विचार

बालुवाटारमा मौनधारण गरिरहेकी गंगा

जीवन कुँवर |
मंसिर २८, २०८० बिहीबार १७:९ बजे

गंगा दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को स्वकीय सचिवमा नियुक्त भएको एक वर्ष पुग्न एक महिना मात्रै बाँकी छ । २०७९ पुस २८ गते स्वकीय सचिवमा नियुक्त भएकी गंगाले सचिवसरह सुविधा लिन्छिन् ।

प्रधानमन्त्री प्रचण्डका तीन छोरी र एक छोरा हुन् । जेठी छोरी केही वर्ष पहिले बितिन् । एक मात्र छोरा प्रकाश पनि केही वर्ष पहिले बिते । माइली छोरी रेणु दाहाल भरतपुर महानगरपालिका मेयर छिन् । प्रचण्डको एक मात्र छोराको निधनपछि कान्छी छोरी गंगाले प्रकाशको भूमिका निभाउँदै आएकी छिन् । मृत्यु हुनुअघि प्रचण्डको सचिवालयको नेतृत्व प्रकाशले सम्हाल्दै आएका थिए । प्रकाशको मृत्युपछि गंगाले प्रचण्डको सचिवालयको नेतृत्व गरिरहेकी छिन् ।


हुन त प्रचण्डको सचिवालयमा जो जुन पदमा नियुक्त छन् जागिरका लागि मात्रै छन्‌ भन्दा फरक नपर्ला । त्यहाँ चल्ने गंगाकै हो, किनकि उनी प्रचण्डको स्वकीय सचिव मात्रै होइन छोरी पनि हुन् । प्रचण्डको सचिवालयमा मात्रै नभएर अधिकांश नेताहरूको सचिवालयमा हुने नै यही हो, किनकि परिवारका सदस्य अरूभन्दा माथि नै हुन्छन्, स्वाभाविक पनि हो ।

पछिल्लो समय सांसद अमरेशकुमार सिंहले गंगामाथि गम्भीर आरोप लगाएका छन् । गंगाले व्यापारीहरूसँग पैसा लिने गरेको प्रमाण आफूसँग भएको भन्दै सिंहले फेसबुकमा ​पोस्ट मात्रै गरेका छैनन्, केही मिडियाहरूमा प्रधानमन्त्री प्रचण्ड बोलिरहेको अडियोको अंश पनि सार्वजनिक गरेका छन् । हुन त यो एआईको जमाना हो । उक्त अडियो साँचाे हो या एआईको प्रयोग हो, न कसैले छानबिन गरेको छ, न कसैले पुष्टि नै गरेका छन् । गंगाले व्यापारीहरूको पैसा पनि खाएको र काम पनि नगरेको सिंहले सार्वजनिक रूपमा भन्दै आएका छन् । त्यतिमात्रै होइन गंगाकै आदेशमा चलेका कर्मचारीहरूको पनि निगरानी गरिरहेको सिंहले बताउँदै आएका छन् । पीडित व्यापारीहरूले आफूलाई अडियो दिएको बताउने सिंहले आफूले मोबाइल ट्र्याक गरेर हेरिरहेको पनि प्रष्टै भनेका छन् । 

मंसिर २४ गते सिंहले फेसबुकबाट सार्वजनिक गरेका थिए, 'प्रधानमन्त्री छोरी तथा स्वकीय सचिव गंगा दाहालले कुन-कुन व्यापारीसँग कुन-कुन मामिलामा कति रकम बुझेकी छिन् त्यो सबै प्रमाण मसँग सुरक्षित छ । समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु ।' अवैध सुन तस्करीको चर्चा भइरहेको बेला सिंहले गंगामाथि पैसा लिएको 'अ'प्रमाण फेसबुकमा लेखेपछि देश त्यतैतिर दौडियो । त्यसो त सार्वजनिक मिडियामै दूरसञ्चार प्राधिकरणलाई गंगाले धम्क्याएको सिंहले अर्को आरोप पनि लगाएका छन् ।

हुन त प्रधानमन्त्री प्रचण्ड विदेश भ्रमण जाँदा सुट पाइन्ट लगाएर गए भन्दै दौडिएका नेपाली जनता गंगामाथि उक्त आरोपमा नदौडिने कुरै भएन । त्यसपछि गंगा पुत्री स्मितामाथि पनि उक्त भीड दौडियो, दौडिनुको कारण थियो प्रचण्डकी नातिनीले महंगो ह्याण्डब्याग बोकिन् । स्मिताले बोकेको ह्याण्डब्याग थियो लन्डनमा केन्द्रीय कार्यालय भएको चलेन कम्पनीको ‘ब्लु क्याभिअर लेदर, जुन चर्चित ब्रान्ड पनि हो । उक्त ह्याण्डब्यागको मूल्य तीन हजार डलरदेखि ११ हजार ५०० डलरसम्म पर्छ । त्यसबाहेक स्मिताले बोकेको प्राडा, कोच, गुची, ज्याक्कमसलगायत ब्यागहरू पनि भाइरल हुन थाले ।

स्मिताको ब्यागमाथि प्रश्न गर्नु एक हिसाबले ठीक पनि हो । किनकि सर्वहारा वर्गको नेतृत्व गर्ने भन्दै १० वर्ष जनयुद्धमा होमिएर देशको तीन पटक प्रधानमन्त्री भइसकेका माओवादी पार्टीका अध्यक्ष पनि उनैका हजुरबुबा हुन् प्रचण्ड । व्यवस्था बदलेर जनताको अवस्था बदल्ने नारा घन्काउने प्रचण्डको पार्टी माओवादी जनताबाटै उदायो तर जनताको अवस्था ज्यूँकात्यूँ छ । यो मानेमा विरोध हुनु स्वाभाविक हो ।

