समाज

सेनाका मेजरले मदिरामा लट्ठ भएर वितण्डा मच्चाएपछि चिसापानी तनावग्रस्त

दीपक उपाध्याय |
कात्तिक २३, २०७८ मंगलबार ११:५० बजे

कैलाली- नेपाली सेनाका मेजर मदिरामा लट्ठ भएर वितण्डा मच्चाएपछि कैलालीको चिसापानी क्षेत्र तनावग्रस्त बनेको छ । चिसापानी वरपर व्यवसाय गर्नेहरु कोही पनि बोल्न मानिरहेका छैनन् ।

आइतबार राति लम्किचुहा नगरपालिका-३ गोरंगेस्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना शिक्षालयमा कार्यरत मेजर अशोकजंग सिंहले मदिरामा लट्ठ भई चिसापानीमा रहेको संगम होटेलमा हो हल्ला र गाली गलौच गरेपछि उत्पन्‍न भएको परिस्थितिले चिसापानी क्षेत्र तनावग्रस्त भएको हो ।


होटल संचालक हर्क रावलका छोरा महेश रावलले आइतबार राति पारिवारिक जमघट भैरहेको बेला मदिराले मातेका मेजर सिंह पछाडिको ढोकाबाट घरभित्र प्रवेश गरि गाली गलौच गर्नुका साथै हो हल्ला गरेको बताए । उनले त्यसो नगर्न आग्रह गर्दा मेजरले उल्टै हातपात र सुन्‍नै नसकिने गाली गलौच गरेको बताए । 

मेजर सिंहसंगै सादा पोशाकमा रहेका अन्य दुईजनाले डिउटीमा रहेका सेनाका जवानलाई निजी गाडीमा हतियारसहित लिएर आएपछि स्थिति निकै तनावपूर्ण भयो । होटल संचालक रावलले मेजरले हतियार लिइ ताक्न खोजेपछि त्यहाँ जम्मा भएको भिडले हतियार खोस्‍नुका साथै मेजरको गाडीमासमेत तोडफोड गरेको बताए । उनले हतियार नखोसेको भए स्थित जे पनि हुन सक्ने बताए । 

मेजरको उक्त गतिविधि बारे राति नै नजिकै रहेको इलाका प्रहरी कार्यालयलाई खबर गर्दा कुनै सुनुवाइ नभएको रावलले बताए । आक्रोशित भिडले मेजर सिंहको निजी कार बाग्मती प्रदेश ०१-०२६  च ३४६१ नम्बरको डस्टर गाडी तोडफोड गरेका छन् । उनीहरूले ईलाका प्रहरी कार्यालयको झ्यालका सिसासमेत तोडफोड गरेका छन ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतिक बिष्टले मेजरको मेडिकल जाँच पश्‍चात सेनाको जिम्मा लगाएको बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x