर बनेका ती दुई

- सृजनाको उन्मुक्त अभिव्यक्ति

- समानान्तर यात्रा- सिमेन्ट ढलान र फ्युजन प्रविधिको

गजबको मान्छे उहाँ, तपाईंको फादर

पौरखी सोचले सधाएका हातहरू

सरस्वती सदन कसरी बन्यो ?

ज्यामितिको पहिलो पुस्तक

साँघुरो मन, काँचो रोटी

शासक, शासकीय र शासनको स्वरूप

कडा अनुशासनभित्र ‘अराजक’ बनेर जे सिके

गुरुज्यूको चउरको फुटबल म्याच

वेदप्रसादको खोच्याउने घोडा

दोभानबाट निस्किएको अठोट

जङ्गबहादुरको काँधमा खेलेकी

संस्मरण र अनुभूति : टालिएका झ्यालहरू

‘सेल्फ मेड’ वेदप्रसादजी

नबाब, कबाब, सबाब र आदाबको सहरमा

वेदप्रसाद, जसले सरस्वती सदन ठड्याए


 


Author

थप समाचार
x