विचार-वार्ता

अन्तर्वार्ता

‘बाबुरामजी गैरकम्युनिस्टहरूसँग मिल्नुहोला भन्‍ने डर भयो, त्यसैले मोर्चामा आउन आग्रह गर्‍यौँ’ (अन्तर्वार्ता)

कमल विष्ट |
साउन ९, २०७९ सोमबार १४:० बजे

लामो समयको दौडधुपपछि अन्ततः नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आफ्नो ‘मिसन’मा सफल भएका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पाँच दलीय गठबन्धनमा रहेका वाम घटकबीचको मोर्चा ‘समाजवादी केन्द्र’मा आउन तयार भएपछि पुन सफल भएका हुन् । पुन केही सातादेखि डा. भट्टराई र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट गराएर यस विषयमा सहमति जटाउन प्रयासरत थिए ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रिय सभा सदस्य वामदेव गौतमको सम्मिलित समाजवादी केन्द्रको तयारी अन्तिम चरणमा पुगेको छ । समाजवादी मोर्चा छिट्टै राष्ट्रिय राजनीतिमा समान धारणा, अन्तर्राष्ट्रिय मामलामा साझा घोषणापत्र र चुनाव चिह्न सार्वजनिक गर्ने योजनामा छ । 


माओवादी अध्यक्ष प्रचण्डले त ‘समाजवादी एकता र वामपन्थी एकता उस्तै–उस्तै हो’ भन्ने टिप्पणीसमेत गरेका छन् । 

पाँच दलीय गठबन्धनमा सम्मिलित दलहरूले फेरि नयाँ चुनावी मोर्चा बनाउनुलाई ठूलो संशयका रुपमा हेरिएको छ । थुप्रै कांग्रेसी र एमाले नेताहरूले गठबन्धनमा कांग्रेसलाई दबाब दिएर बढीभन्दा बढी सिट पाउन सकियोस् भन्ने उद्देश्यसाथ मोर्चा बनाएको टिप्पणी गरेका छन् । केहीले त माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्री हुन मन लागेको र त्यसका लागि मोर्चालाई उनले ‘चाल’ बनाएको व्याख्यासमेत गरेका छन् । 

वाम घटकबीचको नयाँ चुनावी मोर्चाको नाम ‘नेकपा समाजवादी केन्द्र’ राख्दा डा. भट्टराई मोर्चामा आउन सहमत थिएनन् । ‘नेकपा’ शब्द हटाएपछि मोर्चामा सहभागि हुन राजी भए । यसरी डा. भट्टराईको मुख्य चासोमा ‘नेकपा’ शब्द हटाएर बनाइएको समाजवादी केन्द्र के हो ? उद्देश्य के हो ? कहिलेसम्म रहन्छ ? यो मोर्चा भोलि पार्टीकै रुपान रुपान्तरित हुन्छ कि हुँदैन ? 

त्यस्तै, महाधिवेशन भएको ८ महिना बितिसक्दा पनि माओवादीले पदाधिकारीलाई पूर्णता दिन सकेको छैन । पदाधिकारीको टुंगो लगाउने जिम्मा पाएका अध्यक्ष प्रचण्डलाई आखिरमा पदाधिकारी चयन गर्न यत्रो सकस ? पार्टीमा प्रचण्डको परिवारवाद हाबी हुनुको कारण के हो ? पछिल्लो समय नेपालमा माओवादी कमजोर हुँदै गएको हो ? इकागजकर्मी कमल विष्टले नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङलाई यी र यस्ता प्रश्नहरू सोधेका छन् ? प्रस्तुत छ, माओवादीका प्रमुख सचेतक गुरुङसँग गरिएको कुराकानीको सम्पादित अंश :

तपाईंहरू अहिले पाँच दलीय सत्तारुढ गठबन्धनमा हुनुहुन्छ । फेरि तपाईंहरूले गठबन्धनमा रहेका वाम घटकलाई समावेश गरेर ‘समाजवादी केन्द्र’ मोर्चा बनाउनुभयो । यो कस्तो मोर्चा हो ?

