समाज

काठमाडौँ महानगरको ‘सिप मेला’ : २०८१ जनालाई तालिम दिने लक्ष्य

इकागज |
बैशाख ४, २०८१ मंगलबार ९:४८ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले वैशाख १९ गतेदेखि टुँडिखेलमा आयोजना गर्ने १ महिने ‘सिप मेला’ (छोटो अवधिको व्यवसायिक सिप प्रशिक्षण)का लागि नेपाल तालिम तथा रोजगारी व्यवसायी महासंघ (एफ–पीटीइएन)सँग सहकार्य गर्ने भएको छ । तालिम सञ्चालन र व्यवस्थापनमा महासंघले काम गर्ने गरी सामाजिक विकास विभाग र महासंघबीच सम्झौता भएको हो ।

सम्झौतामा विभागका निमित्त प्रमुख बिमला कोइराला र महासंघका वरिष्ठ उपाध्यक्ष प्रमोदकुमार बानियाँले हस्ताक्षर गरेका छन् । बैशाख १९ गतेदेखि टुँडिखेलमा आयोजना हुने ‘सिप मेला’ बाट १० क्षेत्रका ३६ पेशा सम्बन्धी २०८१ जनालाई तालिम दिने लक्ष्य राखिएको छ ।


महासंघका बागमती प्रदेशका सचिव राजन लोहनीकाअनुसार देशभरिका ४५० वटा र बागमती प्रदेशमा १५० वटा तालिम प्रदायक संघसंस्था महासंघमा आवद्ध छन् । महानगरपालिकाको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ अन्तर्गत सिप मेला हुन लागेको हो । 

सम्झौता बमोजिम तालिमका प्रशिक्षक, आवश्यक पर्ने सामग्री तथा उपकरण व्यवस्थापन गर्ने, प्रयोगात्मक प्रदर्शनी गर्ने दायित्व महासंघको हुनेछ । महानगरपालिकाले स्वीकृत गरेको पाठ्यक्रममा तालिम सञ्चालन हुनेछ । तालिम सकिएपछिको दस्तावेज महानगरपालिकालाई बुझाउनु पर्नेछ । यो सम्झौता ज्येष्ठ मसान्तसम्मका लागि हो । 

हस्ताक्षरपछिको प्रतिक्रियामा विभागका निमित्त प्रमुख कोइरालाले भने, ‘मेलाले, छरिएर रहेको सिपलाई एकीकृत गर्ने र सिप भएका व्यक्तिलाई रोजगारदाताको पहुँचमा पुर्‍याउने लक्ष्य पूरा गराउन मद्दत गर्नेछ ।’ कोइरालाका अनुसार १८ बर्ष उमेर पूरा भएका ५८ बर्षसम्म उमेर समूहका व्यक्तिले तालिममा सहभागी हुन आवेदन दिन सक्नेछन् । 

सिप मेलाबाट रोजगारको सम्भावना आफैँभित्र छ भन्ने सन्देश दिन खोजिएको हो । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले, तालिमबाट अनौपचारिक क्षेत्रको अर्थतन्त्र औपचारिकतामा रुपान्तरण हुने अपेक्षा रहेको बताए । 

कार्यक्रमका फोकल पर्सन शान्ता पहाडीकाअनुसार, कार्यक्रमअन्तर्गत अहिले डिजिटल मार्केटिङ्, सफ्टवेयर डिभलपमेन्ट, व्युटिसियन, अकाउन्टिङ्लगायत तालिम भइरहेका छन् । १५ हजार व्यक्तिलाई रोजगारमूलक तालिम दिएर ५ हजार व्यक्तिलाई प्रत्यक्ष रोजगार तथा स्वरोजगार बनाउने लक्ष्यसहित कार्यक्रम कार्यान्वयनमा आएको हो । 

तालिमका क्षेत्र र पेशा
तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएका छन् । रोजगार संयोजक देवेन्द्र केसीका अनुसार यी क्षेत्रभित्र ३६ प्रकारका पेशागत तालिम हुनेछन् । मागका आधारमा थप क्षेत्र र पेशा थप गर्ने महानगरपालिकाको योजना छ । 
अहिले तर्जुमा गरिएका तालिमका क्षेत्रहरूमध्ये हलुका सवारी साधन एउटा हो । यसमा अटो इलेक्ट्रिक, अटो डेन्ट पेन्ट, अटो एअर कन्डिसन प्रशिक्षण राखिएका छन् । विद्युतीय सवारी साधनमा मोटरवाइक र स्कुटर रिपेयर, इलेक्ट्रिकल कार रिपेयर तालिम हुनेछन् । 

दोस्रो निर्माण क्षेत्र हो । यसमा सिकर्मी, टाइल एण्ड मार्वल फिटर र इलेक्ट्रिसियन तालिम हुनेछन् । यस्तै प्लम्बिङ्मा वाटर प्युरिफिकेसन टेक्निसियन, सोलार फिटिङ् टेक्निसियन, बोरिङ् वाटर टेक्निसियन, अल्मुनियम फेब्रिकेटर, वेल्डिङ् तालिम समावेश छन् ।   

हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधा तेस्रो हो । यसमा वारिस्ता, चाइनिज, इन्डियन र कन्टिनेन्टल फुड, वेकरी र वार टेन्डिङ्को प्रशिक्षण हुनेछ । सूचना प्रविधि चौथो क्षेत्र हो । यसमा डिजिटल मार्केटिङ्, ग्राफिक्स डिजाइनिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ्, सीसीटिभी क्यामरा जडान तथा मर्मत, मोबाइल रिपेयरिङ्को तालिम हुनेछ । 

मेकानिकलमा रेफ्रिजेरेटर र एसी टेक्निसियनको तालिम हुनेछ । आर्ट एण्ड कल्चरमा आर्ट एण्ड स्कप्चरको प्रशिक्षण हुनेछ । यी क्रमशः पाँचौँ र छैटौँ क्षेत्र हुन् । 
सातौँ क्षेत्र टेलरिङ् हो । यसमा गार्मेन्ट फेब्रिकेटर र फेसन डिजाइनिङ्कको कक्षा हुनेछ ।

आठौँ क्षेत्र व्युटिसियन हो । यसमा नेल, मेक अप, आइलेस, हेअर कट एण्ड स्टाइल, माइक्रो व्लान्डिङ् प्रशिक्षण हुनेछ । नवौँ क्षेत्र इन्टेरियर डिजाइनिङ् हो । यसमा प्लटिङ एण्ड लेजर कटिङ्, साइन मेकिङ्, स्क्रिन प्रिन्टिङ्को प्रशिक्षण हुनेछ । 

दशौँ विधा ग्रीन सोलुसन हो । यसमा रिकाइकल फ्लेक्स इनटु स्कूल व्याग टे«निङ्, क्यान्भास व्याग्स, पोउच मेकिङ्, प्लाष्टिक रिसाइक्लिङ् लगायतका तालिम हुनेछन् ।

तालिमको अन्तिम दिन रोजगार मेला हुनेछ । केसी रोजगारदाताहरू स्टलमा रहनेछन् । त्यस क्षेत्रसँग सम्बन्धित तालिम प्राप्त व्यक्तिहरू उहाँहरूको सम्पर्कमा गएर आफ्नो सिपका बारेमा बताउनेछन् । यही ठाउँबाट धेरै बेरोजगारले रोजगार पाउनेछन् । रोजगारदाताले सिपयुक्त जनशक्ति प्राप्त गर्नेछन् । 


Author

थप समाचार
x