विचार

पाँच वर्षमा महाधिवेशन प्रतिनिधिहरू ‘शेर’ हुने एक दिन

पुष्पराज आचार्य |
मंसिर २६, २०७८ आइतबार १६:३९ बजे

# साथीहरू सबै उठ्ने–उठ्ने भन्नुहुन्छ । शशांक डा. सापले त रामचन्द्र दाईलाई नै अघि बढाउनुपर्छ भन्नुभएको थियो । प्रकाशमानजी र शेखरजी हामी त लड्ने नै हो भनेर अड्डी लिनुभयो । ल तपाईंहरू लड्नुस्, म चाहिं राजनीतिबाटै बाहिरिन्छु ।
                                                                       –रामचन्द्र पौडेल, वरिष्ठ नेता, नेपाली कांग्रेस (आफ्नो निवासमा पत्रकारहरूसँग कुरा गर्दै) २०७८ मंसीर २५

तपाईंहरूलाई मैले राजनीतिबाट सन्यास लिइदेओस् भन्ने थियो, माफ गर्नुहोला अहिलेलाई तपाईंहरूको त्यो चाहना पूरा गर्न सकिनँ । 
                                        – शेरबहादुर देउवा, सभापति, नेपाली कांग्रेस  (उम्मेदवारी मनोनयनका क्रममा राष्ट्रियसभा गृहमा पत्रकारहरूसँग) २०७८ मंसीर २५


नेपाली कांग्रेसका समकालीन यी दुई नेताको भनाईहरूले गम्भीर अर्थ राख्छन् । कोही किन सत्ता (पार्टी या सरकार)को मरिहत्ते गर्छ धेरै हदसम्म यसबाट बुझ्न सकिन्छ । निरन्तर सत्तामा रहेकाले देउवा प्रभावशाली रहे फलस्वरूप उनी नै सभापतिमा दोहोरिएर १४औं महाधिवेशनमा आउन सम्भव भयो । रामचन्द्र पौडेलका लागि ठीक विपरित त्यो सम्भव भएन । 

नेपाली कांग्रेसमा नाति पुस्ता महाधिवेशन प्रतिनिधि भएर आइसक्दा पनि हजुरबुबा पुस्ताको नेतृत्वको रहर टरेको छैन । फेरि पाका नेता नेतृत्वमा पुग्नै हुँदैन भन्ने होइन । सबैलाई समायोजन गर्दै सृष्टिको नियमित गतिलाई पनि त मिलाएर अघि बढ्नुपर्‍यो । 

नेपाली कांग्रेसमा नेतृत्वमा नयाँ पुस्तालाई विकास गर्ने हिसाबले थुनिएको बाँध झैं भयो । जति पानी (नयाँ पुस्ता) जम्मा हुँदै गए, शक्ति सञ्चय हुँदै गयो । अनि १४औं महाधिवेशन अघि त्यो बाँध फुट्यो । त्यसले एकछिनका लागि नेपाली कांग्रेसभित्रका स्थायी गुटहरू तितरबितर त भए । तर तिनीहरू पुनः पुरानै शैलीका दुई गुटमा एकाकार भए देउवा गुट र कोइराला गुट । अब पनि नेपाली कांग्रेसभित्रको राजनीति यही दुई ध्रुवको ध्रुवीकरणमा रहीरहनेछ । 

पत्रकार कनकमणी दीक्षितले शेखर कोइरालाको छड्के भादगाउँले टोपीलाई उनका काका गिरिजाप्रसाद कोइरालाको जस्तो भनेर टीप्पणी गर्दै ट्वीट गरे । नेपाली कांग्रेसमा कुनै समय गिरिजाप्रसादको अधिनायकत्व भयो भने विद्रोह गरेका नेता हुन्– शेरबहादुर देउवा । पार्टी पनि फोरेर नेपाली कांग्रेस प्रजातान्त्रिक बनाएर त्यसको सभापति पनि भए ।

अहिले शेखर देउवाको अधिनायकत्व भयो भनेर मैदानमा आएका छन् । कांग्रेसभित्रको राजनीतिमा पात्रहरू फेरिएका छन् । घटनाक्रम घुमिफिरी उही छ । अन्ततः पुनः नेपाली कांग्रेस पुनः उही पुरानै ध्रुवीकरण भएको छ– देउवा समूह र कोइराला समूहमा । हुन त अहिले स–साना अन्य गुटहरू पनि देखिएका छन् तर बलियो गुटका अगाडि उनीहरूको अस्तित्व लामो समय रहँदैन र कुनै न कुनै रूपमा विलय हुन्छन् भनेर कृष्णप्रसाद सिटौलाकै उदाहरण काफी हुन्छ । 

