पर्यटन

ह्विलचियरमा बन्जी जम्प (भिडियो)

सृजना खड्का |
चैत २६, २०७८ शनिबार १३:५१ बजे

बन्जी जम्प गर्न सुरिएर पोखरास्थित ‘गो बन्जी नेपाल’मा पुगेका केही युवा शरीरमा हार्नेस बाँधेर पनि डराएर बसिरहेका थिए । त्यही बेला झापा, दमकका भेषराज न्यौपाने (३६) ह्विलचियरमा बन्जी ब्रीज पुगे । सुरक्षाका लागि बन्जी क्रुले उनको शरीरमा हार्नेस बाँधिदिए । हातमा गोप्रो क्यामेरा लगाइदिए । ह्विलचियरबाट ओर्लिएर भेषराज बन्जीका लागि पुलछेउ पुगे । वरपरका सबैले उनलाई हुटिङ गर्न थाले । केही क्षणमै उनी डोरीको सहारामा सेती नदीको खोचमा झुल्न थाले । ‘झर्ने बित्तिकै केही सेकेन्डका लागि म शून्य भएँ,’ उनले भने, ‘हातमा लगाएको गोप्रोमा हेर्दै हासेँ । त्यस दिन मेरो अर्को एउटा सपना पूरा भएको थियो ।’ 

पहिल्यै प्याराग्लाइडिङ र र्‍याफ्टिङ गरिसकेका भेषराजलाई केही समय अघिदेखि बन्जी गर्ने सपना पलाएको थियो । तर, ह्विलचियरमा भएका कसैले पनि बन्जी गरेको उनले सुनेका थिएनन् । ‘मलाई बन्जी गर्न दिइन्छ कि दिइँदैन, त्यो नै थाहा थिएन,’ उनले भने, ‘तैपनि, मैले एकजना साथीमार्फत बन्जी टोलीलाई आफ्नो प्रस्ताव राखेँ । मेरो इच्छाशक्ति देखेर उहाँहरूले मलाई बन्जी गराउने निर्णय गर्नुभयो ।’
 


भेषराजले बन्जी गरेपछि पुल छेउ पुगेर डराइरहेकाहरूले पनि बन्जी जम्प गरे । उनीहरूको डरलाई भेषराजको साहस र आत्मविश्वासले जित्यो । एक हप्ता भयो, भेषराजलाई अहिले धेरैले फोन गरेर बन्जी गरेकामा बधाइ दिइरहेका छन् । बन्जीपछि भने भेषराज अब स्काइडाइभिङ गर्ने सपना पाल्न थालेका छन् । 

त्यस दिनदेखि ह्विलचियरको सहारा...

१२ कक्षामा पढ्ने भेषराज त्यसताका १८ वर्षका थिए । नेपाली सेनाको लेफ्टिनेन्ट बन्ने उनको सपना थियो । त्यसैको तयारीमा उनी बिहान सबेरै उठेर दौडिन्थे । २०६१ सालको फागुन महिना थियो । एक दिन बिहानको शारीरिक व्यायाम सकेर घर फर्किएका थिए । ‘घर फर्किएर कलेज जाने तयारी गरिरहेको थिएँ,’ उनले भने, ‘औँलामा ठेस लागेर झम्झमाएपछि बरन्डामा गएर बसेको थिएँ । चक्कर लागेर बरन्डाबाट तल खसेछु ।’

बरन्डाबाट खसेपछि परिवारका सदस्यले उनलाई तुरुन्तै अस्पताल लिएर गए । उपचारपछि हिँडडुल गर्न सकिएला भन्ने भेषराजले सोचेका थिए । तर, उनलाई आफ्नो अवस्थाबारे खासै जानकारी थिएन । परिवार र डाक्टरले लामो समयसम्म उनलाई वास्तविक अवस्थाबारे जानकारी दिएका थिएनन् । एक समय उनलाई आफ्नो अवस्थाबारे थाहा भयो । ‘ह्विलचियर नै अबको मेरो सहारा हो भन्ने थाहा पाएँ,’ उनले भने, ‘मेरुदण्डको पक्षघात भएको रहेछ । गर्धन भाँचिएको थियो । हात र खुट्टा केही पनि चल्दैनथ्यो ।’
 

भेषराजलाई निको हुन निकै समय लाग्यो । लगभग तीन वर्ष उनले ओछ्यानमै बिताए । दिनरात उनको स्याहारमा कोही न कोही खटिनुपथ्र्यो । तर, बिस्तारै उनको शरीर उठ्न सक्ने भयो । सामान्य जीवन बिताइरहेका उनले दुर्घटनापछि थुप्रै चुनौती बेहोरे । आर्थिक रूपमा पनि परिवारमा निकै अप्ठ्यारो आइपर्‍यो । तैपनि, उनले सजिलै हार मानेनन् । मानसिक रूपले आफूलाई बलियो बनाए । पढाइलाई निरन्तरता दिए । ग्रामीण विकासमा मास्टर्स गर्दै उनी बिस्तारै घरबाहिर निस्किन थाले ।

पुस्तकले ल्याएको परिवर्तन 

दुर्घटनापछिको खराब समयबाट निस्किन र आफूलाई व्यस्त राख्न उनी पुस्तक पढ्न थाले । केही पुस्तक साथीहरूले सिफारिस गरे । केही आफैँले खोज्दै पढ्न थाले । हेलेन केलर, झमककुमारी घिमिरे, स्टिफिन हकिङ आदिका पुस्तक पढे । ती किताबले उनको जीवनलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गरिदिए । किताबले उनलाई शारीरिक अवस्थाभन्दा विचार शक्तिशाली हुन्छ भन्ने सिकायो । ‘हामी मानसिक रूपले सजग र शक्तिशाली भयौँ भने शारीरिक अवस्थाले केही फरक पार्दैन भन्ने कुरा मैले किताबबाटै सिकेँ,’ उनले सुनाए, ‘किताबले ममा ऊर्जा थप्यो । सशक्त रूपले अघि बढ्न प्रेरित गर्‍यो ।’

जसरी पुस्तकले उनको जीवन बदलियो र समाजमा पुनःस्थापित हुन सघायो, त्यसरी नै उनी पुस्तकको प्रभाव अरुको जीवनमा पनि परेको हेर्न चाहन्थे । तर, उनले चाहेका केही पुस्तक नै दमक बजारमा उपलब्ध थिएनन् । त्यसपछि उनमा आफ्नै घरको पहिलो तल्लामा पुस्तकालय स्थापना गर्ने सपना पलायो । २०६८ सालदेखि उनी पुस्तकालय बनाउने भनेर पुस्तकहरू भेला पार्न थाले । केही साथीहरूको सहयोगमा पुस्तकालय व्यवस्थापन समिति पनि खडा गरे ।

पुस्तकालय सुरु भएपछि पढ्न र सहयोग गर्न आउनेहरू बढ्दै गए । पछिल्लो समय दमकमा ‘डाइनामिक पब्लिक लाइब्रेरी’का रूपमा उनको पुस्तकालय चर्चित छ । भेषराजले अहिले यो पुस्तकालयलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाइरहेका छन् । मोरङ, सुनसरी, पोखरा हुँदै देशका १७ ठाउँमा यसका शाखा छन् । 

 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x