समाज

धनुषामा अतिक्रमित ३० हेक्टर वन क्षेत्र खाली गराइयो

सुभाष कर्ण |
साउन ११, २०८० बिहीबार २०:३४ बजे

जनकपुरधाम- डिभिजन वन कार्यालय धनुषाले सार्वजनिक वन क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहराहरू हटाएको छ । धनुषाको राष्ट्रिय वन क्षेत्र अतिक्रमण​ गरिएका करिब ३० हेक्टर क्षेत्रफल जग्गा डिभिजन वन प्रमुख बेचन चौधरीको अगुवाइमा खाली गराइएको हो ।

जिल्लाको मिथिला नगरपालिका-११ मा रहेको सुन्दरी सामुदायिक वनको करिब १० हेक्टर क्षेत्रफलको अतिक्रमित वनलाई खाली गराइएर सो ठाउँमा व्यक्तिले लगाएको मकैसहितको अन्य बालीहरू नष्ट गरी वृक्षरोपण गर्ने काम भएको डिभिजन वन प्रमुख चौधरीले जानकारी दिए ।


त्यसैगरी धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ का पञ्चपौरी सातपतरेको १७ हेक्टर अतिक्रमित वन क्षेत्रलाई अतिक्रमणमुक्त गरिएको जनाइएको छ । वन क्षेत्रको अतिक्रमण खाली गराएर सो ठाउँमा विभिन्न जातको जङ्गली बिरुवा लगाउनुका साथै तारबार गरिएको छ ।

साे क्रममा उल्लेख्य संख्यामा वन रक्षक परिचालन गर्नुका साथै धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालसँग समन्वयमा थप सुरक्षा व्यवस्थाले गर्दा अतिक्रमण हटाउने क्रममा कुनै अप्रिय घटना नभएको उनले बताए ।

सो वन क्षेत्रको जग्गा अतिक्रमण गरी सिन्धुली, पोखरा तथा रामेछापसम्मका मान्छेहरू आएर घरटहरा बनाई बसोबास गर्नुको साथै खेतिपाती समेत गर्दै आएका थिए । वन क्षेत्रमा बढेको अतिक्रमण तथा चुरे विनाशका कारणले तराई मधेशमा खानेपानीको समस्या समेत बढेको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x