पर्यटन

महाशिवरात्रिमा जहाजबाट कैलाश मानसरोवरको दर्शन

इकागज |
फागुन २५, २०८० शुक्रबार १७:१८ बजे

फाइल फोटो

नेपालगञ्ज - महाशिवरात्रिको अवसरमा चीनको तिब्बतमा रहेको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको जहाजबाट दर्शन गराइएको छ ।

नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी ट्रिप टु टेम्पल्ससँगको समन्वयमा नेपालगञ्जबाट एक सय ५० भारतीय तीर्थयात्रीलाई लगेर आज कैलाश मानसरोवरको दर्शन गराएको हो ।


माउन्टेन फ्लाइटबाट कैलाश पर्वत र मानसरोवरको दर्शनसँगै राक्षस ताल, अपि र साइपाल हिमाललगायतको आकर्षक दृश्यावलोकन गराइएको पथिल होलिडेजका प्रबन्ध निर्देशक महेश गौतमले जानकारी दिए । उनका अनुसार कोरोना महामारीअघि वार्षिक करिब १४ हजार भारतीय पर्यटक नेपालगञ्जको मार्ग भएर मानसरोवर पुग्ने गरेका थिए । 

“यसअघि रुपैडिया नाका हुँदै मानसरोवर जाने पर्यटक नेपालगञ्जबाट हवाई मार्गबाट सिमिकोट गएर त्यहाँ बास बस्ने र सिमिकोटबाट हिल्सासम्म हेकिकप्टरमा तथा हिल्साबाट सडक मार्ग भएर  ताक्लाकोट हुँदै मानसरोवर पुग्ने गर्दथे”, गौतमले भने । 

पर्यटकीय गतिविधि बढाउन माउन्टेन फ्लाइट सुरु गरिएको होलिडेजका प्रबन्ध निर्देशक गौतमले जानकारी दिए । कैलाश मानसरोवरको दर्शन गर्न चाहने भारतीय पर्यटकका लागि यो नयाँ गन्तव्य बन्दै गएको ट्रिप टु टेम्पल्सका प्रबन्ध निर्देशक विकास मिश्राले बताए । माउन्टेन फ्लाइटकै लागि एक सय ५० भारतीय पर्यटक यहाँ आएका थिए । उनीहरूलाई श्री एअरलाइन्सको जहाजबाट हवाईसेवा उपलब्ध गराइएको हो । 

कैलाश मानसरोवरको दर्शन गर्ने सपना पूरा भएको भारतको कर्नाटकबाट आएकी ३३ वर्षीया अरुणा यनले बताइन् । “जहाजबाटै दर्शन गर्न पाउँदा अत्यन्तै खुसी छौँ”, नयाँ दिल्लीबाट आएका ६७ वर्षीय गोपाल सेठले भने । 

यसअघि पथिल होलिडेज र ट्रिप टु टेम्पल्सले श्री एअरलाइन्ससँगको समन्वयमा गत माघ १५ गतेदेखि कैलाश मानसरोवर दर्शनका लागि माउन्टेन फ्लाइट थालेको हो । 
रासस


Author

थप समाचार
x