विचार

नेपालको कृषि सुधार्न सकिन्छ

लक्ष्मण गुरुङ |
फागुन ६, २०८० आइतबार १६:२४ बजे

यही माघको पहिलो हप्ता म पूर्वको यात्राको लागि राजधानी प्रवेश गर्ने मूल नाका कलंकीमा बिहान ५:३० बजे तिर साथी कुर्दै बसेको थिएँ। कुर्दा केही समय साथीलाई कुर्नुपर्ने भयो। सिक्ने र बुझ्नका लागि सडक, साझा यातायात, आम मान्छे र  साना व्यापार हुने ठाउँ खुला विश्व विद्यालय नै हो । जहाँ धेरै कुरा सिक्न पाइन्छ। यसरी कुर्दा मैले चिया खाने सोच बनाएर चिया स्टल नजिकै उभिन पुगेँ। त्यहाँ दुई चार जना अरू पनि उभिएका थिए।

ती मध्ये सर्लाहीका रवि पनि चियाको कप समातेर चिया पिउँदै रहेछन् । अनि मैले सोधें, अब तपाईंको पनि व्यापार शुरू भो नि। तर उसले गर्व गर्दै भन्यो म किन यहाँ व्यापार गर्ने ? गाउँमा नै मजाले कमाएको छु। अनि थप जिज्ञासु बन्दै मैले सोधे की के गाउँमा तपाईंको बिजनेस छ ? उसले टाउको हल्लाउँदै छैन, 'हामी किसानलाई व्यापार गर्न आउँदैन। व्यापारमा भन्दा त किसानी मै ठीक छ। परिवार साथमा बसेर उखु, कोभी, आलुको खेती फसल निकाल्छु। यसले व्यापार चलेको छ।' फेरि मैले सोधे किन विदेश जान मन लाग्दैन। किन जाने यहाँ कसैको आदेश मान्नु पर्दैन। घरको पिर बोक्न पर्दैन। अनि त्यहाँ पनि हामीले पढाइ नभए पछि कति कमाउँछाैं? पढाइ हुनेले त कम कमाउँछन्। सालको उखु और कोभी, आलु गरेर पाँच/ सात लाख बनिहाल्छ। भन्दै ढुक्क व्यक्त गरे।


हो यो  भनाइ र बुझाइले नेपालको कृषि प्रतिको धारणा, अवस्था, र सम्भावना बुझ्न र देख्न पक्कै केही सहयोग गर्दछ । यसबारे केही कुरा यसरी शुरू गरौं होला!

विश्व सन्दर्भमा कृषिको विकास अनुभव

सन् १९५० को विश्व युद्ध पश्चात बनेका  अर्थशास्त्रको सिद्धान्तले आर्थिक वृद्धिको आधार कृषिको आधुनिकीकरणलाई देख्यो। अर्थशास्त्रीहरूले विकास गरेको  आर्थिक वृद्धि मार्फत गर्न सकिने विकास र वृद्धिको आधार पूँजीको लगानी  र प्रविधिको प्रयोगलाई मान्यो।  विकासशील देशले वृद्धि र विकास गर्न नसक्नुको आधार कृषिको विकास गर्न  नसक्नु, लगानी क्षमता नहुनु हो भन्ने मानेर कृषि नै गरिब र विकासशील देशका लागि प्रगति गर्ने, आर्थिक क्षमता निर्माण गर्ने, रोजगार सृजना  गर्ने, खाद्य संकट टार्ने आधार हो भन्ने विकास अवधारणा निर्माण गरियो र त्यसैमा केन्द्रित हुनुपर्छ भन्ने अवधारणा सन् १९६० को वरिपरि विकास गरियो। यसको प्रयोग एसियामा गर्यो। जसले उत्पादन र उत्पादकत्व वृद्धि गर्न सहयोग पनि गर्यो।

त्यही एसियन हरित कृषि उपलब्धिलाई आधार मानेर यसको प्रयोग अरु गरिब देशमा पनि कार्यान्वयनमा लगियो। जसलाई तेस्रो कृषि क्रान्तिको रुपमा पनि लिन थालियो। यसको सफल कारणमा प्रविधि स्थानान्तरण लाई मानियो। जहाँ उन्नत बिउ, रासायनिक मलखाद, सिँचाईलाई आधारभूत सर्त मानियो। सँगै यान्त्रिकीकरण र बाली सुरक्षाका लागि रासायनिक विषादीको प्रयोगमा जोड दिइयो। यसमा कृषि वैज्ञानिक नर्मन बोरलगको योगदानलाई सम्झन सकिन्छ।

