पर्यटन

चितवन पर्यटन तथा हात्ती महोत्सवको तयारी पूरा

इकागज |
पुस ९, २०८० सोमबार १६:४८ बजे

फाइल तस्बिर

काठमाडौँ- पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले १७ औँ संस्करणको ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ को तयारी पूरा भएको छ ।

विगत केही वर्षदेखि कोभिड-१९ का कारण रोकिएको महोत्सव पुस १० देखि १४ गतेसम्म हुँदैछ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा हुन लागेको १७ औँ संस्करणको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सवका संयोजक ओमप्रकाश पाण्डेले बताए । सोमबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै संयोजक पाण्डेले हात्ती महोत्सवका लागि आवश्यक व्यवस्थापनको काम सकिएको बताए ।


उनका अनुसार महोत्सवमा हात्ती सुन्दरी प्रतियोगिता, हात्तीका लागि वनभोज, स्वदेशी र विदेशी पर्यटन व्यवसायीसँग बिटुबी सहमति, सांस्कृतिक झाँकीलगायत कार्यक्रम रहेको छ । महोत्सवबाट अन्तर्राष्ट्रिय स्तरमै चितवनसहित मुलुककै पर्यटन प्रवर्द्धन हुनेछ ।

संयोजक पाण्डेले चितवन सौराहामा हात्तीबिनाको पर्यटन अधुरो हुने जिकिर गरे । उनले चितवनको पर्यटन क्षेत्रलाई महत्वपूर्ण गन्तव्य स्थलको रूपमा चिनारी गराउन समेत महोत्सवले टेवा पुग्ने बताए । उनका अनुसार महोत्सवमा कृषि पर्यटनसँगै जोडिएका वस्तु र थारू खानाहरूसहितको स्टलहरू राखिने छन् । उनले महोत्सवमा करिब १ करोड बराबरको खर्च हुने बताए ।

महोत्सवमा विगतमा जस्तो हात्ती पोलो, हात्ती दौडजस्ता प्रतियोगिता भने नहुने भएको छ । पर्यटक आकर्षण गर्न हात्तीसम्बन्धी गतिविधि र हात्तीको महत्वले नै चितवनमा धेरै पर्यटक आउने गरेका छन् ।


Author

थप समाचार
x