हामीले गठबन्धनभित्र कांग्रेसइतर वाम घटकहरूलाई समावेश गरेर एउटा मोर्चा बनाउन सकिने सम्भावना देखेर समाजवादी केन्द्र बनाएका हौँ । यो कहिलेसम्म रहन्छ भन्ने अहिले नै भन्न सकिँदैन । हाललाई यो चुनावी मोर्चा हो । 

त्यसो त अहिले हाम्रो पाँच दलीय गठबन्धन छ । त्यसमा कांग्रेस पनि छ । यो गठबन्धन रहँदासम्म हामी यसमा स्वतः रहने भइहाल्यौँ । तर, कांग्रेससँगको हालको गठबन्धन अस्थायी र क्षणिक प्रकारको हो । यो भोलि नहोला । यिनै विषयलाई ध्यानमा राखेर हामीले सापेक्षित रुपमा विचार मिल्नेहरूसँग अलि दीर्घकालीन मोर्चा बन्न सक्छ कि भन्ने सम्भावना देखेर समाजवादी केन्द्र मोर्चा बनाएका छौँ । 

यो विषयमा हामीबीच स्थानीय चुनावभन्दा अगाडि पनि छलफल भएको थियो । त्यतिबेला जनमोर्चाका चित्रबहादुर केसी, जसपाका उपेन्द्रलगायत तयार हुनुहुन्थ्यो । एकीकृत समाजवादी तयार नभएका कारणले मात्र ऊ बेला सम्भव भएन ।  

तपाईंको विचारमा निकटहरूबीच मोर्चा गर्‍यौँ भन्नुहुन्छ । तर, कांग्रेसीहरू त गठबन्धनमा कांग्रेसलाई दबाब दिएर चुनावमा बढीभन्दा बढी सिटका लागि बार्गेनिङ गर्ने धेयसाथ मोर्चा बनाएको भन्छन् नि ?

कसले के भन्यो, के आरोप लगायो भन्ने उनीहरूको कुरा हो । त्यो उनीहरूको व्यक्तिगत स्वतन्त्रताको कुरा पनि हो । तर, हामीले चाहिँ गठबन्धनभित्र वामपन्थी घटकहरूबीच मोर्चा बनाउँदा त्यो दीर्घकालीन हुनसक्छ भनेर मोर्चा बनाएका हौँ । 

समाजवादी केन्द्र वैधानिक रुपमा बनेको मोर्चा हो । विचार मिल्नेहरूसँग दल तथा मोर्चा बनाउन पाइने व्यवस्था संविधान र दलसम्बन्धी ऐनले नै व्यवस्था गरेको छ ।
संविधानले दिएको अधिकारी प्रयोग बनेको समाजवादी केन्द्र एकमात्र र पहिलोपटक बनेको मोर्चा होइन । २०४६ सालदेखि नै विभिन्न दलहरूले मोर्चाबन्दी गर्दै आएका छन् । ०४६ को आन्दोलनमा कसैले वाममोर्चा बनाएका थिए भने कसैले संयुक्त जनमोर्चा । अहिले पनि विभिन्न दलहरूबीच मोर्चा भएकै छ । यो त चलिरहने प्रक्रिया हो नि ।

अरुले मोर्चा बनाउँदा चाहिँ केही नहुने, तर हामीले गर्दा चाहिँ अन्यथा हुने ? विचारधारामा निकट शक्तिहरूबीच मोर्चा बन्दा अपव्याख्या गर्नु, अन्यथा लिनु भनेको लोकतान्त्रिक र दलीय पद्धतिविपरीत हो । 

यो मोर्चा भोलिका दिनमा पार्टीमै रुपान्तरित हुने सम्भावना कति छ ? 