तर, अर्को कोणबाट हेर्ने हो प्रचण्डकै नातिनी भएका कारण स्मितामाथि खनिनु गलत पनि हो । किनकि स्मिता गंगाको छोरी र प्रचण्डको नातिनी मात्रै होइन उनी करिब पाँच सय गीत रेकर्डिङ गरिसकेकी गायिका पनि हुन् । उनी गीत गाउन देशका मेला-महोत्सवमा मात्रै होइन विदेशतिर पनि राम्रै स्टेज पाउने गायिकामध्येमा पर्छिन् । स्मिताको 'मायालु तिमी कता छौँ' लगायत थुप्रै गीत चर्चामा छ । देशदेखि विदेशसम्म गाउने स्मितालाई एउटा राम्रो लुगा लगाउन र ब्याग बोक्न हजुरबुबाकै सहारा चाहिएला त ? यो प्रश्न त्यो भीडले बुझ्न जरुरी छ । 

त्यसो त स्मिता आफैँले उक्त ब्याग ममी गंगालाई गिफ्ट आएको एक अन्तर्वार्तामा भनिसकेकी छिन् । सामान्य मान्छेलाई 'बर्थ डे, एनिभर्सरी' लगायतमा गिफ्ट आउँछ भने गंगालाई गिफ्ट आउनु ठूलो विषय पनि होइन । त्यसमाथि स्मिता गायिका भएका कारण पनि गिफ्ट आउनु स्वाभाविक हो, यसमा प्रचण्डीकरण गर्न आवश्यक नै छैन ।

हो गंगा यतिबेला चुपचाप बसिरहेकी छिन् बालुवाटारमा । सामान्य कुरासमेत फेसबुकबाट सार्वजनिक गर्ने गंगाले उनीमाथिको गम्भीर आरोपबारे न कतै मिडियामा बोलेकी छन्, न सामाजिक सञ्जालबाट नै खण्डन गरेकी छन् । केही दिन पहिला भने प्रधानमन्त्री सचिवालयको हवाला दिँदै अर्का स्वकीय सचिव रमेश मल्लले गंगामाथि आरोप निराधार भन्दै फेसबुकमा पोस्ट गरेका थिए । तर, बालुवाटारमा मौनधारण गरिरहेकी गंगाले यत्ति कुरा कहिले बुझ्ने- अहिले नबोले कहिले बोल्ने ? आफ्नो नबोले कसको बोल्ने ? 

गंगामाथि यत्रो आरोप लाग्दा किन बोलिरहेकी छैनन् ? उनी नबोल्दा झन् बलिरहेको आगोमाथि घ्यू थप्ने काम भइरहेको छ । कि उनले खण्डन गर्न सक्नुपर्थ्यो कि सिंहमाथि कानुनी कारबाहीमा जान सक्नुपर्थ्यो । यी दुवै गंगाले गरिरहेकी छैन । बस् चुपचाप बालुवाटारमा आसीन छिन् ।

गंगाको हैसियत एक सामान्य नागरिकको मात्रै होइन, उनी देशकै प्रधानमन्त्रीलाई आडभरोसा दिइरहेकी एक साहसिक महिला हुन् । एक सामान्य नागरिकमाथि कुनै आरोप लागेर पुष्टि हुन्छ भने उसले कारबाही भोक्छ । गंगा त झन् प्रधानमन्त्रीकी पुत्री हुन् उनको आरोप पनि पुष्टि हुन्छ भने उनी कारबाही भोग्न तयार हुनुपर्छ ।

त्यसो त गंगाको हैसियत प्रधानमन्त्री पुत्री र स्वकीय सचिव मात्रै होइन । उनी नेकपा माओवादी केन्द्रकी एक केन्द्रीय सदस्य पनि हुन् । उक्त आरोपबारे भएको सत्यतथ्य गंगाले छिट्टै सार्वजनिक गर्नुपर्छ । किनकि गएको चुनावमा माओवादीले पाएको ११ लाख ७५ हजार मत हो, यो माओवादीप्रति जनताको विश्वासलाई बालुवाटार बसेर घात गर्न गंगालाई कुनै छुट छैन ।

त्यसो त गंगाकै कारण पार्टी उपमहासचिवसमेत रहेका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएको माओवादी वृत्तमा चर्चा छ । गंगा प्रधानमन्त्री जत्तिकै व्यस्त हुन्छिन् । कुनै काम गर्दा समन्वय नगर्ने र हस्तक्षेपका कारण गजुरेलले राजीनामा दिएको सार्वजनिक नभए पनि चर्चा उत्तिकै छ ।

सिंह सांसद हुन्, गंगा प्रधानमन्त्रीको स्वकीय सचिव । अब कि सांसद सिंहले गल्ती बोलेका हुन् भने उनीमाथि कडा कारबाही हुनुपर्छ, सही बोलेका हुन् भने गंगामाथि स्वकीय सचिवको हैसियतले बालुवाटारमा हैकम जमाउने कुनै अधिकार छैन, कारबाहीको दायरामा ल्याउनै पर्छ । यत्ति बुझ्न ढिला गरे प्रचण्डले समय त पर्खेलान् तर समयले प्रचण्ड कहिल्यै पर्खँदैन ।


Author

जीवन कुँवर

राजनीति तथा समसामयिक विषयमा कलम चलाउने कुँवर सिनियर करेस्पाेन्डेन्ट तथा डेस्क संयोजक हुन् ।


थप समाचार
x