आज सभापतिका उम्मेदवार विमलेन्द्र निधिले यस्तै संकेत गरे । उनले संस्थापनविरुद्ध हामी साझा मोर्चाबन्दीमा छौं भनिदिए । सत्तासँग शक्ति पनि हुन्छ, तर सत्ताले सधैं सबैलाई महत्व दिइरहन सक्दैन अनि यसको विरुद्धमा ठूलो समूह तयार भैसकेको हुन्छ तर सत्ताबाट हेर्दा तिनीहरू फुच्चे लाग्छन् । तर, जब एकसाथ मैदानमा आउँदा एकले अर्काको शक्ति अनुभूत गर्छन् । त्यसकारण पार्टीमा स–साना गुटहरू कुनै सशक्त समूहमा विलय हुन्छन्– हुन्छन् । 

‘इतर तितरबितर’, ‘देउवा समूहमा पहिरो’ यी केबल दुई–चार दिनका लागि अखबारी शीर्षकमात्र हुन् । आफ्नो आकांक्षामा तुषारापात हुँदा केही समय झट्ट मानवीय आवेग पनि देखिएला तर त्यो त सेलाइहाल्छ, जसरी बालकृष्ण खाण लुरुलुरु सभापति शेरबहादुर देउवाको पछि लागेर केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराए । 
जो कांग्रेसमा चिरस्थायी गुट बनाएर नेतृत्वलाई सघाइरहन्थे । तिनीहरूको आकांक्षामा कुठाराघात भयो । कतिपयको राजनीतिक भविष्य नै चकनाचुर भएको छ । राजनीति बडो निर्मम हुन्छ । माया–दया र भावनाले कहाँ राजनीति गरिन्छ र !

नेपाली कांग्रेसमा निष्ठाकाे राजनीति गर्ने नेताहरूको हालत गणेशमान सिंह, भीमबहादुर तामाङ, प्रदीप गिरी, बलदेव शर्मा मजगैंया, रामहरि जोशी या ढुण्डीराज शास्त्री जस्तो भैरहनुपर्ने हो त ! यदि त्यस्तो भयो भने नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिलाई कसरी विवेकी र सुविचारित रहेछन् भन्ने ? 

फेरि जब बाँध फुट्छ– आफ्नो सीप–कौशलले पौडेर किनारा लाग्ने राजनीतिक सोच, समझ र दृष्टिकोण आवश्यक पर्छ । यसपालि देउवा आफ्नो क्याम्पमा मात्र सीमित भएनन् । उनले आफ्नो राजनीतिक स्वार्थ हेरे, आफू विजयी हुने योजना बनाए अनि आफ्नो अघिपछि लागेकाहरूको त अझै पनि समय छ नि भन्ने सोचे र कृष्ण सिटौलासँग सहकार्य गर्ने निर्णय गरे । 

यद्यपि यो साँठगाँठ सिटौलाका लागि जति फाइदाजनक छ, त्यति देउवाका लागि छैन । उनी पक्षका नेताहरू केही हदसम्म बिच्किएका छन् । पहिले वडा अधिवेशनमै डडेलधुराका जिल्ला सभापति कर्ण मल्ल भड्कीए, उनी विमलेन्द्र निधितिर लागे । अहिले देउवा पक्षधर नेताहरूले निधि किन बाहिरिए भन्ने मनन गरिरहेका छन् । आज महाधिवेशन स्थलमा सुदूरपश्चिमका नेता कार्यकर्ताको दलबलसहित भेटिएका पूर्वमन्त्री समेत रहिसकेका एनपी साउदको पीडा त्यस्तै छन् । सुदूरपश्चिमको नेतालाई नै अघि बढ्नबाट रोकेको भनेर उनका कार्यकर्ता देउवासँग उत्तिकै रुष्ट छन् । 

