विचार

राजनीतिको निकास

मन्जु थापा ‘आनन्द’ |
पुस ३०, २०७९ शनिबार १६:९ बजे

देशले के दियो ? प्रत्येक नेपाली घोत्लाउने प्रश्न हो यो । अतिकम विकसित मुलुकका नागरिकको नाताले हामीलाई देशले दिएको भनेको नागरिकता हो । अनि केही राजस्व तिर्यो भने राहदानी दिन्छ देशले, परिवार छोडी खाडी मुलुक गई ज्यानकै जोखिम मोलेर रगत पसिना बगाउन । यसरी नै देश धानिएको छ । 

एउटा देशले आफ्ना नागरिकलाई दिने सुविधा भनेको यति मात्र पक्कै होइन । विकसित मुलुकले आफ्ना नागरिकलाई राष्ट्रभित्रै समृद्ध हुने अवसर तथा सुरक्षा दुवै दिएको हुन्छ । नागरिकले देशबाट के पाउने भन्ने कुरा देशको आर्थिक अवस्था र समृद्धिमा भर पर्ने कुरा हो । देशमा विकास र समृद्धिमा त्यतिकै आउँदैन । यसका लागि राज्यको स्पष्ट नीतिगत व्यवस्था र आधारभूत पूर्वाधार चाहिन्छ । स्पष्ट नीतिगत व्यवस्था र आधारभूत पूर्वाधारका सम्बन्धमा अभागी नै छौँ हामी नेपाली । 


सबैलाई थाहा भएको कुरा हो, देश चलाउने मूल प्रणाली राजनीति हो । नेपाली राजनीतिको कुरा गर्ने हो भने देशले पटक पटक क्रान्ति आन्दोलन तथा परिवर्तन पायो तर स्थिरता पाएन । पटक–पटकको परिवर्तनले केही सीमित अनुहार आलोपालो परिवर्तन भइरहे तर प्रणाली उही पुरानै रह्यो । कारण राजनैतिक परिवर्तन अघि पनि त्यही नेता प्रधानमन्त्री राजनैतिक परिवर्तनपछि पनि त्यही अनुहार प्रधानमन्त्री अनि कसरी हुन्छ काम गर्ने प्रणालीमा परिवर्तन ? 

देशमा विकासको स्थिति र कार्य सम्पादनको स्तर हेर्दा कुनै पनि एउटै व्यक्ति पटक पटक प्रधानमन्त्री हुन सुहाउने छैन । त्यस माथि कुनै सामान्य कम्पनीको प्रमुख कार्यकारी अधिकृत त दुई कार्यकालभन्दा बढी खान पाइँदैन । यसरी एउटै व्यक्ति दोहोराउन नहुनुको पछाडि थुप्रो मनासिब कारणहरू छन् । ती सबै कारणहरू राजनितिमा पनि लागू हुन्छन् । के राजनीति चाहिँ परिधिमा बस्नु पर्दैन ?

हालै नेपाली राजनीतिमा भएको पद लुछाचुडीको नाङ्गो नाचले देशको बारेमा कुनै पनि राजनीतिज्ञले सोच्दैन भन्ने कुरा छर्लङ्ग भयो । सबै राजनीतिज्ञलाई चाहिएको पद नै त रहेछ । नेपाली जनताले दिएको मतको कुनै मूल्य नै रहेनछ उनीहरूका लागि । हामी मिलेर देश चलाउँछौँ भनी गठबन्धन बनाएर जनतासँग भोट मागेर एउटै पदको तानातानमा गठबन्धन चुँडाउनु भनेको जनताले दिएको मतको अवमूल्यन हो कि होइन ? 

भोट माग्ने बेलामा एउटा संयोजन देखाएर जित्ने अनि पछि अर्को संयोजन बनाउनु राजनीतिज्ञले जनतालाई गरेको घात हो कि होइन ? जनताले एउटै पार्टीले देश चलाऊ भनेको भए कुनै एउटा पार्टीलाई स्पष्ट बहुमत दिन्थे होला नि । कुनै एउटा पार्टीको बहुमत नआउनु भनेको तिमी मिलेर देश चलाऊ भनेको हो जनताले । न त सिद्धान्त मिल्छ, न त व्यवहार, चाहिँदा मिले जस्तो गर्ने, स्वार्थ पूरा नहुने देखेपछि छुटेको जस्तो गर्ने यो नाटक जनताले कहिलेसम्म हेर्ने हो ? जनतालाई मन परोस् नपरोस् गठबन्धन बनाउने । विकल्प साँघुरो पारेर भोट हाल्न लगाउने पछि लौ हामी अलग भयौँ भन्ने जनताको भावनासँग खेलबाड भएन र ? 

सबै एउटै धरातलमा बस्ने भए एउटै पार्टी बनाए भैगो नि । किन बहुदल चाहियो ? चिठ्ठा तानेर पालो पालो मन्त्री प्रधानमन्त्री बन्ने चुनाव गर्नै परेन । देशको ढुकुटी पनि बचत भयो । याद होस्, भ्रष्टाचारले गालिएको नेपाल रेमिट्यान्सले बाचेको छ । देश रेमिट्यान्सले बाँच्नु भनेको आफ्ना सन्तान बेचेर आमा बाँच्नु जस्तै हो । अफगानिस्तानका नागरिक छोराछोरी बेचेर जीवन धानेको समाचार आइरहँदा बुझाँै हामी पनि उनीहरू भन्दा फरक छैनौँ । छोराछोरी बेचेर देश चलाउनु पर्ने राज्यले आर्थिक स्रोतको मूल्य बुझ्नु पर्दैन ? 

