समाज

आरती मृत्यु प्रकरण : श्रीमान् र ससुरा जेल चलान

सुभाष कर्ण |
असार ५, २०८० मंगलबार २०:५९ बजे

जनकपुरधाम- रहस्यमय तरिकाले मृत्यु भएकी आरती साहको मुद्दामा अभियुक्त मानिएका उनका श्रीमान् र ससुरालाई जिल्ला अदालतल धनुषाले पूर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश रामप्रसाद न्यौपानेको एकल इजलासले आरतीका श्रीमान् मोतिबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडीलाई मंगलबार पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

गत जेठ ७ गते साँझ आफ्नै घरमा मृत अवस्थामा फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीका श्रीमान् र ससुरालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । 


आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी भनिएकी आरतीको गाला, घाँटी लगायत शरीरका अन्य भागमा पनि घाउचोट भेटिएपछि उनको हत्या भएको भन्दै माइती पक्षले किटानी जाहेरी दिएको थियो । त्यसपछि अनुसन्धान गरेको प्रहरीले घटनामा आरतीका श्रीमान् र ससुराको संलग्नता रहेको भन्दै प्रतिवेदन दिएपछि जिल्ला सरकारी वकिल कार्यालय धनुषाले अदालतमा मुद्दा दायर गरेको थियो ।

गत असार १ गते दर्ता भएको उक्त मुद्दामा असार ३ गतेदेखि लगातार थुनछेक बहस भएको थियो । प्रतिवादीतर्फ धेरै कानुन व्यवसायी रहेको कारण हेर्दाहेर्दैमा राखेर उक्त मुद्दामा बहस सुनिएको थियो । बहस सकिएपछि न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले दुवै प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

यता माइती पक्षले प्रहरी अभियुक्तलाई बचाउन खोजेको भन्दै न्यायको मागसहित काठमाडौँको माइतीघर र जनकपुरधाममा विरोध प्रदर्शन गर्दै आइरहेका छन् । अदालतको आदेश अघि जिल्ला अदालत अगाडि माइती पक्षले प्रहरीविरुद्ध र न्यायको माग गर्दै प्रदर्शन समेत गरेको थियो ।

सो क्रममा प्रहरीले लाठी चार्ज गर्दा चारजना घाइते समेत भएका थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x