पर्यटन

डेढ लाख बढी पर्यटकले 'न्यु इयर इभ ठमेल सडक महोत्सव' मा अवलोकन गर्ने

इकागज |
पुस १३, २०८० शुक्रबार १६:२५ बजे

काठमाडौँ- ठमेलमा अंग्रेजी नयाँ वर्षको अवसरमा 'न्यु इयर इभ ठमेल सडक महोत्सव' हुने भएको छ । आइतवार साँझ सन् २०२३ को डिसेम्बर ३१ अर्थात पुस १५ गते विविध कार्यक्रम गरि सडक महोत्सव गरिने ठमेल पर्यटन विकास परिषदले जनाएको छ । सन् २०२४ को नयाँ वर्षलाई स्वागत गर्न ठमेल सडक महोत्सव हुने भएको हो । 

महोत्सवको उदघाटन उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले गर्ने भएका हुन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महोत्सवमा १ लाख ८० हजार बढी स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गर्ने परिषदका अध्यक्ष भविश्वर शर्माले जानकारी दिए । 


उनका अनुसार महोत्सवमा २०-२२ लाख खर्च गरिने भएको छ । साँझ साढे ५ देखि सुरू भएर साढे १२ बजे समापन हुनेछ । ठमेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनलाई पहल गरिने अध्यक्ष शर्माले बताए । सो दिन व्यवसायीले आफ्ना वस्तु तथा सेवाको प्रवर्द्धन गर्न सक्ने छन् । 

मौलिक बाजागाजाहरूको प्रस्तुति रहने उनले जानकारी दिए । अघिल्लो वर्षमा जस्तो सांगीतिक कार्यक्रम नगरिने उनले बताए । धिमे बाजा,लाखे नाच तथा अन्य मौलिक सांस्कृतिक कार्यक्रम गरिने उनले बताए । शर्माले ठमेलका घरधनी तथा व्यवसायीलाई महोत्सवलाई सफल बनाउन अनुरोध गरे ।

महोत्सवलाई लक्षित गरी सुरक्षा व्यवस्था मजबुत गरिएको उनको भनाइ  । नयाँ वर्षलाई भव्य तरिकाले स्वागत गर्न र सुरक्षा व्यवस्था मजबुत बनाउन काठमाडौं महानगर प्रहरी र नेपाल प्रहरीसँग समन्वय गरिएको उनले बताए ।

सोही दिन ठमेल प्रवेशका लागि वैकल्पिक मार्ग बनाइने उनले जानकारी दिए ।


Author

थप समाचार
x