सुदूरपश्चिम

सुदूरपश्चिममा २७ गम्भीर संक्रमितको मात्रै उपचार सम्भव, भौतारिँदै बिरामी

नवराज पनेरु |
बैशाख १३, २०७८ सोमबार १३:५४ बजे

धनगढी : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका श्याम जोशीकी आमा ६० वर्षकी भइन् । आमालाई हल्का ज्वरो र रुघाखोकी लागेपछि जोशीले ८ बैशाखमा महाकाली अस्पतालमा भर्ना गराए । कोभिड–१९को लक्षण देखिएपछि आमाको स्वाब परीक्षण गरियो। परीक्षणपछि संक्रमण देखियो।

केही दिनपछि स्वास्थ्य समस्या बढेपछि जोशीकी आमालाई महाकाली अस्पतालको आइसीयू कक्षमा राखियो। १० गते महाकाली अस्पतालले आमालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रेफर गर्‍यो । १० गतेदेखि सेतीमा पनि आईसीयूमै राखेर उपचार थालियो । १३ गतेमा स्वास्थ्यमा थप समस्या आएपछि सेती प्रादेशिक अस्पतालले पनि अन्यत्र लैजान भन्यो । 


आमाको स्वास्थ्यबारे जोशी भन्छन्,‘सेती अस्पतालमा भेन्टिलेटर खाली नरहेको र भेन्टिलेटर राखेर उपचार गर्नुपर्ने देखियो भन्दै अन्यत्र लैजान भनेका छन् ।’ 
सुदूरपश्चिमको सबैभन्दा ठूलो अस्पताल हो, सेती प्रादेशिक अस्पताल । सोही अस्पतालले गम्भिर प्रकृतीका कोभिड संक्रमितलाई पनि अन्य अस्पतालमा पठाउन थालेपछि अवस्था भयाभह हुने चिन्ता प्रदेशवासीमा बढेको छ । जोशीले भने,‘सेती प्रादेशिक अस्पतालमा थप सुविधा पाइन्छ होला भनेर महाकालीबाट ल्याएका थियौँ । अब सेती अस्पतालले पनि गम्भिर प्रकृतीका बिरामीको उपचार गर्न नसकेपछि डडेल्धुरा अस्पतालमा लगिरहेका छौँ ।’

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले भेन्टिलेटर खाली नहुँदा गम्भीर प्रकृतीका बिरामीलाई भर्ना गर्न नसकिएको बताए । उनका अनुसार सेती अस्पतालमा अस्पतालमा अहिले ५२ जना संक्रमितको उपचार भइरहेको छ । तर, अस्पतालमा अब गम्भीर प्रकृतीका कोरोना संक्रमितलाई राख्ने ठाउँ नै नभएको बताए । ‘तीन जनाको भेन्टिलेटर र ११ जनाको आइसियूमा राखेर उपचार भइरहेको छ,’ उनले भने, ‘२५ जनाको अक्सिजन दिएर उपचार भइरहेको छ भने मध्यम कडा खालका १३ जना संक्रमितलाई मोडरेटमा राखिएको छ ।’ 

सुदूरपश्चिम प्रदेशमा कोभिड भाइरसका गम्भीर बिरामी फेला परे उपचारका लागि पूर्वाधार र उपकरणको चरम अभाव रहेको हो । यता सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले सुदूरपश्चिम प्रदेशका ६ वटा अस्पतालमा २७ शैयाको आइसीयू र १९ वटा भेन्टिलेटर मात्र उपलव्ध रहेको बताए । यो तथ्याङकले सुदूरपश्चिम प्रदेशमा बढिमा कोरोना भाइरसका २७ जना गम्भिर बिरामीको मात्रै उपचार सम्भव रहेको स्पष्ट पार्छ । 

स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार सुदूरपश्चिम प्रदेशमा अहिले ६ सय १२ जना संक्रिय संक्रमित रहेका छन् । भारतबाट फर्किने संख्या बढ्दै गएकाले संक्रमण दर पनि बढ्दै गएको छ । तर प्रदेश सरकार भने जनशक्ति र उपकरण थप्न उदासिन देखिएको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले भने, ‘सेती प्रादेशिक अस्पतालमा १० शैयाको आइसियू र ५ वटा भेन्टिलेटर, महाकाली अस्पतालमा ६ शैयाको आइसियू र ६ वटा भेन्टिलेटर, डडेल्धुरा अस्पतालमा ५ शैयाको आइसियू र २ वटा भेन्टिलेटर उपलव्ध छन् ।’ उनका अनुसार बझाङ, अछाम र बाजुराका अस्पतालमा दुई÷दुई शैयाको आइसियू र दुई÷दुई वटा भेन्टिलेटर छन् । तर जनशक्ति अभावले सबै उपकरण सञ्चालन हुन सकेका छैनन् ।


Author

थप समाचार
x