समाज

पाथीभरामा केबलकार निर्माणका लागि सहजीकरण गर्न निजी क्षेत्रको माग

इकागज |
चैत १, २०८० बिहीबार १५:९ बजे

ताप्लेजुङ- पाथीभरा (मुकुमलुङ) मा निर्माण हुन लागेको पाथीभरा केबलकार आयोजना सहज रूपमा अघि बढाउने वातावरण निर्माणका लागि निजी क्षेत्रका प्रतिनिधिहरूले माग गरेका छन् । पाथीभरा मुकुमलुङ केबलकार निर्माणका सम्बन्धमा साझा धारणा बनाउन र निर्माणलाई सहज रूपमा अघि बढाउन सम्बद्ध क्षेत्र तथा निकायसमक्ष उनीहरूले माग गरेका हुन् । 

आज ताप्लेजुङ उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, निर्माण व्यवसायी संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै पाथीभरामा केबलकार निर्माणका लागि सम्बद्ध सरोकारवाला निकाय एवं स्थानीय तथा प्रदेश सरकारसमक्ष सहजीकरणका लागि आग्रह गरेका छन् ।


'ताप्लेजुङमा स्थापित पाथीभरा मुकुमलुङ सबैको साझा आस्थाको धरोहर हो । सबै धर्म र जातजातिको आस्थाको केन्द्रका रूपमा रहेको यस शक्तिपीठमा नेपालको मात्र नभएर छिमेकी मुलुक भारत तथा विभिन्न मुलुकहरूबाट समेत दर्शन तथा पूजाका लागि आउने गरेको तथ्य हामी सबैमा सर्वविदितै छ,' विज्ञप्तिमा भनिएको छ, 'विगत केही वर्षदेखि पाथीभरा मुकुमलुङको धार्मिक पर्यटनमार्फत ताप्लेजुङको अर्थतन्त्र चलायमान भएको हामीले प्रत्यक्ष रूपमा अनुभूत गरेका छौँ । अहिले सो क्षेत्रमा बर्सेनि करिब तीन लाख भक्तजन आउने गरेका छन् ।' 

निजी क्षेत्रले पर्यटकको सङ्ख्यामा गुणात्मक वृद्धि गरी ताप्लेजुङमा व्यावसायिक अवसरहरूको सिर्जना गर्नु अत्यन्तै जरुरी भएको उल्लेख गरेको छ । ताप्लेजुङमा केबलकार सञ्चालनमा आएपछि जिल्लाको अर्थतन्त्र चलायमान हुने र रोजगारीलगायतका विभिन्न अवसर सिर्जना हुनेछ यहाँका निजी क्षेत्रको भनाइ छ । 

केबुलकारमार्फत जिल्लामा लगानी भित्रिने उल्लेख गर्दै निजी क्षेत्रले अर्बौं रुपैयाँको लगानीमा निर्माण हुन लागेको पाथीभरा मुकुमलुङ केबलकारमार्फत जिल्लाको आर्थिक विकासमा ठूलो योगदान हुनेमा विश्वास व्यक्त गरेका छन् । 

केबलकारबाट स्थानीयस्तरमा रोजगारी तथा स्वरोजगारीको सिर्जना हुने, जिल्लाको पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने र अन्य पर्यटकीय गन्तव्यको विकास र प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।

यस्ता गौरवका योजनामा सबै पक्ष जिम्मेवार भई सहजीकरण गर्नुपर्ने र शान्तिसुरक्षाको प्रत्याभूतिसहित वार्ता तथा संवादका माध्यमबाट राज्यको तर्फबाट लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने निजी क्षेत्रको धारणा छ । 

निजी क्षेत्रले पाथीभरामा केबलकार निर्माणको वातावरण बनाई समृद्ध ताप्लेजुङको सम्भावनामा एउटा इँटा थप्न जिल्लाका प्रतिनिधिमूलक संस्थाहरूका तर्फबाट अपिल गरेको छ । 

यसअघि ताप्लेजुङको जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको संयोजकत्वमा वार्ता गरी सहजीकरण गर्न एक समिति गठन भएको थियो । उहाँले यस आयोजनाबाट स्थानीय नागरिकले प्रत्यक्ष लाभ लिनसक्ने भएकाले स्थानीयसँग समझदारी जुटाएर अघि बढ्नुपर्ने जोड दिँदै आएका छन् । 

फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले पनि केबलकार परियोजना निर्माण  जिल्लावासीको हितमा रहेको बताएका छन् । उनले मुलुकका धेरै क्षेत्रतिर अहिले धमाधम पर्यटन पूर्वाधार निर्माण भइरहेकाले मुलुककै प्रसिद्ध धार्मिक पर्यटकीय स्थलमा केबलकार बन्न लागेको काममा सहयोग गरी अगाडि बढ्नुपर्ने बताउँछन् । 

केबलकार निर्माणले ताप्लेजुङ मात्र नभएर छिमेकी पाँचथर, इलाम जिल्लाको पनि उन्नति हुने तथा प्रसिद्ध कञ्चनजङ्घा जाने पदयात्रीको पनि बाटो छोटो हुने भएकाले आन्तरिक धार्मिकका अतिरिक्त विदेशी पर्यटक ल्याउन सहयोग पुग्ने स्थानीयको भनाइ छ । 

केबलकार निर्माणपछि विदेशी पर्यटकका लागि कञ्चनजङ्घाको पदमार्ग थप सजिलो हुनुका साथै भारतका पश्चिम बङ्गाल, दिल्ली र विहारलगायत क्षेत्रबाट पर्यटक भित्र्याउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस


Author

थप समाचार
x