समाज

धनगढीमा आयोजना हुने विभिन्न कार्यक्रमले सहिदको अपमान भएको स्थानीयकाे आरोप

इकागज |
असोज २०, २०८० शनिबार १४:२० बजे

कैलाली- धनगढीमा आयोजना हुने विभिन्न कार्यक्रमले सहिदको अपमान भएको स्थानीयले आरोप लगाएका छन् ।

अमर सहिद दशरथ चन्दको सम्झनामा धनगढी उपमहानगर-४ मा निर्माण भएको सहिद गेटमा कार्यक्रम आयोजकले आफ्नो प्रचारप्रसार सामग्री राखेर गेट निर्माण गरिँदा सहिदको अपमान भएको स्थानीय नरेश चन्दले बताए । 


सहिदको सम्झनामा निर्माण गरिएको उक्त गेटमा यसरी गेट नै छोपेर प्रचारप्रसार सामग्री निर्माण गर्न कसले अनुमति दियो भन्दै उनले स्थानीय प्रशासनले उक्त प्रचारप्रसार सामग्री तुरुन्तै हटाउनु पर्ने बताए । 

भोलिदेखि आयोजना हुन गइरहेको नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनको समेत प्रचारप्रसारका लागि सहिद गेट छोपिने गरी गेट निर्माण गरिएको छ ।

केही दिनअघि धनगढीमा सम्पन्न भएको हार्डवेयर एक्स्पोले समेत सहिद गेटमा कार्यक्रमको गेट निर्माण गरेको थियो ।


Author

थप समाचार
x