कुनै पनि एकताका तीन स्वरुप हुन्छन् । पार्टी एकता, संयुक्त मोर्चा र कार्यगत एकता । हामीले गरेको संयुक्त मोर्चा हो । संयुक्त मोर्चामा विचार मिलेका विषयमा सँगै उभिइन्छ र नमिलेका विषयमा अलग । कार्यगत एकता चाहिँ अत्यन्तै क्षणिक हुन्छ, कुनै एउटा उद्देश्य प्राप्तिका लागि मात्र सँगै भइन्छ । 

समाजवादी केन्द्र संयुक्त मोर्चा हो भने कांग्रेससँगको चाहिँ कार्यगत एकता हो । संयुक्त एकता धेरै दृष्टिले दीर्घकालीन हुन्छ । संयुक्त मोर्चा पार्टी एकतासम्मै पुग्न सक्छ । तर यस विषयमा अहिले नै केही भन्‍न सकिँदैन । 

तपाईंको पार्टीका नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुन अस्तिसम्म वामपन्थीहरू एक ठाउँमा आउनुको विकल्प छैन भन्दै एमालेसँग निरन्तर छलफलमा हुनुहुन्थ्यो । अहिले एक्कासी समाजवादी केन्द्र मोर्चा निर्माण गर्नुभयो । वाम एकताबाट किन पछाडि हट्नुभयो ? 

यस विषयमा मलाई थाहा छैन । अहिलेको हाम्रो प्रयास गठबन्धनभित्रका वाम घटकहरूसँग एकता गरेर चुनावी मोर्चा बनाउने मात्र हो । वामपन्थी गठबन्धन कस्तो हुन्छ भनेर हामीले हेरिरहेका छौँ । सबैभन्दा मुख्य कुरा के हो भने पार्टी एकता वैचारिक र राजनीतिक मापदण्डका आधारमा हुन्छ । पार्टी वा व्यक्तिको नामका आधारमा होइन । पार्टी भनेको विचार हो, दर्शन हो र आदर्श हो । 

एमाले लोकतन्त्रको पक्षमै छैन । लोकतन्त्रको सन्दर्भमा हामीबीच समान मत छैन । उसले दुईदुईपल्ट संसद भंग गरेको छ । नेपाललाई अमेरिकी सैन्य रणनीति इन्डोपेसेफिकमा सामेल गराउने प्रक्रिया एमाले अध्यक्ष ओलीकै पालामा अगाडि बढेको थियो । यस्ता यावत विषय छन् । जसमा एमाले र हामीबीच समानता छैन । वैचारिक रुपमा धेरै कुरामा समानता भएका माधवकुमार नेपाल र मोहनविक्रम केसीज्यूसँग त पार्टी एकताका सन्दर्भमा टुंगो लागेको छैन भने एमालेसँग त विचार पनि मिल्दैन । 

हालै चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपाल भ्रमणमा आएर प्रचण्डलगायत कम्युनिस्ट नेताहरूलाई वाम एकताका लागि प्रलोभन र दबाब दिएर गए भन्ने चर्चा छ नि ?

यो कम्युनिस्ट विरोधीहरूले गरेको हल्ला मात्र हो । कम्युनिस्टहरूको चरित्रहत्या गर्न गरिएको ‘स्टन्ट’ हो । कम्युनिस्ट मूल्य–मान्यता नबुझ्नेहरूका आरोपले अर्थ राख्दैन । संसारमा एउटा मुलुकको कम्युनिस्ट पार्टीले अर्को मुलुकको कम्युनिस्ट पार्टीसँग छलफल तथा विमर्श गर्छ । सुझाव–सल्लाह दिन्छ । दुई मुलुकका कम्युनिस्ट पार्टीबीच अन्तरक्रिया हुँदा सुझाव–सल्लाह आदानप्रदान नहुने र अवसर तथा चुनौतीबारे छलफल नहुने भन्ने नै हुँदैन । तर, भाइचारा कम्युनिस्ट पार्टीका आआफ्ना सीमा तथा मर्यादा हुन्छन् । उनीहरू एकअर्कालाई सुझाव दिन्छन्, तर दबाब दिँदैनन् । अर्को मुलुकको कम्युनिस्ट पार्टीका लागि निर्णय कहिल्यै गर्दैनन् । जसले अन्तरक्रिया गर्दा प्रेसर दियो भन्छ, उसले कम्युनिस्ट विचारधारा नबुझेको मात्र होइन, ऊ कम्युनिस्टविरोधी नै हो ।

वर्षमान पुनको पहलमा प्रचण्ड र भट्टराईबीच पार्टी एकताका लागि थुप्रैपटक भेटवार्ता भयो । तर, त्यो सफल भएन । भट्टराईसँग एकता हुने विषय हाललाई टरेको हो ?

