सुदूरपश्चिम

सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रक कार्यालयमा तोडफोड

इकागज |
भदौ १५, २०८० शुक्रबार २०:२४ बजे

दोधारा चाँदनी (कञ्चनपुर)- सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरिएको छ । आज नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले परीक्षा नियन्त्रक र सहपरीक्षा नियन्त्रकको कार्यकक्षमा तोडफोड गरेको हो । 

अनेरास्ववियुले समाजशास्त्रको छैटौँ सेमेस्टरको परीक्षामा गत वर्षकै प्रश्नपत्र ‘हुबहु’ दोहोरिएको र भागबन्डामा गरिएका नियुक्ति खारेजीको माग गर्दै एक महिनाअघि परीक्षा नियन्त्रक र सहपरीक्षा नियन्त्रकको कार्यकक्षमा तालाबन्दी गरेको थियो । 


महिना दिनसम्म परीक्षा नियन्त्रक कार्यालयमा तालाबन्दी हुँदा नतिजा प्रकाशन र परीक्षासम्बन्धी सबै काम ठप्प भएपछि स्वतन्त्र विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए । विद्यार्थीले आफूहरूको भविष्यमाथि नै खेलबाड गरेको भन्दै परीक्षा नियन्त्रकको कार्यालयमा ताला तोडेका थिए ।

अनेरास्ववियुले लगाएको ताला विद्यार्थीले तोडेपछि आफ्नो सहमतिबिनै ताला तोडेको भन्दै समाजवादी निकट विद्यार्थी सङ्गठनले परीक्षा नियन्त्रक कार्यालयमा तोडफोड गरेको हो । परीक्षा नियन्त्रक देवसिंह नाथ र सहपरीक्षा नियन्त्रक वीरबहादुर सिंहको कार्यकक्षमा रहेका रहेका टेबुल, कुर्सी, दराज र कम्प्युटरमा क्षति पुगेको परीक्षा नियन्त्रक नाथले जानकारी दिए । 

'समाजवादीका १२/१५ जनाको समूहले एक्कासि कार्यकक्षमै आएर विद्यार्थीको मुख्य डाटा राख्ने सर्भरसहितको कम्प्युटरमा क्षति गरेको छ,' परीक्षा नियन्त्रक नाथले भने, 'विद्यार्थीको उत्तरपुस्तिकालगायत परीक्षासम्बन्धी महत्त्वपूर्ण कागजातमा नोक्सानी पुगेको छ ।' 

उनले विद्यार्थी सङ्गठनले फोनमा भौतिक रूपमा कारबाही गर्ने धम्की दिएको बताए । 'उहाँहरूले राखेका माग हामीले पूरा गरे पनि क्याम्पस प्रमुख र विभागीय प्रमुखमा भाग मागेकाले सहमति हुन नसकेको हो,' नाथले भने, 'अहिलेकै अवस्थामा हामी परीक्षासम्बन्धी कुनै पनि काम गर्न नसक्ने अवस्थामा छौँ ।' परीक्षा नियन्त्रक कार्यालयमै तोडफोड भएपछि विश्वविद्यालयका परीक्षा र नतिजा प्रकाशनसम्बन्धी सम्पूर्ण कार्य प्रभावित भएको उनको भनाइ छ ।

अनेरास्ववियु कञ्चनपुरले भने उक्त घटना सृजना हुनुमा स्वयं परीक्षा नियन्त्रक देवसिंह नाथसहित विश्वविद्यालयका पदाधिकारी जिम्मेवार रहेको जनाएको छ । अनेरास्ववियु कञ्चनपुरका संयोजक रमेश पन्तले आफूहरूको सङ्गठनले तोडफोड नगरेको दाबी गरे । 'हामी भागबन्डा अन्त्य हुनुपर्छ भन्ने पक्षमा हौँ हामीले कतै तोडफोड गरेका छैनौँ,' उनले भने, 'हाम्रा जायज माग राखेर हामीले परीक्षा नियन्त्रक र केन्द्रीय कार्यालयमा ताला लगाएका छौँ ।' 

उता विश्वविद्यालयको केन्द्रीय कार्यालय डेढ महिनादेखि बन्द छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले लगाएको ताला ४५ दिनपछि खुले पनि समाजवादी निकट विद्यार्थी सङ्गठनको ताला अझै खुलेको छैन । विश्वविद्यालयको केन्द्रीय कार्यालय साउन १ गतेदेखि बन्द छ ।

विश्वविद्यालयको कार्यकारी परिषदबाट विभिन्न आङ्गिक क्याम्पसमा तथा केन्द्रीय विभागमा रिक्त रहेको क्याम्पस प्रमुख र विभाग प्रमुखको विषयलाई लिएर विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ । रासस


Author

थप समाचार
x