समाज

बुर्कुसी मारिरहेका घोडाचित्र विसङ्गति र बेथिति विरुद्धका विद्रोह हुन् : कलाकार शशी शाह

ज्ञानेन्द्र विवश |
असार २५, २०७९ शनिबार १२:२८ बजे

आधुनिक नेपाली कलालाई उचाइमा पुर्‍याउने केही सीमित कलाकारमध्ये वरिष्ठ कलाकार शशीविक्रम शाहको नाम अग्रपङ्क्तिमा आउँछ। उनी समसामयिक नेपाली कलाजगत्‌मा अति सशक्त हस्ताक्षर हुन्। ‘घोडाचित्र’ अनि ‘शशी शाह’ एकअर्काका पर्यायवाची हुन् भनेमा अतिशयोक्ति नहोला। विगत तीन दशकदेखि उनको मूल चित्र–पात्र घोडा नै रहिआएको छ। उनका कुनै घोडाहरू वेगवान् समयको गतिसँगै दौडिरहेका हुन्छन्। कुनै घोडाहरू अहङ्कारले मात्तिएर हिनहिनाइरहेका हुन्छन्। कुनै घोडाहरू वर्तमानदेखि आतङ्कित भएर त्राहिमाम भइरहेका हुन्छन्। कुनै घोडाहरू विसङ्गति र बेथिति विरुद्ध विद्रोह र आक्रोश पोख्दै बुर्कुसी मारिरहेका हुन्छन्। कुनै घोडाहरू अनन्त सङ्घर्षदेखि थकित र गलित भएर सुस्ताइरहेका हुन्छन्।

उनी स्वयम्‌का व्याख्यानुसार यी घोडाहरू समय र समाजका प्रतिनिधि पात्र हुन्। उनी आफ्ना घोडाका आकृतिहरूलाई ‘कल्की अवतार’ का प्रतीकका रूपमा अर्थ्याउँछन्। ‘कल्की अवतार’ लाई व्याख्या गर्दै उनी भन्छन्– “घोडा सूर्यको प्रतीक हो। सौर्यमण्डलका सबै ग्रहहरू सूर्यकै प्रतापले बाँचेका छन्। कल्पना गरौँ, सूर्य नभए के होला ? यो पृथ्वीलगायत सूर्यको वरिपरि घुम्ने ग्रहहरू क्षणभरमै नष्ट हुने छन्। सूर्यलाई आदिदेवता पनि मानिन्छ। सूर्यलाई तान्ने बाहन सातवटा घोडा छन् भनी धर्मशास्त्रमा उल्लेख गरिएको छ। जब हामी सङ्कटमा पर्छौं, मानव सभ्यता नै नष्ट हुने अवस्था आउँछ, त्यसबेला हाम्रो रक्षार्थ सेतो घोडामा आरुढ ‘कल्की अवतार’ आउँछन् भन्ने हाम्रो विश्वास रहिआएको छ।”


कलाकार शशी शाह अत्यन्तै सौम्य र शान्त स्वभावको हुन्। कसैलाई नचिढ्याउने र कसैलाई नबिझाउने भद्र व्यक्तित्वका धनी हुन्। बाल्यकाल सम्झिँदै उनी भन्छन्– “मेरो जन्म वि.सं. १९९७ सालमा काठमाडौंको भोटेबहालमा भएको हो। मेरा बुबाआमा चुडाविक्रम शाह र ईश्वरी शाह हुन्। हाम्रो पुर्ख्यौली घर धादिङको ज्यामरुङमा थियो। त्यहाँ बडामहाराजा पृथ्वीनारायण शाहको दरबार कुर्ने काम हाम्रा बाजे बराजुले गर्नुहुँदो रहेछ। मेरो पढाइ दरबार हाइस्कुलबाट प्रारम्भ भएको हो। सात दाजु र तीन दिदीमध्ये म कान्छो भाइ थिएँ। सबैले मलाई माया गर्थे। म बाह्र वर्षको छँदा आमा दिवङ्गत हुनुभयो।”

