विचार

मधु मरासिनीले ‘कन्धनी’ समातेपछि...

शुभाष चन्द्र पोख्रेल |
साउन १९, २०७९ बिहीबार १८:५१ बजे

अर्थमन्त्रीका रूपमा जनार्दन शर्मा दोहोरिएपछिको भोलिपल्ट अर्थात् साउन सोह्र गते, सोमबारको अंकमा कान्तिपुर दैनिकले छापेको प्रमुख समाचारको प्रथम हरफ यस्तो छ : ‘वित्तीय विशृंखलता र पदीय अक्षमताले दुर्बल माओवादी नेता जनार्दन शर्मालाई अर्थ मन्त्रालय फर्काइएको छ । ‘सेटिङ’मा अघि बढाइएका अधुरा ‘काम’ फत्ते गराउन प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले उनलाई नै मन्त्रालय ल्याएका हुन् ।’ 

‘शर्माको काँधमा कुशासनको बन्दुक, पड्काउँदै देउवा–दाहाल’ यो समाचारको उपशीर्षक हो, समाचारको पेटमा जानै पर्दैन यही एक वाक्यले समाचारको सारांश बोकेको छ ।


‘देउवा–दाहालको लिर्लज्ज शासन’ भन्दै साउन सोह्रकै कान्तिपुर दैनिकमा ‘धुवाँदार’ सम्पादकीय छापियो ।

अन्नपूर्ण पोस्ट दैनिकले लेख्यो, ‘अपुरो छानबिनका भरमा फर्काइए शर्मा’ । अन्नपूर्ण पोस्ट त्यही दैनिक हो, जसले ‘मध्य राती बजेटमा जब ‘चुकुल’ लाग्यो’ शीर्षकको समाचारमार्फत बजेट काण्डबाहिर ल्याएको थियोे ।

अर्थमन्त्री शर्माको पुनरागमनको अन्तर्य शीर्षकको समाचार टिप्पणीमार्फत ।

इकागज डिजिटल पत्रिकाले लेख्यो: ‘देशको ढुकुटी व्यापारीलाई पोस्नेजस्तो जघन्य अपराधको आरोप लागेका व्यक्ति पुनः अर्थमन्त्री बनाइनु यो देशको विडम्बना मात्र होइन, गठबन्धन दलका नेताहरू देश लुट्न जस्तो पनि हर्कत गर्छन् भन्ने ज्वलन्त उदाहरण हो ।’

समाचार टिप्पणी मात्र होइन, इकागजले पनि सम्पादकीय नै लेख्दै भन्यो, ‘अर्थमन्त्री जनार्दन शर्माको पुनर्नियुक्ति र पुनरागमनले धेरै विषय छताछुल्ल पारेको छ । शेरबहादुर देउवा र पुष्पकमल दाहालको गठबन्धन कस्तो प्रकृतिको हो, उनीहरू शासनमा रहनुको उद्देश्य, छर्लंग बन्दै गएको छ । संसदीय छानबिनका नाममा दर्जनौँ प्रश्न अनुत्तरित राखेर जसरी रिपोर्ट ल्याइयो, त्यो अपुरो मात्र छैन, आपत्तिजनक पनि छ । छानबिन टोली स्वयं छानबिनको घेराभित्र परेको छ ।’

अर्थमन्त्री जनार्दन शर्माको राजीनामा र संसदीय छानबिन समितिको माग गरेर ‘आन्दोलन’ गर्ने नेकपा एमाले संसदीय समितिको प्रतिवेदन आउँदासम्म ‘निरीह’ बन्यो। एमालेको यस्तो निरिहताप्रति दर्जन ‘यक्ष’ प्रश्नसहित एमाले नेता एवं संसदीय छानबिन समितिका सदस्यमध्ये एक खगराज अधिकारीलाई कठघरामा उभ्याउँदै वरिष्ठ पत्रकार राजेन्द्र बानियाँले सोधे, ‘छानबिन समितिको नाटक मञ्चन गरी गरी पहाड खोतलेको आखिर मुसो समात्न मात्र हो ? कुँडेभरिको दूध जुठ्याउने ‘ढाडे बिरालो’ भेटाउनु भएन ? ’

