समाज

पहिरोले डडेल्धुरा-दीपायल सडक अवरुद्ध, भीरबाट हिँड्न थाले यात्रु

दीपक उपाध्याय |
कात्तिक ५, २०७८ शुक्रबार १७:४१ बजे

सडक अवरुद्ध भएपछि जोखिमपूर्ण भीरमा पैदल हिँडेर गन्तव्यमा जाँदै यात्रुहरू ।

कैलाली - अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण पाँच दिनदेखि अवरुद्ध डडेल्धुराको स्याउले–दीपायल जोड्ने डाक्टर केआइसिंह सडक सञ्चालनमा आउन अझै केही दिन लाग्ने भएको छ । डडेल्धुरा–दीपायल जोड्ने डाक्टर केआइसिंह सडकको गन्यापधुरा गाउँपालिका २ रडुवा सरियामा पहिरोले करिब २ सय मिटर सडक भत्काएपछि आवागमनमा ठप्प भएको हो । 

डडेल्धुरा–दीपायल जोड्ने डाक्टर केआइसिंह मार्गमा बाढी र पहिरोले पुर्‍याएको क्षति तत्काल मर्मत संभार गर्न संभव नभएका कारण डडेल्धुरासंग सडक मार्गबाट जोडिन डोटी, अछाम र बाजुरालाई अझै केही दिन लाग्ने जिल्ला प्रशासन कार्यालय डडेल्धुुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । 


उनले डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका २ रडुवामा सडक नै भासिएका कारण सवारीसाधन र पैदल यात्रुहरु समेतलाई हिडडुल गर्न समस्या भएको बताउदै सडक डिभिजन कार्यालयलाई छिटोभन्दा छिटो सडक संचालन गर्न निर्देशन दिएको बताए । 

गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवल बहादुर मल्लले डोटी तिरबाट सकायल सम्म सडक क्लियर भैसकेको बताउदै बाटो भत्किएको स्थान रडुवासम्म स्काइभेटर पुर्‍याउनै समस्या भैरहेको बताए । 

डोटी लगायत अछाम हुँदै बाजुरासम्म यात्रामा ननिस्कन अनुरोध गर्दै अध्यक्ष मल्लले अबको ४र५ दिन भित्रमा बाटो क्लियर हुने बताए । 

सडक डिभिजन कुलपाले दीपायलका इन्जिनियर योगेन्द्र अधिकारीले सडक शुचारु गर्न अस्थायी रुपमा नयाँ कटिङ गर्नुपर्ने भएकोले केही समय लाग्ने बताए ।
 


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x