समाज

कर्णालीमा ४० हजार क्वीन्टल खाद्यन्‍न ढुवानी गरिँदै

लक्ष्मी भण्डारी |
पुस २, २०७८ शुक्रबार १४:४० बजे

सुर्खेत– चालु आर्थिक वर्षमा कर्णालीका जिल्लाहरुमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४० हजार क्वीन्टल बढी खाद्यान्न ढुवानी गर्दैछ । कम्पनीले चालु आर्थिक बर्षमा ४० हजार सात सय क्विन्टल चामल ढुवानी गर्नुपर्नेछ ।

कम्पनीका प्रादेशिक प्रमुख माधव मिश्रले आवश्यकताअनुसार थप पनि ढुवानी हुन सक्ने जानकारी दिए । कम्पनीले कर्णाली प्रदेशका सात जिल्लामा चामल ढुवानी गर्न १७ वटा ढुवानीकर्तासँग सम्झौता गरेको हो ।


कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ का लागि खाद्यान्न ढुवानी गर्न सार्वजनिक खरिद ऐनबमोजिम न्यून कबोल अङ्कमा प्रस्ताव पेश गर्ने ती ढुवानीकर्तासँग सम्झौता गरेको हो । वार्षिक कार्ययोजनामा दसैँ अगावै ढुवानी सम्झौता गर्नुपर्ने भए पनि सार्वजनिक खरिद ऐनका सबै प्रक्रिया पूरा गर्दा लामो समय लाग्ने खाद्य कम्पनीको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ ।

खाद्यान्न ढुवानी गर्न ढुवानीकर्तालाई सबैभन्दा कम दैलेखमा तीन दिन र सबैभन्दा बढी हुम्लामा ३० दिनको बाटो म्याद दिइएको छ । यो वर्ष हुम्लामा ११ हजार सात सय, मुगुमा १० हजार दुई ५०, जुम्लामा तीन हजार, डोल्पामा आठ हजार दुई ५०, कालीकोटमा दुई हजार आठ सय, दैलेखमा दुई हजार र जाजरकोटमा दुई हजार सातसय क्विन्टल चामल ढुवानी गर्नेछ ।

कम्पनीका प्रादेशिक कार्यालय प्रमुख मिश्रले सुर्खेत विमानस्थल बन्द भएका कारण नेपालगन्ज विमानस्थलबाट हुम्लामा चामल ढुवानी भएको जानकारी दिए ।ढुवानीकर्ताले न्यून मूल्यमा ठेक्का पार्ने र आफू अनुकूलको समयमा ढुवानी गर्ने गरेका कारण हिमाली तथा उच्च पहाडी जिल्लामा समयमै चामल ढुवानी हुन नसकेको उनको भनाई थियो ।

खाद्य कम्पनीले कर्णालीका हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालीकोट, दैलेख र जाजरकोट जिल्लाका ३३ वटा बिक्री केन्द्रबाट सहुलियत दरमा चामल बिक्री वितरण गर्दै आएको छ । सुर्खेतको प्रादेशिक गोदामबाट ती केन्द्रमा चामल ढुवानी गर्न बोलपत्र स्वीकृत भएका १७ मध्ये १५ ढुवानीकर्ता कम्पनीले काम थालिसकेको बताइएको छ । कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतका अनुसार, हवाई मार्गबाट ढुवानी गर्न सिम्रिक एअर कार्गो प्रालिसँग सम्झौता गरिएको छ भने बाँकीले स्थलमार्गबाट ढुवानी गर्दैछन् ।


Author

थप समाचार
x