समाज

यामाहाको स्पेयर पार्ट शोरुममा आगलागी, ६ करोड बढीको क्षति

इकागज |
चैत १३, २०८० मंगलबार १६:५४ बजे

रौतहट- रौतहट जिल्लाको मध्य भागमा रहेको गरुडास्थित यामाहा कम्पनीको स्पेयर पार्ट शोरुम कुशवाहा इन्टरप्राइजेजमा गएराति भएको आगलागीबाट ६ करोडको क्षति भएको छ ।

गरुडास्थित चिनी मिल गेट अगाडि रहेको कुशवाहा इन्टरप्राइजेजमा राति करिब १२ बजे आगलागी भएको थियो । सोमबार रौतहटमा होली पर्व मनाइएकाले बिहानैदेखि उक्त पसल बन्द गरेर सञ्चालक दिलीप कुशवाहा होली मनाउन घर गएका थिए । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओम प्रकाश खनालका अनुसार पसल रहेको तीनतले घरबाट आगोको मुस्लो हेरेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।


विभिन्न ठाउँबाट आएको दमकल, स्थानीय र नेपाल प्रहरी सशस्त्र प्रहरीको सक्रियतामा आज बिहान पौने तीन बजे आगलागी नियन्त्रणमा लिएको डिएसपी खनालले जानकारी दिएका छन् । पीडित सञ्चालक सञ्चालक दिलीप कुशवाहाका अनुसार शोरुममा रिपेयर गरी राखेको डेढ दर्जन मोटरसाइकल, ठूलो परिमाणमा यामाहा कम्पनीको स्पेयर पार्ट्स पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

आगलागीबाट घरमा समेत ६ करोडभन्दा बढीको क्षति भएको पीडित कुशवाहाले बताएका छन् । सोही घरमा रहेको यामाहा मोटरसाइकलको शोरुम केही दिन अघि मात्र अन्यत्र सारिएको थियो । डिएसपी खनालले जिल्लामै सबैभन्दा ठूलो स्पेयर पार्टसको शोरुम उक्त पसल नै रहेको थियो ।

आगलागीको कारण खुल्न नसके पनि विद्युत् सर्ट भएर हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।


Author

थप समाचार
x