समाज

प्रदेशलाई कुपोषणमुक्त बनाउने अभियान सञ्चालन गरिने

सुभाष कर्ण |
कात्तिक २३, २०८० बिहीबार २१:३७ बजे

जनकपुरधाम- मधेश प्रदेशलाई 'पूर्ण सुरक्षित मातृत्व प्रदेश', पूर्णखोप युक्त प्रदेश' कुपोषणमुक्त प्रदेश बनाउने अभियान सञ्चालन हुने भएको छ । बिहीबार स्वास्थ्य निर्देशनालयद्वारा आयोजित आर्थिक वर्ष २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठीमा सरोकारवालाहरूले यस्तो जनाएको हो ।

कार्यक्रममा स्वास्थ्य महाशाखाले प्रदेशलाई 'पूर्ण सुरक्षित मातृत्व प्रदेश', पूर्णखोप युक्त प्रदेश' कुपोषणमुक्त प्रदेश बनाउन सरकार प्रतिबद्ध रहेकाले चाँडै नै घोषणा गरी अभियान सञ्चालन गरिने बताए । 'निर्देशनालयका निर्देशक राजीव झाले स्वास्थ्य अवस्थामा धेरै सुधार आए पनि अझै पनि धेरै काम गर्न बाँकी रहेको छ, जसको हामी कार्यक्रममा समीक्षा गरी स्थानीय तहबाट समस्याको तथ्यांक संकलन गरी सोही अनुसार योजना तयार पारी अघि बढ्नेछौं,' उनले भने । 


कार्यक्रममा जेष्ठ नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारी अस्पतालहरूमा विरामी दर्ता गर्दा शुल्क नलाग्ने तथा प्रदेश जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक अस्पतालहरूमा परीक्षण गराउदा लाग्ने शुल्कमा ९०% प्रतिशत छुट प्रदान गर्ने, बाल अस्पताल सञ्चालनका लागि संघीय सरकारसँग पहल गर्ने लगायतका योजनाहरू प्रस्ताव गरिएको छ । 

साथै किटजन्य तथा उष्णप्रदेशीय रोगहरू (मलेरीया, फाईलेरीया, कालाजार, क्षयरोग, कुष्ठरोग डेंगी आदि) लगायतका रोगको रोकथाम, नियन्त्रण एवं निवारणका लागि प्रभावकारी कार्यक्रमहरू स्थानीय/समुदाय स्तरसम्म सञ्चालन, स्वास्थ्य सेवालाई थप विस्तार गर्न मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नाराका साथ पालिकाको समन्वयमा नागरिक आरोग्य सेवाकेन्द्र स्थापना गरि 'स्वस्थ नागरिक समृद्ध प्रदेश'को अभियान सञ्चालन गरिने प्रस्ताव समेत गरिएको छ । 

सो कार्यक्रममा गत आर्थिक वर्षमा प्रदेश सरकारबाट स्वास्थ्य क्षेत्रमा भएका कामहरू बारेमा समीक्षा गरिएको छ । तीन दिनसम्म चल्ने सो समीक्षा गोष्ठीमा स्थानीय तहका स्वास्थ्य कर्मचारीहरूको सहभागिता रहेको थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x