समाज

आयुर्वेद उपचारप्रति भक्तपुरवासीको विश्वास बढ्दो

इकागज |
माघ १४, २०८० आइतबार २०:११ बजे

फाइल तस्बिर

भक्तपुर- आवुर्वेद स्वास्थ्य उपचारप्रति भक्तपुरवासीको विश्वास बढ्दै गएको पाइएको छ । त्यसमा पनि पुरुषको तुलनामा महिलाको विश्वास बढी देखिएको हो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको तथ्यांकअनुसार केन्द्रबाट उपचार पाउनेहरूको संख्या पुरुषको तुलनामा महिला बढी रहेका छन् । केन्द्रबाट चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कूल ४२ हजार आठ सय २८ जनाले सेवा पाएका छन् । त्यसमध्ये महिला २४ हजार चार सय ४३ र पुरुष १६ हजार ६ सय ४० रहेका छन् । यो संख्या पुरुषको तुलनामा महिला झण्डै ८ हजारले बढी हो ।  


केन्द्रले गरेको पहिलो ६ महिनाको प्रगति विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ । सम्मेलनमा केन्द्रका प्रमुख डाक्टर नरेन्द्रप्रसाद गिरीले आयुर्वेद स्वास्थ्यप्रति भक्तपुरवासीको विश्वास बढ्दो रहेको बताए । यही कारण केन्द्रमा आएर उपचार गर्न आउनेहरूको संख्या वार्षिक रूपमा बढिरहेको उनको भनाइ छ ।

केन्द्रमा आयुर्वेद पद्धतिका विविध सेवा रहेका छन् । त्यहाँ अकुपञ्चर, पूर्वकर्म सेवा, योग, नसर्ने रोगको स्क्रिनिंग, स्वास्थ्य जीवन प्रवर्द्धनलगायतका सेवा रहेका छन् ।

केन्द्रमा निःशुल्क उपचार हुने गरेको छ । स्वास्थ्य परीक्षणपछि झण्डै २६ थरीको औषधि निःशुल्क उपलब्ध हुँदै आएको उनले बताए । 

कार्यक्रमकी प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले आयुर्वेद उपचारप्रति जिल्लावासीको विश्वास बढेको सुन्दा खुसी लागेको बताइन् ।


Author

थप समाचार
x