संसदीय छानबिन समिति बन्नुपूर्व र बनिसकेपछि पनि पत्रकार, सञ्चार माध्यम, अर्थविद्, पूर्वप्रशासक, पूर्वअर्थमन्त्रीहरू, सार्वजनिक चासोका विषयमा मुखर भइरहने सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ‘बजेट काण्ड’बारे टिप्पणी÷प्रतिटिप्पणी गर्नका लागि अनगन्ती शब्द खर्च गरे । सबै क्षेत्रबाट गरिएका तर्क, प्रश्न र आशंकाका सुईहरूले प्रस्ट भन्छ, ‘बजेट काण्डमा अर्थ मन्त्रीले घनघोर त्रुटि गरेका छन् ।’ तर छानबिन समितिले दिएको गोलमटोल प्रतिवेदनका आधारमा जनार्दनको फिर्ती सवारी चलाइयो ।

जनार्दन शर्मामाथि लागेका आरोपहरू झुठा थिए भने उनले सफाइ पाउनुपर्छ, यो प्राकृतिक न्यायको कुरा हो तर सफाइ पाउनुको परिदृश्य यस्यो विरोधाभाषपूर्ण पनि नबनोस् कि ‘छानबिन’ भन्ने जुन विधि छ त्यसप्रति नै मानिसको भरोसा उडोस् ।

यो मामलामा अर्थमन्त्री, उनको पार्टीका सर्वोच्च नेता पुष्पकमल दाहाल र स्वयं प्रधानमन्त्री शेरबहादुर देउवाको मोतो मिल्नुको परिणाम छानबिन एकांकी बन्न पुग्यो । प्रतिपक्षीका रूपमा एमालेको भूमिकामाथि पनि ‘सरकारले एम अधिकारी नखोज्ने र एमालेले फुटेज नखोज्ने’ सौदा गरेको आरोप छ । यी सबै आरोप र आशंका सत्यको निकै नजिक छन्, र त हामीले यी सबै विरोधाभास भोग्न पाएका छौँ । यो पाटोमा अरु चर्चा जरुरी छैन ।

बजेट काण्ड सतहमा आएपछि यसको पटाक्षेप गराउन सक्ने एक जना पात्रमाथिको टिप्पणीतर्फ लागौं ।

अर्थ सचिव मधु मरासिनी आफ्नो अडान र भूमिकामा अडिग रहेको भए सायद छानबिनको निचोड यति ‘पङ्गु’ हुने थिएन ।

बजेट काण्डको विरोधमा चौतर्फी दबाब चुलिएपछि ‘जनार्दन शर्मा अर्थ मन्त्रालयमा रहँदासम्म सँगै काम गर्न सक्दिनँ’ भनेर मधु मरासिनी बिदामा बसे । नैतिक दबाब हो वा संयोग अर्थ मन्त्रीको राजीनामा आयो । मरासिनी पुनः मन्त्रालय हाजिर भए । उता संसदीय छानबिन समितिले काम थाल्यो । धेरैको विश्वास थियो सचिव मरासिनीले समितिसामु स्वाभिमानसहित बयान दिनेछन् । तर भयो उल्टो, मरासिनी लल्याकलुलुक भए ।

मरासिनीको यस्तो नियतिप्रति ग्रामीण घटनाको एउटा यथार्थ विम्बसहित टिप्पणी गर्न मन लाग्यो ।

हाम्रो पहाड अर्घाखाँचीमा सुख्खा याममा खेतमा पानी लगाउन मौजाअनुसार पालो गर्नुपर्थ्यो, सुख्खा समय, बल्लतल्ल पानीको पालो परेको व्यक्तिले आफ्नो खेतमा पानी सोझ्याएर घर गए, पानीले खेत छामे होला भनी ढुक्क भएर पालोवाला मान्छे खेतमा पुग्दा खेत सुख्खै, कुलो पछ्याउँदै जाँदा पालो नपरेकाको खेतमात पो कुलो झरेको छ ।

कुलो जाने बाटोमा खेत हुने अर्को चतुर मान्छेले कुलो आफैँ भत्केर पानी खेतमा झरेझैँ हुने गरी पानी आफ्नो खेतमा झोस्यो, अनि चानुमानु बस्यो । खडेरीमा सिँचाइका लागि आफ्नो पालोमा यस्तो बेइमानी सहन नसकेपछि ती मान्छेले समाज जुटाएर कचहरी बसाल्न माग गरे, कुलो भत्केको नभई, खसोखास भत्काएर पालो नपरेको मान्छेले आफ्नो खेतमा लगाएको देख्ने आँठो नजिकका अर्का मान्छे पनि फेला परे । कचहरी बस्नुअघि पीडित पक्षले ती मान्छेसँग दोहोर्याई–तेहर्याई सोधे, ‘कुलो भाँच्ने पक्का उही हो नि ?’