न त सिद्धान्त मिल्छ, न त व्यवहार, चाहिँदा मिले जस्तो गर्ने, स्वार्थ पूरा नहुने देखेपछि छुटेको जस्तो गर्ने यो नाटक जनताले कहिलेसम्म हेर्ने हो ?

१,४७,१८२ वर्ग किमि क्षेत्रफल भएको र ३ करोडभन्दा कम जनसङ्ख्या भएको मुलुकलाई तीन तहको सरकार र जम्बो मन्त्रिमण्डल आवश्यक छ छैन ? यिनीहरूलाई दिइने सुविधा देश धान्छ धान्दैन फरक छलफलको विषय हो । तर यति ठूलो जमातको सरकारलाई बोकेर नेपाली जनताले पाएको भने केही छैन । यिनीहरूले गर्नुपर्ने केही थिएन । भ्रष्टाचार नगरिदिए पुग्थ्यो । यति पनि साधारण नेपालीको भाग्यमा रहेनछ । 

उही पार्टी अनि उही नेता सत्ता आउनुको कारण नेपाली जनता र पार्टी दुवैसँग विकल्पको अभाव रहेछ । क्षमतावान् र असल व्यक्ति राजनीतिमा आउन चाहँदैन कारण यस फोहोरी खेलमा आफ्नो निष्ठा जोगाउन गाह्रो छ । जब क्षमतावान् र निष्ठावान् राजनीतिमा आउनै चाहँदैन कसरी देशले असल नेतृत्व पाउछ ? भर्खरै भएको निर्वाचनको नतिजाले देखाएको छ विकल्प भए त नागरिकले मत हाल्ने चिन्ह परिवर्तन गर्ने रहेछन् नि । 

हामीले थाहा पाएदेखि राजनीतिमा उही पुराना पटक पटक निराश बनाएका अनुहारहरू छन् । आचार्य चाणक्यको भनाइ छ, ‘यदि तपाईंले राजनीतिमा भाग लिनु भएन भने अयोग्य व्यक्तिले तपाईं माथि शासन गर्छ ।’ सायद त्यही नियति सारा नेपालीले भोग्दैछौँ । त्यसैले क्षमतावान् र निष्ठावान् व्यक्तिहरूले राजनीतिमा भाग लिनुपर्छ । यो आवश्यकता क्षमतावान् र निष्ठावान् व्यक्तिहरूको होइन राज्यको हो । सधैँ शक्तिमा बसेका पदको राजनीति गर्ने अनि पाटी चलाउन मात्र जान्ने नेताको भर गर्नु हुँदैन । यिनीहरूले देशलाई खुकुलो बनाउँदै जान्छन् । 

भनिन्छ, खुकुरी चोट अचानोलाई थाहा हुन्छ । अर्काको देशमा पसिना बगाउने नेपालीलाई थाहा हुन्छ देशमा रोजगारी उपलब्ध नहुनुको पीडा । पराई देशमा पसिना बगाउने नेपालीमध्ये व्यक्तिगत स्वार्थबाट उठेर केही गर्छु भन्ने निष्ठावान् व्यक्ति आउनुस्, देशलाई तपाईंको खाँचो छ । तपाईंलाई पुरानो पार्टी चलाउनु परेन । कसैलाई जोगाउनु परेन, न त कसैलाई फसाउनु पर्यो । 

देशमा रोजगारी सृजना गर्न स्पष्ट नीति मात्र पनि दिन सक्नुभयो भने कम्तीमा आगामी पुस्ताले जीवन निर्वाह गर्नका निम्ति विदेशिनु पर्दैन होला । यति मात्र पनि गर्न सके मानव जीवन तरिन्छ । त्यसै गरी दिनरात खेतबारीमा हाड घोडेर दुई छाक टार्न धौधौ परेका किसानहरूबाट आउनुस् । अनुभवको शक्ति छ तपाईंसँग, एउटा प्रगतीशिल कृषि नीति दिन सक्नु भयो भने देशको अर्थतन्त्रको मुहार फेरिन्छ । सबैले चाहेको त्यति होइन र ?

अन्त्यमा, राजनीतिको लाज पचेको नाच हेरेर गरिबी र पछौटेपनामा रोएर वा भएका राजनीतिकर्मीलाई गाली गरेर देशले समृद्धि पाउने वाला छैन । भष्ट प्रणाली चिर्न सक्ने क्षमता विद्यमान राजनीतिज्ञमा छैन आश नै नगरे हुन्छ । राजनीतिलाई फोहोरी खेल भनेर पन्छिनुभन्दा यसको महत्वलाई बुझेर राजनीति समावेश भई देशलाई निष्ठापूर्ण नेतृत्व दिनु उपयुक्त हुन्छ ।

(मुख्य प्रबन्धक, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड)


Author

मन्जु थापा ‘आनन्द’

थापा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडकी मुख्य प्रबन्धक हुन् ।


थप समाचार
x