समाज

‘फोटो फिचर’

‘डियर मेयर, रानीपोखरीबाट पाठ नसिकेकोमा हामी लज्जित छौँ’

सुनीता साखकर्मी |
माघ २, २०७७ शुक्रबार १५:४५ बजे

काठमाडौं : कमलपोखरीको चारै कुना सुकेर चिराचिरा भए पनि बीचमा दलदल अझै बाँकी छ । सोही दलदले माटो अनुहारमा दलेर शुक्रबार सम्पदा बचाउ अभियन्ताहरूले सांकेतिक विरोध जनाएका छन् । 


सौन्दर्यकरण गर्ने नाममा काठमाडौं महानगरपालिकाले केही समयअघि कमलपोखरीको पानी सुकाएको थियो । त्यस्तै कमलपोखरीको साइज घटाउँदै कंक्रिटका संरचना धमाधम बनाउन थालेपछि अभियन्ताहरू रुष्ट बनेका थिए । उनीहरूले शुक्रबार हातमा प्लेकार्डसमेत बोकेका थिए । जसमा लेखिएको थियो– ‘डियर मेयर, रानीपोखरीबाट पाठ नसिकेकोमा हामी लज्जित छौँ ।’ 

२०७२ बैशाख १२ गतेको कम्पनले रानीपोखरीसँगै कमलपोखरीलाई पनि क्षति पुर्‍याएको थियो । महानगरपालिकाले रानीपोखरी पनि कंक्रिटकै बनाउन लागिसकेको थियो । सोही बेलामा अभियन्ताहरूले व्यापक विरोध जनाएपछि पुरानै शैली र स्वरुपमा निर्माण भएको थियो । 

अहिले रानीपोखरी कै नियति कमलपोखरीले भोगिरहेको छ । यहाँका माछा विक्रि गरी पानी सुकाइयो । केही माछा मृत अवस्थामा अझै पनि कमलपोखरीमा भेटिन्छन् । शुक्रबार विरोध कार्यक्रममा दौरानमा अभियन्ताहरूले मृत कछुवासमेत भेट्टाएका छन् । 

त्यस्तै कार्यक्रममा सहभागी हुन आएका ३ नं प्रदेश सभा सदस्य विराजभक्त श्रेष्ठले पनि कमलपोखरीको डिलमा उभिएर आक्रोश पोखे । उनका अनुसार महानगरपालिकालाई कंक्रिट मोह छ । पुरानो शैली र सम्पदा मासेर नयाँ नै बनाउने हो भने पुरै काठमाडौं नै कंक्रिटले बनाइदिए हुने उनले बताए । 

‘यदि पैसा कै कुरा हो भने पैसा नै बाँडिदिनुस्, तर हाम्रो ठाउँलाई नचलाउनु,’ उनले महानगरका मेयर विद्यासुन्दरलाई प्रश्न सोध्दै भने, ‘हामी कति लड्ने ? हामी विकासविरोधी, बौलाहा हो र ? हामीलाई डलरे भन्छ, कसरी ? यहाँ माछा, कछुवा मरेको छ, कस्तो विकास हो यो ?’ 

परम्परागत हिटि तथा पोखरी संरक्षणविज्ञ सुशील श्रेष्ठले ‘प्राकृतिक सीमसार क्षेत्रलाई सुकाउने काम राम्रो नभएको’ बताए । ‘भोलि पानी अडिएन भनेर यहाँ ढलान गरिदिन बेर लाग्दैन,’ उनी भन्छन्, ‘प्राकृतिक सीमसार क्षेत्र मास्ने कामको विरोध गर्नुपर्छ । यो जस्तो थियो, त्यस्तै पुनःनिर्माण गर्नुपर्छ ।’ 

तस्बिरहरू :सुनिल महर्जन 
 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x