समाज

कैलाली घटना अनुसन्धानका लागि सीआइबीको टोली धनगढी पुग्यो

दीपक उपाध्याय |
कात्तिक २९, २०७८ सोमबार १५:५२ बजे

कैलाली – कैलालीमा भूपेन्द्र बडुवालको हत्या घटनाबारे थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली धनगढी पुगेको छ । घटना भएको एक सातापछि प्रहरी निरीक्षकको नेतृत्वमा खटाइएको दुईजनाको टोली धनगढी पुगेको हाे ।

बडुवालको हत्या गर्नुको कारण पक्राउ परेकाहरूबाट नखुलेपछि सीआइबीको टोली धनगढी पुगेको हो । प्रहरीले अहिलेसम्म हत्याको कारण पत्ता लगाउन सकेको छैन। टोली धनगढी पुगेको र सोमबार नै घटनास्थल पुगेर अनुसन्धान थाल्ने जिल्ला प्रहरी कर्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए । 


मंगलबार राति लम्कीचुहा नगरपालिका १ का २२ वर्षीय भूपेन्द्र बडुवालको टीकापुर नगरपालिका १ पशुहाटबजारनजिकै हत्या गरिएको थियो। हत्यामा संलग्न भएको आरोपमा प्रहरीले अहिलेसम्म नौ जनालाई पक्राउ गरिसकेको छ । अझै पुख्य आरोपित नवीन रावलसहित सात जना फरार रहेका छन् । 

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ चिसापानीका २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय किशोर, टीकापुर नगरपालिका–१ का २३ वर्षीय प्रविन रिमाल, २१ वर्षीय रोहित आले र २६ वर्षीय सोहन शाह छन् । हत्याको भोलिपल्टै प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा प्रहरीले आइतबार लम्कीचुहा–५ का विकास खड्कालाई पक्राउ गरेको हो ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x