बाँध फुटेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले अब मैले नेता कार्यकर्ताको संरक्षण गर्न सकिनँ आ–आफैं गर्नुस् भन्दिए । देउवाले पनि संरक्षण गर्छु भनेनन् । त्यसकारण पार्टीमा यस्ता चिरस्थायी प्रकृतिका गुटहरू निर्माण हुनु घातक हुन्छ । विचारका आधारमा कुनै विषयमा निर्णय गर्नुपर्दा वा कुनै मुद्दामा पार्टीको दृष्टिकोण बनाउनुपर्दा अस्थायी प्रकृतिले मत विभाजन हुनु, समूह बन्नु स्वभाविक हो । तर कुनै पनि जीवन्त दलमा चिरस्थायी गुट बन्ने, एक गुटले अर्कोलाई सक्ने अनि राम्रा कुरामा पनि समर्थन जनाउन नसक्ने स्थिति नेपाली कांग्रेसले भोग्दै आयो । 

१४औं महाधिवेशनले  कोइराला र देउवा समूहको शक्ति सन्तुलन मात्र तलमाथि गर्ने फेरि उही गुटगत राजनीतिको अभ्यास हुने हो भने नेपाली कांग्रेसको सान्दर्भिकता समाप्त हुन्छ भन्ने अहिलेका सुविचारित महाधिवेशन प्रतिनिधिले बुझेकै होलान् । वास्तवमा नेपाली कांग्रेसलाई सुधार्ने दायित्व उनीहरूकै हो । नेपाली कांग्रेसको सभापति जुनसुकै बेला पनि प्रधानमन्त्रीको सम्भावान बोकेको व्यक्ति हो – देश हाँक्न सक्ने, सबैलाई न्याय गर्न सक्ने, अनुभवी र परिपक्व नेतृत्व नेपाली कांग्रेसलाई चाहिन्छ भने संगठनलाई जीवनन्त बनाउन जुझारु पदाधिकारी । 

अहिले सबैले एउटा–एउटा गुटको फेर समातेर महाधिवेशनमा आएका छन् । गुटगत राजनीतिको विरोध गर्दै महेश आचार्यको मात्र उपसभापतिमा उम्मेद्वारी परेको छ । उनले नेपाली कांग्रेसको उपसभापतिले नेतृत्व गर्ने नीति तथा प्रशिक्षण प्रतिष्ठानमार्फत् नेपाली कांग्रेसमा विचार र सिद्धान्तका आधारमा चल्ने पार्टी हो भन्ने स्थापित गर्छु भनेका छन् । 

आजकलका कार्यकर्ता बौद्धिक र सिद्धान्तनिष्ठ नेताको कुरा कम सुन्छन् । उनीहरूलाई सुशासन, राम्रा नीतिगत व्यवस्थाको कार्यान्वयन, भ्रष्टाचारको अन्त्यले सबैले अवसर पाउँछन्; समन्यायिक विकास हुन्छ भन्ने नै थाहा छैन । तात्कालिक लाभ र स्वार्थको पछाडि लागेर नेपालमा आर्थिक सुधारको जग बसाल्ने, राज्यको मनोमानीमा सीमित व्यक्तिमा निहीत उद्यम, व्यवसाय गर्ने इजाजत सबैका लागि खुला गरिदिए । लगानी र नवप्रवर्तनलाई अघि बढाए । अहिले पनि उनी नेपाको विकासका चुनौतीहरू, कूटनीतिक सम्बन्ध, आर्थिक–प्रशासनिक सुधारमार्फत् सम्पूर्ण जनतामा लाभ सिर्जना गर्ने विषयमा विचार–विमर्श गरिरहेका छन् । अनि नेपाली कांग्रेसमा यस्ता नेताहरूको हालत गणेशमान सिंह, भीमबहादुर तामाङ, प्रदीप गिरी, बलदेव शर्मा मजगैंया, रामहरि जोशी या ढुण्डीराज शास्त्री जस्तो भैरहनुपर्ने हो त ! यदि त्यस्तो भयो भने नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिलाई कसरी विवेकी र सुविचारित रहेछन् भन्ने ? 

महाधिवेशन सकिएदेखि अर्को महाधिवेशन नआउँदासम्म नेतृत्वलाई सत्तोश्राप गरिरहने, अनि जतिबेला कांग्रेस सुधार्ने अभिभारा आफ्नो हातमा हुन्छ त्यतिबेला विवेक प्रयोग गर्न नसक्ने हो भने कांग्रेसको रूख जरादेखि नै खोक्रो भैसकेको ठहर्नेछ । 
 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x