बाबुरामज्यूले माओवादीमा फर्किने कुरा गर्नुभएकै छैन । उहाँले मार्क्सवाद, लेनिनवाद र माओवादलाई अंगीकार गरेर कम्युनिस्टमै फर्किन चाहनुभएको हुन्थ्यो भने पार्टी एकीकरणको कुरा हुनसक्थ्यो । तर उहाँले त माओवादीको लाइन नै छाडिसक्नुभयो । गैरकम्युनिस्ट भइसक्नुभयो । 

बाबुरामलाई सामेल गरेर मोर्चावन्दी किन मात्रै गरिएको हो भने उहाँ गैरकम्युनिस्ट क्याम्पमा जानुहोला भनेर । उहाँ उपेन्द्रजीबाट अलग भएर कांग्रेस, महन्थ ठाकुरलगायतसँग एकता गर्नुहोला भन्ने डर थियो । गैरकम्युनिस्ट क्याम्पमा जानुभन्दा उपेन्द्र, चित्रबहादुर, मोहनविक्रम, माधव नेपालसँगै रहनुपर्‍यो भनेर हामीलाई उहाँलाई आग्रह गर्‍यौँ । उपेन्द्रजीसँग अन्तर्विरोध भए पनि वाम घटक नछाड्नुस् भनेर हामीले अनुरोध गरेपछि उहाँ मोर्चामा आउन मान्नुभयो । 

अब प्रसंग तपाईंको पार्टीतर्फ मोडौँ । पटक-पटकको स्थगनपछि ३ साताअघि माओवादीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठक बस्यो । धेरै सदस्यको दबाबपछि अध्यक्ष प्रचण्डले स्थायी कमिटी र पोलिटब्युरो चयन गरे । तर, पार्टीको सबैभन्दा महत्वपूर्ण मानिने पदाधिकारी चयन गर्न सकेनन् नि ? 

कम्युनिस्ट पार्टीका निम्ति पदाधिकारी चयनको विषय त्यति महत्वपूर्ण होइन । पार्टीमा पदाधिकारीको प्रावधान नभए पनि हुन्छ । तर, भए राम्रै हुन्छ भनेर हामीले यसको व्यवस्था गरेका थियौँ । पदाधिकारी नहुँदैमा बित्यासै परिहाल्दैन । 

तपाईं यस्तो भन्नुहुन्छ । तर, माओवादीकै केही नेताहरू चाहिँ पदाधिकारी चयनकै कारण पार्टीभित्र विचलन आउन सक्ने हुँदा प्रचण्डले अहिलेसम्म चयन गर्न सकेका छैनन् भन्छन् नि ?

मलाई थाहा छैन, तपाईंलाई कुन–कुनले के–के भने । तर, वास्तविकता त्यस्तो होइन । मैले अघि नै भनिसकेँ, विभिन्न सञ्चार माध्यममा यसरी चर्चा गरेको र ठूलो बनाइए पनि यो हाम्रो लागि महत्वपूर्ण विषय होइन । यो नभए पनि केही फरक पर्दैन । विश्व कम्युनिस्ट आन्दोलन, नेपाली कम्युनिस्ट आन्दोलनहरू दशकौँ वर्ष एकल पदकै आधारमा चलिरहेका छन् । माओवादीमा बहुपद नभएर बित्यासै परिहाल्दैन । 

पार्टीभित्र परिवारवादलाई प्रश्रय दिएको आरोप अध्यक्ष प्रचण्डमाथि बेला-बेला लाग्छ । हुन पनि पोलिटब्यूरोमा मात्र प्रचण्ड परिवारबाट चार जना सदस्य छन् । पार्टीमा प्रचण्डको परिवारवादविरुद्ध बोल्न छुट कसैलाई छैन भन्ने पनि सुनिन्छ नि हो ?