नेपालको कृषि विकासको प्रक्रिया

नेपालले पनि सन् १९५० देखि नै कृषिको विकास प्रयास शुरू गरेको हो। सन् १९८० पछि कृषिमा आएको सफल प्रयोगलाई अनुसरण गर्दै कृषिको विकास गर्न भनेर नव उदारवादी कृषि अभ्यास र सिद्धान्त अनुसार संरचनात्मक सुधारलाई नीतिगत रुपमा राखी कृषि विकासको रणनीतिलाई प्राथमिकता दिइयो।  साथै सन् १०८० र १९९० को दशकबीच कृषिमा निजी क्षेत्रको समान सहभागिताको अवधारणा अनुसार कृषि विकासका नीति र कार्यक्रम बन्न थाले।  जहाँ वृद्धिका लागि चाहिने प्रविधि पुरानो र लाभदायक नभएको निष्कर्ष निकालिएको थियो। त्यस मार्फत कृषि रुपान्तरणका लागि उन्नत बिउ, रासायनिक मल, सिँचाई, कृषि शिक्षा र प्रविधिको प्रयोगलाई जोड दिइएको थियो। आजसम्म पनि नेपालले अवलम्बन गरिरहेको कृषि सुधार र विकास रणनीतिको रुप यसै वरिपरि नै छ। सन् २०१५ मा यसलाई दीर्घकालीन कृषि रणनीतिको रुपमा लिँदै नेपालको कृषि विकास अगाडि बढिरहेको छ।

हुन त कृषिको सफल विकास, वृद्धि र बजार पहुँच बढाउन राज्यको कम हस्तक्षेप खोजेको हुन्छ आधुनिक कृषि रूपान्तरण र विकास अवधारणामा । तर पनि नेपालको सन्दर्भमा राज्यले सहयोग मार्फत कृषि विकासमा भूमिका लिइरहेको छ । यो एउटा नीतिगत र रणनीतिको पाटोबाट हेर्दा बलियो र प्रशंसनीय नै हो। तर यो आठ दशक लामो कृषि विकास प्रयास, लगानी लाई उत्पादन उत्पादकत्व, दिगोपन, कृषि खाद्यान्न आपूर्ति र व्यापार चक्र, कृषिको प्रतिफलसँग तुलनात्मक रुपमा हेर्दा आलोचना विहीन छ भन्न सकिँदैन। किन भने यसको बलियो उदाहरण भनेको खाद्यान्न आयात, निर्यातको अवस्था, रोजगारी अवस्था, युवाको बसाई सराई र विदेश पलायन दर नै हो।

सकारात्मक पक्ष

प्रष्ट भन्नु पर्दा सन् १९८० को दशक पश्चात नेपालले अवलम्बन गरेको कृषि रूपान्तरण नीति र कृषिमा निजी क्षेत्रको समान सहभागिताको नीतिले घिटघिटिएको कृषिमा खाद्यान्न सुरक्षा, पोषण सन्तुलन, आम्दानी वृद्धिमा सहयोग गर्न सघाएको पक्कै हो। घरपरिवारको आम्दानी बढाउन, स्वास्थ्य अवस्था सुधार्न र बच्चाबच्चाको शिक्षामा सहयोग गर्नाले गाउँको शिक्षा दर पनि बढेकै हो । यही कृषिको आम्दानीको कारण ८० को दशक पछाडिका पुस्ता र पुस्ताका सन्तान नै शहरी शिक्षा र देश बाहिरको शिक्षामा अगाडि पुगेका हुन भन्दा आलोचना गर्न पर्ने स्थान नहोला।

अर्कोतिर चर्को ब्याजको जालोमा पर्नपर्ने अवस्थाको अन्त्य पनि गरेको थियो। चाड पर्व मान्ने र मिठो, मसिनो खाने परिस्थिति बन्न जाँदा पोषण आपूर्ति पनि बढेकै हो। गाउँको आर्थिक हैसियत उकासिएको हो । केही दशक पहिलासम्म घर छोडेर परदेशिएको आफन्तसंग जोडिन, नातासंग कुरा साट्न कि त दशैं तिहार कुर्नु पर्ने, कि त तीन महिना लगाएर चिठी कुर्नु पर्ने वा पालो लेखाएर फोनमा कुरा गर्नु पर्ने अवस्था थियो।

