समाज

धनुषामा चोरी आराेपमा ३० जना पक्राउ

सुभाष कर्ण |
साउन ४, २०८० बिहीबार २१:५३ बजे

जनकपुरधाम- विभिन्न चोरीका घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ३० जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ ।

पक्राउ परेकाहरूलाई बिहीबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको हाे । पक्राउ पर्नेहरूमा मोटरसाइकल, ब्याट्री, हेल्मेट चोरसम्म रहेको प्रहरीले जनाएको छ ।


पछिल्लो समय जिल्ला प्रहरी कार्यालय धनुषाले चोर पक्राउ अभियानलाई तीव्रता दिएको छ । सोही अभियान अन्तर्गत दर्जनौं चोर पक्राउ गरिएको र पक्राउ पर्नेहरूमा केही पेसेवर चोर तथा अधिकांश १७ देखि ३८ वर्ष समूह उमेरका रहेका जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

चोरीको आरोपमा जयप्रकाश यादवसहित तीन जना तेस्रो पटक पक्राउ परेका छन् । पक्राउ परेका यादवले पत्रकार सम्मेलनमा आफ्नो पेसा नै चोरी भएकाेले आफूले चोरी बाहेक अरु कुनै काम गर्न नसक्ने बताए । प्रहरीका अनुसार पक्राउ परेका देउरी परवाहाका यादवले करिब १०/११ वर्षको हुँदादेखि नै चोरी गर्दै आइरहेको बयान दिएका छन् ।

धनुषा प्रहरीले गत आर्थिक वर्षमा २३६ वटा मोटरसाइकल चोरी भएको निवेदन आएकोमा ८१ वटा सम्बन्धित व्यक्तिको जिम्मा लगाएको छ । ३६५ वटा मोबाइल चोरीको निवेदन परेकोमा २६० वटा फेला पारी बुझाइएको प्रहरीले जनाएको छ ।

जिल्लामा प्रहरीले सक्रियता बढाएपछि चोर पक्राउ पर्ने घटना तीव्र भएको छ । जिप्रका धनुषाका प्रमुख एसपी विश्वराज खड्काले भने चोरी घटनामा संलग्न अधिकांश लागूऔषध जस्ता कुलतमा फसेकाहरू र गरिब परिवारका युवाहरू रहेकाे बताए । कुलतमा फसेकाहरूले लागूऔषधका लागि र गरिबहरू पेट पाल्न चोरी घटनामा संलग्न रहेको अनुसन्धानमा देखिएको उनले बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x