पार्टीभित्र परिवारवाद हाबी भयो कि भएन त्यो उहाँलाई नै सोध्नुपर्छ । तर, एउटा कुरा के हो भने पार्टी र क्रान्तिमा लाग्न आफ्ना साथीभाइ, परिवारका सदस्य तथा नातेदारलाई प्रेरित नगर्ने, तर अरुलाई चाहिँ गर्ने कार्य राम्रो हुँदैन । यो पार्टीको मूल्यमान्यता तथा आदर्शविपरीत हो । एउटा कामरेडले सबैभन्दा पहिला आफ्नै परिवारका सदस्य, नातेदार र साथीहरूलाई क्रान्तिमा लाग्न प्रेरित गर्नुपर्छ ।

यसरी क्रान्तिमा लाग्नेहरूलाई बेलाबेला पार्टीले जिम्मेवारी दिन सक्छ । अब यस्तो बेला ऊ कसैको सन्तान वा श्रीमती भएकै कारण उसले जिम्मेवारी नलिने भन्ने हुँदैन । जिम्मेवारी बाँडफाँट गर्ने क्रममा उसलाई कुनै न कुनै दिन जिम्मेवारी पर्छ नै । नेताका सन्तान वा नातेदारलाई जिम्मेवारी तोकिनेबित्तिकै परिवारवादको बिल्ला भिराउनु ठीक होइन । यस्ता कुतर्क राजनीति, विचार तथा क्रान्तिलाई न्यूनिकरण गर्नका लागि केही मानिसहरूले गर्छन् ।

यद्यपि मानिस सीमारहित हुँदैन । जिम्मेवारी बाँडफाँटका क्रममा कहिलेकाहीँ एउटा नेतृत्वको आँखा आफू अगाडिको व्यक्तिमा बढी र पछाडिको व्यक्तिमा कम जान सक्छ । फेरि पनि यसलाई कुनै वाद वा इजम्का रुपमा लिन मिल्दैन । 

नेपालमा माओवादी वैचारिक, सांगठनिक सबै दृष्टिले दिनप्रतिदिन कमजोर हुँदै गइरहेको भन्ने सुनिन्छ । माओवादी साँच्चिकै कमजोर भएको हो ?

मलाई थाहा छैन, कमजोर र बलियो मापन गर्ने आधार के हो ? के भएपछि बलियो मानिन्छ र के भएपछि चाहिँ कमजोर ? पूँजीवादी पार्टीहरूका लागि चुनावको जितेको सिट सफलता वा असफलता निर्धारण गर्ने मानक हो । पूँजीवादी दर्शन नै नमान्ने पार्टीले सफलताको यो मानकलाई पछ्याउने कुरै भएन । हामी कम्युनिस्टहरू वैज्ञानिक समाजवादी मान्छौँ । मूल्य र मान्यतामा विश्वास गर्छौँ । 

पूँजीवादी संसारले मार्क्सलाई बहुला भन्थ्यो, लखेट्थ्यो । मार्क्स सधैँ एक्लै थिए । उनको कतै जाने, बस्ने र खाने अवस्था थिएन । तर, उनले प्रतिपादन गरेको वैज्ञानिक समाजवादी विचार सही रहेछ भन्ने आज पुष्टि हुँदैछ । 