कलासिर्जनाप्रति आफ्नो अभिरुचि कसरी जागृत भयो भन्ने सन्दर्भमा उनी भन्छन– “दश/एघार सालतिरको कुरो हो, त्यो बेला डा. हर्क गुरुङ हाम्रा घरमा बरोबर आइरहनुहुन्थ्यो। त्यो बेला उनीले बनाएका रेखाचित्रहरू हेरेर म निकै प्रभावित भएको थिएँ। दरबार हाइस्कुलमा पढ्दा आफूभन्दा ‘जुनियर’ भए पनि मदन चित्रकारले कालोपाटीमा बनाएका रेखाचित्र देखेर म छक्कै पर्थेँ। त्यस्तै, सत्र/अठार सालतिर त्रिचन्द्र कलेजमा पढ्दा केदारभक्त माथेमा मेरा सहपाठी थिए। उनी निकै राम्रो ड्रोइङ गर्थे। त्यो देखेर म दङ्ग पर्थेँ।”

उनी अगाडि भन्छन्– “चित्र कोर्ने प्रेरणा मलाई कहाँबाट मिल्यो, यसको स्पष्ट जवाफ मसँग छैन। त्यो बेला चित्रकारीको काम गर्ने मान्छे तल्लो जातको हो भन्ने सङ्कीर्ण मानसिकता थियो। म दरबार हाइस्कुलमा पढ्थेँ त्यहाँ छुट्टै विषयका रूपमा चित्रकलाको पनि पढाइ हुन्थ्यो। तेजबहादुर चित्रकार, चन्द्रमानसिंह मास्केजस्ता गुरुहरूले सिकाउनुहुन्थ्यो। आफूले पनि एसएलसीमा ऐच्छिक विषयका रूपमा चित्रकला लिइयो। चित्रकला विषय छान्नु पछाडिको उद्देश्य थियो, सजिलैसँग एसएलसी पास गर्न सकियोस्। त्यो बेला कलाकार नै बन्छु भन्ने कुनै लक्ष्य थिएन। घरमा मेरी आमा (ईश्वरी शाह), दिदी र दाजु (गोवर्द्धन शाह) अलिअलि कलामा सोख राख्नुहुन्थ्यो। त्यो बेला आफू न कुनै कलाकारलाई चिन्थेँ, न त कलाक्षेत्रप्रति खासै कुनै लगाव थियो। यदाकदा यसो चित्र कोरकार गरिन्थ्यो, त्यो अर्कै कुरा।”

 

कलाकार शाह वि.सं. २०१९ सालमा भारत सरकारको छात्रवृत्तिमा मुम्बईको सर जे. जे. स्कुल अफ आर्टस्‌मा अध्ययन गर्न गएका थिए। यस प्रसङ्गमा उनी भन्छन्– “त्यो बेला म काँचै थिएँ। कला सम्बन्धी राम्रो ज्ञान थिएन। दुरुस्त बनाउनु नै चित्रकला हो भन्ने धारणा ममा थियो। त्यहाँ सहपाठीहरू तथा गुरुवर्गको सङ्गतबाट चित्रसिर्जना भनेको के रहेछ भन्ने बोध भयो।”

उनी अगाडि भन्छन्– “छब्बीस सालमा काठमाडौं फर्केपछि सर जे. जे. स्कुलबाट अध्ययन गरेर आएका हामी चारजना म, कृष्ण मानन्धर, इन्द्र प्रधान र वत्सगोपाल वैद्य मिलेर ‘स्किव–७१’ को स्थापना गर्‍यौं। यसै समूहमार्फत हामीले कला गतिविधिलाई निरन्तरता दिन थाल्यौँ।”

मुम्बईबाट फर्केको लगत्तै शशी शाहले वि.सं. २०२६–३९ सम्म ललितकला क्याम्पसमा अध्यापन गरे। सोही क्याम्पसमा एघार वर्षसम्म क्याम्पस प्रमुखको जिम्मेवारी पनि बहन गरे। त्यसपछि सिर्जना कलेज अफ फाइन आर्टस्‌को प्रिन्सिपलका रूपमा वि.सं. २०५८–०६८ सालसम्म काम गरेका थिए। वि.सं. २०५२–०५७ सालसम्म उनीले नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको प्रज्ञा–परिषद् सदस्यका रूपमा पनि काम गरेका थिए।

