राजनीति

सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै

इकागज |
बैशाख २५, २०८१ मंगलबार ७:९ बजे

काठमाडौँ- सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै छन् ।

सभामुखले आज बिहान साढे ११ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।


आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन् । उनले प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई छलफलका लागि बोलाएका हुन् ।

सहकारी प्रकरणमा रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । कांग्रेसको अवरोधले सदनको कारबाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाएका हुन् ।

सभामुखले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष बैठक आहवान गरेका थिए । तर, सहमति प्रयास सार्थक हुन सकेको थिएन । सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुंग्याउन मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग र कार्यव्यवस्थामा अलग अलग छलफल भएको थियो । संसदको बर्खे अधिवेशन आगामी २८ गतेदेखि सुरु हुँदैछ ।


Author

थप समाचार
x