ती प्रत्यक्षदर्शीले विश्वाससाथ भने, ‘मैले जनै समातेर कसम खान सक्छु, कुलो भाँच्ने उही हो ।’ 

ब्राह्मण वृत्तमा ‘जनैको कसम’ त ठूलै हो, अब पालो मिच्ने फटाह समाजको फेला पर्ने भयो भनी पीडित ढुक्क भए ।

कचहरी बस्यो, घटनाको बेलिबिस्तार भयो, बहस चल्यो, आरोपीले आफ्नो बचाउमा कुरा गर्यो । कस्ले बदमासी गरेको हो छुट्याउने फैसलाका लागि प्रत्यक्षदर्शीको बयान महत्त्वपूर्ण थियो । समाजले सोध्यो, ‘ पालो मिच्ने उही हो ?’

जवाफ दिए, हो उही हो, मेरै आँखाले देखेको ।

दोहोर्‍याएर सोधियो : पक्का हो नि ?

हो ।

सबैले पालैपालो सोध्दै गए । आरोपित र उसका पक्षका मान्छेले आँखाको इसारामा के दबाब दिए । उनको बयान मधुरो हुँदै गयो । अन्तिमसम्म त उनी देखेको हो कि होइन भन्नेमै दोधारे जवाफ दिन थाले । यत्तिकैमा पीडितलाई झोँक चल्यो अनि जंगिँदै भने, ‘पानी चोरेको आफ्नै आँखाले देखेको हुँ भनी जनै समातेर कसम खाएको होइन ?’ आज आएर कुरा फेर्ने ? बिचरा ती साक्षी-गवाह के परिबन्दमा परे, के दबाब वा प्रलोभनमा परेका थिए कुन्नि ? बयानको अन्तिमसम्म आइपुग्दा त उनले भन्न थाले, ‘मैले जनै समातेर कसम खाएको होइन, कन्धनी समातेको हुँ ।’ 

साक्षीले ‘जनै’को सट्टा ‘कन्धनी’ समाएपछि कचहरी नै अनिर्णित बन्यो । पानीको पालो मिच्ने झन ठालु बन्यो, पालो मिचिनेवाला हेरेको हेरै भए ।

बजेट काण्डमा पनि ठ्याक्कै यस्तै बन्यो । सुरुमा मधु मरासिनीले ‘जनै’ समाएर भने, म बेथितिको साक्षी बन्न सक्दिनँ ।

पछि छानबिन समितिसामु के भयो कुन्नि, उनी भावुक भए, बहकिए अनि भनिदिए । ‘मैले केही देखिनँ, केही भएकै होइन, उतिखेर मैले जनै समातेको होइन कन्धनी समातेर पो भनेको ।’

बजेट काण्डमा राजनीतिक समाधान खोजिएको होला तर यसलाई कानुनी र नैतिक निरुपण मान्न सकिन्न ।

आशा गरौँ— मधु मरासिनीले ‘कन्धनी’ समाते भनेझैँ बजेट काण्ड भएकै नहोस् । कथंमदाचित यो काणको पटाक्षेप भएनै हाल्यो भने याद गर्नुहोला है मधु

मरासिनी सर, अरु कयौँ पूर्व प्रशासकहरूझैँ मैले यसो गरे, अब यस्तो गर्नुपर्छ नत्र देश बर्बाद हुन्छ भन्ने खालका, ‘अर्ती र उपदेश’का आडम्बर तपाईंबाट सुन्न नपरोस् ।’

कहिले ‘जनै’ समाएर त , कहिले ‘कन्धनी’ सामातेर कुरा गर्न र कुरा फेर्न नेताहरू नै काफी थिए त , तपाईं पनि थपिनु भयो है मधु सर ?


 


Author

थप समाचार
x