कर्णाली

प्रदेशसभामा संसदीय समितिमाथि नै प्रश्न

इकागज |
भदौ १, २०८० शुक्रबार १९:४६ बजे

सुर्खेत- संसदीय समितिहरूको कामको विषयलाई लिएर कर्णाली संसदमा प्रश्न उठेको छ । शुक्रबार प्रदेशसभाको बैठकमा सांसदले समितिका सभापतिको कामलाई लिएर प्रश्न उठाएका हुन् ।

नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेशसभा र संसदीय समितिका सभापतिहरूको कार्यशैली तथा कार्य दक्षतामाथि प्रश्न उठाए ।


शाहीले प्रदेश सभाका कर्मचारी र समितिका व्यक्तिहरूले विभिन्न कार्यालयमा गएर छड्के गरेको विषयमा आपत्ति जनाए । उनले कुनै पनि समितिले मन्त्रालय र कार्यालयमा छड्के गर्न नहुने बताए ।

पूर्व मुख्यमन्त्री समेत रहेका शाहीले समितिका उक्त गतिविधिबारे प्रश्न उठाए । ‘मलाई यो कुरा सुन्दा लज्जाबोध भएको छ,’ संसद बैठकमा उनले भने,‘ समितिहरूको क्षेत्राधिकार हुन्छ, तर, यहाँ समितिले छड्के गरेको कुराहरू आए ।’ समितिहरूले कहिल्यै पनि छड्के गरेको आफूले नपाएको उनले बताए ।

शाहीले भने,‘ छड्के सरकारले गर्छ, कुन कार्यालयमा गर्ने भन्ने सरकारले गर्ने कुरा हो । क्यामेरा मेन लगेर प्रदेश अस्पतालमा गएको छ, लोक सेवामा गएको छ । यो कहाँको नियम हो ?’  छड्के भयो भन्दा आफूलाई अचम्म लागेको शाहीले बताए । शाहीले यस्ता गतिविधिले प्रदेशको बदनामी भइरहेको बताए ।

प्रदेश मामिला समितिका सभापति कल्याणी खड्काले गएको मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमै पुगेर छड्के अनुगमन गरेकी थिइन् । उनले त्यहाँ कर्मचारीहरू समयमा कार्यालय नआउने गरेको भन्दै सचिवलाई निर्देशन समेत दिएकी थिइन् । उनीसँग समितिका सभापति र सदस्यहरू समेत गएका थिए । त्यसैगरी हिजो प्रदेश लोकसेवा आयोगको कार्यालयमा छड्के अनुगमन गरेकी थिइन् । 
 


Author

थप समाचार
x