तर आज नेपालमा आएको सूचना प्रविधिको द्रुत विकास, यातायातको पहुँचले गर्दा यो घण्टा र सेकेण्डमा छोटिएको छ। खेती गर्ने खेताला खोज्न राति दियालो बालेर गाउँ चहार्नु पर्ने अवस्थामा परिवर्तन आई फोनमा त्यो पनि भिडियो कल गरेर खेताला भन्ने दिन आइसकेको छ। यसको पछाडि गाउँको अर्थतन्त्रमा देखिएको सुधार नै हो। उक्त सुधारको पछाडि कुनै न कुनै हिसाबले आधुनिक कृषि खेती अभ्यास, सडक सञ्जाल र बजार पहुँचको भूमिका रहेको छ।

भएको के हो ? कहाँ समस्या

समाज र सोच अनि चाहना कहिले स्थिर रहँदैन।  यहाँ किन यसो भनिएको हो भने बारीमा फलेको सुन्तला आजभन्दा तीन दशक अगाडि बजार नपाएर धार्मिक पर्व वा अन्य कुनै अवसरमा बाँडिने दानको वस्तु बन्थ्यो भने आज पाउनु पर्ने उचित मूल्यलाई पर राखी हेर्दा पनि सुन्तलाले बजार पाएकै छ। सिन्की र गुन्द्रुकले हिउँदको तरकारीको आवश्यकता धान्न पर्ने गाउँ घरमा हिजो आज आफ्नै बारीमा फलेको वा नजिकैको पसलमा बेच्न राखेको काउली, बन्दा, हरियो खुर्सानी आदिले थेग्दिएको छ। 

यसो हुनुमा कृषिमा निजी क्षेत्रको र साना किसान परिवारको सक्रिय सहभागिताको परिणाम हो। तुलनात्मक रूपमा कृषिले केही फड्को मारेको छ। तर सोच अनुरूप र परिवर्तित समय अनुसार कृषिमा उचित प्रविधिको प्रयोग गर्न नसक्नु, राज्यको कृषि विकास रणनीति कार्यान्वयन हुन नसक्नु कृषिको विकास नभएको देखिने कारण बनेको छ । अर्कोतर्फ कृषि र गैर कृषि क्षेत्र बीचको ज्याला तथा मूल्य भुक्तानी अन्तर सन्तुलन गर्न नसक्दा कृषि क्षेत्र आकर्षक बन्न नसकेको कुरा यथार्थ हो। अर्को लागत अनुरूपको प्रतिफल प्राप्त नहुँदा र प्रतिफल अनुसार लागत उच्च हुनु अर्को कारण हो।

अर्को कृषि क्षेत्रमा खाद्यान्न उत्पादन घट्नुमा धान तथा गहुँ उत्पादनका लागि प्रयोग भएको खेत तथा बारी तरकारी र मसलाजन्य नगदे बाली उत्पादन गर्नको लागि प्रयोग हुनु, पहाडी कृषिमा खेती गर्ने परिवार क्रमशः शहरी क्षेत्र वा त्यसको आसपास खेती किसानी छोडेर गैर कृषि क्षेत्रमा बसाई सर्नु, जलवायु परिवर्तनका कारण कृषि क्षेत्रको उत्पादनमा कुनै न कुनै रूपमा ह्रास आउनु, कृषि भइरहेको वा कृषि योग्य जमिन कृषि भन्दा बाहेक अन्य प्रयोजनमा प्रयोग हुनु, ठूला परियोजना तथा निर्माण कार्यको लागि कृषि जमिनको प्रयोग हुनु , कृषि उत्पादन घट्नुको अर्को कारण हो।

