समाज

फोहोर नउठ्दा दुर्गन्धित बन्यो काठमाडौँ उपत्यका

काठमाडाैँका प्रजिअ भन्छन् - आज रातिदेखि फोहोर उठ्छ

अतिन आचार्य |
चैत २७, २०७८ आइतबार १७:४ बजे

फाइल फोटो

काठमाडौँ- स्थानीय निर्वाचनको सम्मुखमा काठमाडौँ महानगरको चोक-चोकमा एक सातादेखि फोहोर थुप्रिन थालेको छ । स्थानीयले फोहोरको थुप्रोमाथि फोहोर थुपार्ना थालेपछि केन्द्रीय राजधानी फोहोरको केन्द्र जस्तै बनेको छ ।

एक साता भयो फोहोर नउठेको । महानगरबाट मात्रै होइन अन्य स्थानीय तहबाट पनि एक सातादेखि उपत्यकाको फोहोर उठ्न सकेको छैन ।


सिसडोलबासीको अवरोधका कारण काठमाडौँ उपत्यकाबाट पुनः फोहोर उठ्न छोडेको छ । स्थनीयबासीको एक सातादेखिको अवरोधका कारण उपत्यकाबाट फोहोर उठ्न नसकेको हो ।

वञ्चरे डाँडा र सिसडोलसम्मको केही सडक खण्ड निर्माण नहुँदा स्थानीयले अवरोध गरेकाले एक सातादेखि फोहोर उठाउन नसकिएको काठमाडौँ महानगरपालिकाकका वातावरण व्यवस्था विभागका प्रमुख सरिता राईले बताइन् ।

मुख्य सडकसँग सडकमार्ग जोड्न माग गर्दै स्थानीयले अवरोध गरेको उनले बताइन् । तीन पिप्लेको केही भागसम्म सडक निर्माण गर्नुपर्ने भएकाले ठेकेदारले समयमा नबनाउँदा समस्या भएको उनको भनाइ छ ।

'ठेकेदारले समयमा सडक बनाउन नसक्दा महानगरको फोहोर उठ्न सकेको हो,' राई भन्छिन्,' सडक निर्माणका लागि सडक विभाग पनि जिम्मेवार हुनुपर्छ ।' वार्ताको प्रयास भइरहेको उनले जानकारी दिइन् ।

शनिबार पनि स्थानीयले महानगरपालिकाको फोहोरको सवारीसाधन तोडफोड गरिदिएको उनले बताइन् ।

उपत्यकाको विभिन्न चोक-चोकमा फोहोर थुप्रिएका छन् । दैनिक १० हजार टन बढी उठने फोहोर सडकमा थुप्रिएका छन् । जसले गर्दा सडकमा चल्ने सवारीसाधन र पैदलयात्रुलाई सास्ती हुन थालेको छ ।

संक्रामक रोग विशेषज्ञ डाक्टर जनक कोइराला फोहोरका कारण विभिन्न रोग लाग्न सक्ने बताउँछन् । झाडापखलालगायत अन्य रोगहरू लाग्‍न सक्ने उनको भनाइ छ ।

हैजा, टाइफाइडलगायतका संक्रमण रोग फैलन सक्‍ने बताए  फोहोरमा देखिने झिंगाले खानामा बस्दा रोग सार्ने र ब्याक्टेरियाहरूको कारण गम्भीर रोगहरूसमेत फैलने उनले बताए ।

आज राति १२ बजेबाट फोहोर उठाउने तयारी भइरहेको काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।  सडक पिच नभएकाले  स्थानीयले अवरोध गरेको उनले बताए ।

'बिहान ८ बजेसम्म एकतर्फी सडकबाट फोहोर उठाउने सहमति भएको छ,' रिजालले भने,' आज मात्र काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयबासीसँग छलफल गरेका छौ ।' केही दिनमा उपत्यकाको सबै फोहोर उठिसक्ने उनको भनाइ छ ।

 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x