सुदूरपश्चिम

भ्रष्टाचार झन् बढ्यो : प्रदेश प्रमुख जोशी

इकागज |
माघ २८, २०८० आइतबार १९:१४ बजे

महेन्द्रनगर (कञ्चनपुर)- सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले भ्रष्टाचार न्यूनीकरण गर्ने उद्देश्य लिँदा पनि झन बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन् ।

महेन्द्रनगरमा आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका आयोजित कार्यक्रममा उनले मुलुकभित्र ठूलो जिम्मेवारीमा रहेकाहरूले जिम्मेवार भएर काम गर्न जरुरी रहेको बताए ।


'वर्तमान अवस्था ठीक भए पनि भविष्यका लागि सुनिश्चित गरौँ भन्ने मनोविज्ञानले भ्रष्टाचार बढाउँछ,' प्रदेश प्रमुख जोशीले भने, 'यस्ता क्रियाकलापले झन् सम्बन्धित व्यक्तिको भविष्य बिग्रिने निश्चित छ । मानिसको सोच, संस्कार, व्यवहारसित नै भ्रष्टाचार निहित हुने गरेको छ ।'

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचारको शून्य सहनशीलताको नीतिलाई अवलम्बन गरेर प्रदेश सरकार अघि बढेको बताए ।

'भ्रष्टाचार र सुशासनका निम्ति कसैसित कुनैखाले सम्झौता हुँदैन,' उनले भने, 'त्यसका लागि प्रदेश सरकार तपाईँहरूसितै छ । मुलुकको सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बलियो बनाउनुपर्छ ।'

मुख्यमन्त्री शाहले जोड दिए, 'मुलुकको समृद्धि र विकासमा समेत भ्रष्टाचार ठूलो बाधकका रूपमा छ ।'


Author

थप समाचार
x