नेपालमा माओवादी आन्दोलन भारतको कलकत्तामा पढ्न गएका दुई–चार जना विद्यार्थीले सुरु गरेका हुन् । पञ्चायतकालमा माओवादीमाथि पूर्ण रुपमा प्रतिबन्ध लगाइएको थियो । माओवादीहरू भूमिगत भएर आन्दोलन गर्नुपर्ने अवस्था थियो । त्यसबेला ‘सबै नेपाली पञ्च, पञ्च नै नेपाली’ भनियो । पछि पञ्चायत सकियो ।बहुदलसँगै कांग्रेस आयो । सबैले कांग्रेस कांग्रेस भने । सुविधाजनक बहुमत ल्यायो । तर, बहुमत हुँदैमा सही हुँदैन रहेछ भन्ने कुरा घटनाक्रमले पुष्टि गर्‍यो । त्यसपछि एमालेको हुइम् आयो । सबैभन्दा ठूलो पार्टीको रुपमा उदायो । सबै नागरिक एमालेपछि लागे । बिस्तारै एमाले पनि सेलायो । चुनावमा पानीको फोका भयो ।

गणतन्त्र स्थापनापछि माओवादी पनि सबैभन्दा ठूलो पार्टीको हैसियतामा देखिएकै हो । भन्नुको अर्थ चुनाव जित्दैमा सफल हुने र हार्दैमा असफल हुने भन्ने हुँदैन । पूँजीपति चुनावी व्यवस्था सफल–असफल निर्धारण गर्ने मानक होइन । 

मुख्य कुरा के हो भने माओवादी आन्दोलनले वैज्ञानिक विचारधारलाई ठीक तरिकाले समात्न सक्यो कि सकेन भन्ने हो । मार्क्सवादी विचारधारा नेता तथा कार्यकर्ताले आफ्नो जीवन दर्शनमा लागू गरे कि गरेनन् भन्ने महत्वपूर्ण हो । 

संसारमा अहिलेसम्म मुख्यगरी दुई फिलोसोफी छन्– समाजवादी र पूँजीवादी । समाजवादी दर्शन विज्ञानमा आधारित छ । वैज्ञानिक दर्शनअनुसार नै समाज रुपान्तरण हुन्छ । वैज्ञानिक समाजवादी दर्शन दिनप्रतिदिन अझ प्रगाढ रुपमा स्थापित हुँदै गइरहेको छ । पूँजीवादी सिद्धान्त भने दिनदिनै विस्थापित हुँदै गइरहेको छ । 

त्यसो भए नेपालमा कम्युनिस्ट आन्दोलन सफल भएको मान्नुहुन्छ ?

नेपालमा ७ दशकको छोटो अवधिमै व्यापक फैलियो । शिशु अवस्थामै रहेको कम्युनिस्ट दर्शनले हजारौँ वर्षदेखि समाजमा गहिरो जरो गाढेका समान्तवाद, पूँजीवाद, जात व्यवस्थालगायतलाई विस्थापित गर्‍यो, गर्दैछ । नेपाली धर्तीमा कम्युनिजमले बलियो धरातल निर्माण गरेको छ । यसलाई हामीले सही तरिकाले अगुवाई गर्न सक्यौँ–सकेनौँ, नेता तथा कार्यकर्ताले आफ्नो जीवनमा कति लागू गरे वा गरे–गरेनन् भन्ने एउटा बहसको विषय हो, तर विचारको तहमा हेर्दाखेरि छोटो समयमै कम्युनिजम स्थापित भएको छ । ठूलो जनमत यसप्रति प्रभावित भएको छ । यो दिनदिनै फैलिँदो अवस्थामा छ । 

बेला-बेला नेपालमा सच्चा कम्युनिस्टहरू नै छैनन् भन्ने भाष्य पनि पछिल्ला केही वर्षयता झन्‌झन्‌ पेचिलो बन्दै गइरहेको छ । सत्य हो ?

कम्युनिस्टहरूलाई कम्युनिस्ट विरोधीहरूले घेचपेच गरेर यस्तो भन्ने क्रम चलिरहन्छ । वैचारिक रुपमा कमजोर र पराजित मानसिकता भएका मान्छेहरूले यस्ता तर्कहरू गरिरहन्छन् । यसको न अर्थ छ न औचित्य ।


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x