सुदूरपश्चिम

धनगढीमा फूल बिक्री केन्द्र स्थापना, नबिकेको किसानको फूल केन्द्रले किन्‍ने

इकागज |
कात्तिक २६, २०८० आइतबार १३:४८ बजे

कैलाली- धनगढी उपमहानगरपालिकाले दुई ठाउँमा फूल बिक्री केन्द्र स्थापना गरेको छ । उपमहानगरपालिकाले तालिम, बिउ र उपकरण दिएर फूल खेतीमा लाग्न प्रोत्साहन गरेपछि धनगढीका किसानले यस वर्ष ठूलो मात्रामा फूल उत्पादन गरेका छन् । 


फूल, माला र सजावटका लागि बिक्री वितरण गर्न सहज होस् भन्ने उद्देश्यले उपमहानगरपालिका अगाडि र भाटभटेनी सुपर मार्केटमा फूल बिक्री केन्द्र सञ्चालनमा ल्याइएको हो ।

बिक्री केन्द्रबाट बिहानैदेखि फूल किन्नेहरू आउन थालेको स्टलमा रहेकी  बिक्रीकर्ता किसान सुशिला बिष्टले बताइन् । आइतवार बिहान दुवै बिक्री केन्द्रको धनगढी उपमहानगरपालिकाका नगर उपप्रमुख कन्दकला कुमारी रानाले उद्घाटन गरेकी थिइन् । 

उपप्रमुख रानाले धनगढीमा उत्पादन भएर बढी भएको फूल बिक्री केन्द्रले गर्ने जानकारी दिइन् । उनले स्थानीय फूल र माला खरिद गरेर किसानलाई प्रोत्साहन गर्न आग्रह गरिन् । 

बिक्री केन्द्रमा ताजा फूल र माला बिक्रीका लागि राखिएका छन् । यहाँ प्रतिमाला फूल एक सय र फूल एक किलोको चार सय रुपैँया मूल्य किसानले तोकेका छन् ।

धनगढी उपमहानगरपालिकाको तालिमलगायतका अन्य कुरामा सहयोग पाएपछि विगतका वर्षभन्दा यस वर्ष धनगढीमा फूल खेती गर्ने किसानहरूको संख्या बढेको छ । एक कट्ठादेखि डेढ बिघासम्म फूल खेती गरेका किसानहरू अहिले तिहारका लागि बिक्री गर्नमा व्यस्त छन् ।

धनगढी उपमहानगरपालिकाका अनुसार यस वर्ष मात्रै ८५ कठ्ठामा फूल खेती गरिएको छ । उपमहानगरपालिकाले आफैले पनि वडा नम्बर ६ मा  १५ कठ्ठा जमिनमा प्रर्दशनका लागि हाइव्रिड जातको फूल खेती गरिएको छ । उक्त जमिनमा २० टन फूल उत्पादन हुने लक्ष्य उपमहानगरपालिकाले राखेको छ ।


Author

थप समाचार
x