शाह आधुनिक शैलीमा काम गर्छन्। तथापि उनका चित्र रचनाहरू आकृति मूलक (फिगरेटिभ) हुने गर्छन्। मुम्बईबाट फर्केपछि केही वर्ष उनले अतियथार्थवादी (सरिलियस्टिक) शैलीलाई अवलम्बन गरेका थिए। मानवीय विषाद, युद्ध, भोक आदि विषयमा आधारित त्यो बेलाका उनीका कामहरू निकै सशक्त र प्रभावशाली रहेका छन्। शीघ्र नै उनीका चित्ररचनाहरूमा वैदिक दर्शन तथा समसामयिक विषयवस्तुहरू देखा पर्न थाले। उनीको ‘दश अवतार’ शीर्षकको चित्ररचना निकै वर्षअगाडि जापानको फुकुओका म्युजियमले खरिद गरी आफ्नो सङ्ग्रहमा राखेको थियो।

 शाह अत्यन्तै कुशल ‘ड्राफ्ट्सम्यान’ का रूपमा पनि सुपरिचित छन्। मुम्बईमा अध्ययन गरिरहेको बेला नै उनले बनाएका ‘ड्रइङ’ हरू ‘धर्मयुग’, ‘दिनमान’ जस्ता तत्कालीन लोकप्रिय भारतीय प्रकाशनहरूमा प्रकाशित भएका थिए। उनी व्यङ्ग्यचित्र (कार्टुन) विधामा अद्यापि संलग्न हुन्। ‘रैथाने’ उपनामबाट बनाइएका उनीका अनगन्ती कार्टुन रचनाहरू तत्कालीन साप्ताहिक पत्रिकाहरू ‘समीक्षा’ लगायत अन्य पत्रपत्रिकामा प्रकाशित भइसकेका हुन्थे। साहित्यकार रोचक घिमिरेद्वारा सम्पादित साहित्यिक पत्रिका ‘रचना’ का लागि त उनीले निकै लामो समयदेखि आज पर्यन्त मासिक रूपमा साहित्य र कलामाथि व्यङ्ग्यवाण हान्दै कार्टुन बनाउँदै आएका छन्। उनी आफूलाई ‘पेन्टिङ’ का तुलनामा ‘ड्रइङ’ बढी बढी मन पर्ने बताउनुहुन्छ। उनीले घोडालाई केही मूर्तिरचनामा पनि साकार स्वरूप दिएका छन्।

कलाकार शाहले वि.सं. २०२७ सालमा राष्ट्रिय कला प्रदर्शनीमा प्रथम पुरस्कार पाएका थिए । नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानद्वारा प्रदान गरिने ‘इन्द्र राज्यलक्ष्मी प्रज्ञा पुरस्कार’ उनीले वि.सं. २०३५ सालमै पाउनुभएको थियो। त्यसयता मुख्य रूपमा ‘राष्ट्रिय प्रतिभा पुरस्कार’, ‘राष्ट्रिय ललितकला प्रज्ञा सम्मान’ आदि उनीले पाएका थिए।

उनीका अनुसार हाम्रो देशमा खेलकुद, साहित्य र सङ्गीतका क्षेत्रमा राज्यबाट गरिने लगानीका दाँजोमा कलाप्रति गरिने लगानी एकदम न्यून रहेको छ। तथापि हाम्रा कलाकारहरूले दिलोज्यान दिएर आ–आफ्ना सिर्जनाकर्म गरिरहेका छन्। यसलाई उनी सुखद्‌ कुराका रूपमा लिन्छन्। उनको भनाइअनुसार हाम्रा अनेकौं प्रतिभाशाली कलाकारहरूले अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याति कमाएका छन्। विदेशी भूमिमा आफ्नो राष्ट्रको शिरलाई उँचो पारेका छन्। नेपाली कलाकृतिहरू खरिद गरी सङ्ग्रह गर्नेहरूमा स्वदेशीभन्दा विदेशीहरूले नै बढी गरेका छन्। वास्तवमा यो सुखद्‌ कुरा होइन। नेपाली कलाकार प्रथमत: आफ्नै देशमा परिचित हुनुपर्छ, र उसका सिर्जनाको सम्मान पनि स्वदेशमा नै हुनुपर्छ भन्ने आफ्नो मान्यता रहिआएको उनी बताउँछन्।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार


Author

थप समाचार
x