 सन् १९७० को दशक यता नेपालको शिक्षा प्रणालीमा अवलम्बन गरिएको पाठ्यक्रम अनुसार प्रदान गरिएको शिक्षाको कमजोरी, सन् १९९० यता नेपाल राष्ट्रले श्रम निर्यात गर्ने नीतिको कारण र उक्त गैर कृषि क्षेत्रमा प्राप्त हुने ज्यालाले कृषि खेती नगर्दा पनि बजारमा आधारित भई परिवारको लागि आवश्यक पर्ने खाद्यान्न आपूर्तिको जोहो गर्न सक्ने आधार बन्नु, सन् २००४ पछि नेपालको अन्तराष्ट्रिय व्यापारसँग जोडिएको सम्बन्ध र व्यापार सम्झौतामा भएका गरिब तथा अल्प विकसित राष्ट्रको कृषि उत्पादन र बजारको लागि आवश्यक पर्ने कुरामा हस्तक्षेप हुनु , नेपालको कृषि भौगोलिक बनावटको आधारमा उत्पादन भइरहेको र राज्यले लिएको कृषि नीति र रणनीति भूगोल, उपलब्ध साधन र सीप अनुसार उपयुक्त हुन नसक्नु, शिक्षा र सामाजिक अनि त्यस परिस्थितिमा हुर्किएको संस्कृतिले निर्माण गरिदिएको कृषि प्रतिको धारणा बदलिनु, कृषिलाई मर्यादित व्यवसायको रूपमा विकास गर्ने प्रयास नहुनु, कृषि वस्तु आवश्यकता र अधिकार बन्नु भन्दा पनि नाफाको वस्तु बन्नु , व्यवसायीक कृषि मार्फत उत्पादित कृषि वस्तुको लागि आवश्यक उपभोक्ता निर्माण भई नसक्नु , उक्त कृषि उपज खपत हुन ठूलो जनसंख्या गैर कृषि क्षेत्र जस्तै उत्पादनमुलक, सेवा तथा प्रशोधन क्षेत्रमा स्थानान्तरण हुनु नसक्नु र उक्त जनसंख्याको खरिद क्षमता र उपभोग शैली नबढ्नु, शहरी क्षेत्रको ज्याला खासै नबढनु पनि कृषि उत्पादन क्षेत्र घट्नु अर्को कारण हो। त्यस्तै गरेर राज्यको तर्फबाट भएका प्रयास प्रभावकारी नहुनु अर्को प्रमुख समस्या हो।

के कृषिमा सम्भावना टुंगिएको हो ?

हो, खासमा कृषि लागत, आबद्धता र उत्पादन अनि सहजताको पाटो बाट हेर्दा कृषि संकटमा परेको छ। यो संकट बढ्दो क्रममा छ । यसमा दुईमत कसैको छैन । कृषि पुस्तैनी पेशा बन्न त सकेन नै भने नयाँ लगानी लगाउने ठाउँ पनि बन्न सकेको छैन। अर्को क्रमशः जलवायु परिवर्तनका कारण जन्मिएको वातावरणीय र जैविक तथा तापक्रममा आइरहेको वृद्धि आदिको कारण पनि कृषि उत्पादनको क्षमता घटेको छ । भने राज्यले निजी क्षेत्रको तर्फबाट हुने कृषिको मनोमान्यलाई नियमन गर्न वा सन्तुलन गर्न नसक्दा कृषिको लागतमा वृद्धि भएको छ, कृषि वस्तुको बजार मूल्य कमजोर बनेको छ।

अर्को विश्व व्यापारको प्रावधान भारी बनिरहेको नेपालको कृषिमा स्वतन्त्र व्यापार सम्झौता र सहुलियतको सुविधाले दिएको अवसर लाई प्रयोग गर्न वा सुधार गर्न आवश्यक पहल नगर्दा फाइदा उठाउन सकिरहेको छैन । नेपालको कृषि विकासको लागि तेस्रो देशको बजार खोज्ने सम्भावना कमजोर बनेको छ।

प्रत्येक वर्ष अत्यावश्यक कृषि उत्पादकत्व बढाउन आवश्यक पर्ने रासायनिक मलखादको मूल्य राज्यको नियन्त्रण भन्दा बाहिर गइरहँदा साना किसानले कृषि प्रविधि माथिको पहुँच पनि गुमाउँदै गएको छ। कृषि क्षेत्रबाट स्थानान्तरण भई गैर कृषि क्षेत्रमा गएकाको बाट आएको विप्रेषणलाई सदुपयोग गर्न नसक्दा आवश्यक लगानी पनि जुटाउन सकिएको छैन। तर यो संकट नै अन्तिम हो जसरी कृषि विकासको सम्बन्धमा भाष्य निर्माण हुनु चाहीँ अर्को झन् संकट हो। 

अहिले देखिएको समस्या सुधार गर्नै नसकिने भने होइन।कृषिलाई नाफामुलक बनाउन, आकर्षक क्षेत्रको रुपमा विकास गर्न कृषि सजिलो र लागत हिसाबले सुलभ बनाउन ध्यान दिन पर्छ। जसका लागि उन्नत बिउको प्रयोग, क्षेत्रफलको तुलनामा बढी प्रतिफल दिनसक्ने बालीको आविष्कार, जलवायु परिवर्तनको असर सामना गर्न सक्ने बालीको छनौटमा ध्यान दिन पर्छ। बहु वर्षीय बालीमा ध्यान दिन आवश्यक छ।

