समाज

श्रम सचिव भण्डारीलाई प्रश्‍न

विदेशमा मृत्यु भएका आफन्तले बढेको रकम कहिलेदेखि पाउँछन् ?

'१० देखि १५ लाख पुर्‍याउने गरी गृहकार्य गरिरहेका छौं'

अतिन आचार्य |
साउन २५, २०८० बिहीबार १५:३८ बजे

फाइल तस्बिर

काठमाडौँ- सरकारले वैदेशिक रोजगारीमा पुगी ज्यान गुमाएका नेपाली कामदारका आफन्तको परिवारले पाउने राहत रकम बढाउने तयारी गरेको छ । वैदेशिक रोजगार बोर्डले श्रम स्वीकृतिको अवधिमा कामदारको गन्तव्य देश पुगी मृत्यु भएमा नेपाली श्रमिकले पाउँदै आएको राहत रकम बढाउने निर्णय गरेको छ ।

राहत रकम निर्धारण गर्न श्रम  रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीको नेतृत्वमा अध्ययन समिति गठन भएको छ ।


हाल वैदेशिक रोजगारीमा पुगी ज्यान गुमाएका आफन्तले सात लाख रुपैयाँ पाउँदै आएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारको नियमावली परिवर्तन गरेर राहत रकम वृद्धि गर्न लागेको छ ।

श्रम गरेर रोजगार गन्तव्यमा पुगेका नेपाली कामदारको मृत्यु भएमा हाल मृतकका परिवारले सात लाख रुपैयाँ पाउँदै आएका छन् । राहत रकम पुरानो भएकाले त्यो रकममा वृद्धि गर्ने योजना बनाउँदै लगिएको श्रम सचिव भण्डारी बताउँछन् ।

उनका अनुसार विदेशमा मृत्यु भएका मृतकका परिवारले २०६७ सालदेखि सात लाख रुपैयाँ पाउँदै आएका छन् । समसामयिक रुपमा यसलाई बढाउने योजना छ । हालको रकम पुरानो भयो । कामदारको योगदान अनुसार मृतकका आफन्तले पाउँदै आएको रकम कम भएको छ ।

‘मृतकका आफन्तले १० लाख मात्र नभइ १५ लाख रुपैयाँ पाउनुपर्छ भनेर छलफल चलाइरहेका छौं,’ सचिव भण्डारीले इकागजलाई भने, 'बढाउने निर्णय भइसक्यो । राहत रकम बढाउने व्यवस्था नियमावलीमा छ । त्यसका लागि अभ्यास भइरहेको छ । बढाउने निर्णय भइसकेको छ । अन्तिम निर्णय मन्त्रिपरिषदले गर्नेछ ।'

वैदेशिक रोजगारमा जानेले कति योगदान गर्ने र कति बढ्ने त्यस अनुसार राहत रकम वृद्धि हुने भण्डारीले बताए । उनका अनुसार हाल खाडी मुलुक जाने कामदारले  बीमा वापत १५ सय र कोरिया जानेले २५ सय रुपैयाँ तिर्ने गरेका छन् ।

मृतकका आफन्तले बढेको राहत रकम कहिलेदेखि पाउँछन् भन्ने इकागजको प्रश्नमा सचिव भण्डारी भन्छन्, 'केही महिनाभित्र यो व्यवस्था लागू हुन्छ । नियमावली संशोधनको प्रक्रिया अगाडि बढिसकेको छ । निर्णय भएको मितिदेखि पाउँछन् । अर्थ मन्त्रालय, कानुन मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयसँग सल्लाह लिनुपर्छ । संशोधनको ड्राफ्ट तयारी भएपछि छलफलका लागि जान्छौ । छलफलपश्चात हामीले मन्त्रिपरिषदमा लैजान्छौ र मन्त्रिपरिषदबाट निर्णय भएपछि लागू हुन्छ ।‘

श्रम अवधि सकिएर मृत्यु भएका आफन्तले पाउने रकम पनि बढाउने तयारी गरिरहेको उनले जानकारी दिए । ‘श्रम अवधि सकिए पनि उनीहरूले स्वदेशमा पैसा पठाइरहेका हुन्छन्,’ उनले अगाडि थपे, 'तिनीहरूका लागि के गर्ने भनेर छलफल चलिरहेको छ । हाल उनीहरूको मृत्यु भएमा मृतकका आफन्तले २५ हजार रुपैयाँ पाइरहेका छन् ।'

बोर्डमा मृतकका आफन्तले पाउने रकम वृद्धि गर्ने निर्णय भइसकेको बताए । अहिले छलफलका लागि यस्ता कुराहरू सार्वजनिक गरिएको उनको भनाइ छ ।

 

 

 

 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x