अर्को कृषि रणनीति र कार्यक्रम बनाउँदा भूगोल र हावापानी, उपलब्ध स्रोत, श्रम र प्रविधि अनि प्राविधिक जनशक्तिको आधारलाई आधार मानेर निर्माण गरिनु पर्छ। भने सिफारिस गरिएको र बनेका कार्यक्रम मार्फत गरिने कृषि बालीको लागत र बजारको सम्भावना पनि विष्लेषण गरिनु पर्छ। बाली र उत्पादित कृषि वस्तुको जोखिम विष्लेषण गरी उपलब्ध पूर्वाधारको आधार सोही अनुसार बाली सिफारिस गरिनु पर्छ। मलखाद माथि बढ्दै गएको परनिर्भरता, अनिश्चितता घटाउन स्थानीय पुरानो मलखाद निर्माण गर्न प्रयोग गर्दा गरिने विधि र प्रयोग गर्ने स्रोत र साधनलाई निर्माण गरिने मलखाद बनाउने सजिलो र उन्नत सीपको विकास गरिनु पर्छ। जसका लागि आवश्यक प्रविधि र यन्त्रको प्रयोगमा जोड दिनु पर्छ।

 यसो भनेर कृषिको कमजोरी छोप्ने वा बुझाउने प्रयास होइन। किनभने नेपाल लगायतका देशले अंगीकार गरेको आधुनिक कृषि मार्फत परम्परागत कृषि सुधार गरी रूपान्तरण गर्ने र कृषिलाई आर्थिक समृद्धि , विकास र सम्भावनाको आधार बनाउने सिद्धान्त उचित होइन कि वा थिएन कि भन्ने गरी विष्लेषण गर्ने ठाउँसम्म आइपुगेको छ। अथवा यो भूगोल र हावापानी विशेष थियो की भन्ने पनि देखिन थालेको छ। अर्को तर्फ यो प्रणाली वा विधि अपनाउने नेपाल जस्तो गरिब देशको हैसियत थिएन कि भन्ने पनि परेको छ।

त्यसैले क्लस्टर बनाएर खास कृषि बाली र सम्भावना निकाल्ने गरी आगामी दश वर्षका लागि कृषि अनुसन्धान, विकासमा बजेट लगानी गरौं। त्यसका लागि आवश्यक पर्ने मानव स्रोत व्यवस्था गर्न प्राविधिक र विज्ञ तथा वैज्ञानिक आर्थिक सुरक्षा अनुभव हुने गरी पारिश्रमिकको व्यवस्था गरी पलायन हुनबाट रोकौँ। महंगो बाली र खेती भन्दा पनि सबैले सहजै स्वीकार गर्न सक्ने, उपभोग गर्न सक्ने, खाने संस्कृतिको विकास गर्ने कार्यक्रम र अनुभव अनि चेतना विकास गराऔँ।

स्थानीय बिउ विजन र मलखादको सदुपयोग गरी सहरी संस्कृतिलाई ग्रामीण संस्कृतमा अभ्यस्त बन्न सक्ने आधार निर्माण गरौं। ग्रामीण कृषि पर्यटन प्रवर्द्धन लागौँ। पर्यटन सस्तो, सुरक्षित बनाउने आधार निर्माण गरौं। यसमा निजी क्षेत्रको सहभागितालाई जोड दिऔँ। वित्तीय सुविधा लाई जोडौँ र यसको सहभागितालाई अनिवार्य गराऔँ। वित्तीय क्षेत्रको लगानी फिर्ता हुने सुनिश्चित गर्ने व्यवस्था गरौं । महिला मैत्री कृषि बनाऔँ । प्रतिस्पर्धी बजारलाई नियमन गरौं । प्रतिस्पर्धा होइन कि सहकार्य गर्ने वातावरण बनाऔँ। गाउँ घुम्न जाने पर्यटक रमाइलो गर्न पनि जाने हुन्छ। त्यसैले घरेलु मदिरा र अन्य स्वाभाविक संस्कृति को उत्पादन र जगेर्नालाई कानुनत सहज बनाई दिऔँ। प्रविधि भित्र्याउँदा मर्मत,सम्भार र सञ्चालन गर्न आवश्यक पर्ने पूर्व तयारी गरौं।

यति गर्न मात्र सके पनि केही तह सम्म कृषि ले बिस्तारै फेरि कमाई र आम्दानीको आधार बन्न सक्छ भने संकटमा परेको कृषिले प्रवर्द्धन र विकास हुने अवसर पाउँछ।


Author

थप समाचार
x