गण्डकी

पोखराको फिर्के खोलामा बनेका संरचना नहटाउन अदालतको आदेश

धनबहादुर गुरुङ |
कात्तिक २४, २०८० शुक्रबार २०:२५ बजे

पोखरा- फिर्के खोला अतिक्रमणमा परेको प्रतिवेदन प्राप्त गरेपछि पोखरा महानगरले गत कात्तिक १० गते खोलामा बनेका संरचना हटाउन ३५ दिने सूचना जारी गर्यो । सूचना प्रकाशित भएको २ हप्ता कट्यो । अर्थात् १५ दिन लाग्यो । अबको २० दिनपछि  खोलामा बनेका सबै संरचना हटेको हुन्थ्यो । नहटे महानगर आफैले हटाउने बताएको थियो ।

‘फिर्के खोलाकोे खोलाघर नापजाँच प्रतिवेदन–२०८०’ मा १ सय ६० संरचना खोलाघरमै बनेको पाइएको थियो । तिहार लगत्तै यि सबै संरचना हट्ला की नहट्ला भन्ने सबैको चासोको विषय थियो । तर, सूचना जारी भएको १५ दिन बित्दै गर्दा उच्च अदालतले त्यो प्रक्रिया रोकिदिएको छ ।


महानगरपालिकाले ३५ दिने सूचना आह्वान गरेकोमा अदालतले रोकिदिएको हो । उच्च अदालत पोखरामा परेको रिटमा न्यायाधीश मिलन राईको एकल इजलासले शुक्रबार अन्तरिम आदेश जारी गरेको हो । फिर्के तमु समाज समेतले दायर गरेको उत्प्रेषण परमादेश रिटमा निवेदकतर्फबाट वरिष्ठ अधिवक्ता तिलक पराजुली, वरिष्ठ अधिवक्ता मुकुन्द अर्याल, अधिवक्ता केशवप्रसाद पराजुलीले बहस गरेका थिए । विभिन्न संघसंस्था तथा व्यक्ति गरी १३ निवेदक रहेको रिटमा पोखरा महानगरपालिका समेत ५ जनालाई विपक्षी बनाइएको थियो ।

अदालतले तत्काल पोखरा महानगरको सूचनाको कार्यान्वयन नगर्नू/नगराउनू तथा कारण देखाउनू भनी विपक्षीको नाउँमा अन्तरिम आदेश जारी गरेको वरिष्ठ अधिवक्ता तिलक पराजुलीले बताए । महानगरपालिकाले भवन निर्माण संरचना बनाउँदा यसअघि नक्सापास गरेको स्मरण गराउँदै भत्काउनुपर्ने भए जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम मुआब्जाको व्यवस्था गर्नुपर्ने निवेदकहरूको जिकिर छ ।

पोखरा महानगरपालिकाको ८ वटा वडा छोएर बग्ने फिर्के खोला अतिक्रमणमा परेकाे भन्दै महानगरले गत साउन ३ गतेदेखि खोज्न सुरु गरेको थियो । महानगरका सर्वेक्षक बासुदेव पौडेल नेतृत्वको सर्वेक्षण टोलीले एक महिनापछि फिर्केको खोला घरमा १ सय ६० संरचना निर्माण भएको पत्ता लगाएको थियो ।  त्यसमध्ये १ सय ७ वटा अस्थायी छन् भने ५३ वटा स्थायी छन् ।

यि संचरना फिर्के खोला माथि नै बनेका हुन् । यिनै संरचनाहरू भत्काउन पोखरा महानगरले शुक्रबार ३५ दिने सूचना प्रकाशित गरेको छ । महानगरले फिर्केको खोला घर छुट्याउने समयमै नापजाँच गरे खोलाको पश्चिमतिर ३ सय ३ र पूर्वतिर २ सय ८५ गरी ५ सय ८८ वटा सीमा स्तम्भ गाडेको छ । सोही स्तम्भभित्र बनेका संरचना भत्काउन सूचना जारी गरेको थियो ।

पोखरा महानगरपालिका–१८ अधेरीकुनाबाट सुरु भएको फिर्के वडा नम्बर २, ४, ५, ७, ८, १७ र ६ नम्बर वडाको गाईघाट हुँदै  फेवातालमा मिसिन्छ । फिर्के खोला संरक्षणका लागि पोखरा महानगरले त्यहाँ बनेको संरचना हटाएर फिर्केको ब्युटिफिकेसन गर्ने योजना बनाएको छ । पोखराका मेयर धनराज आचार्यले फिर्के कोरिडोर विकास कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।

महानगरका अनुसार एसियाली विकास बैंक (एडिबी) ले पोखरामा दिगो पर्यटनका लागि विभिन्न परियोजना सञ्चालन गर्दैछ । उक्त परियोजनामा फिर्केलाई समेत समावेश गरिने महानगरले जनाएको छ ।


Author

थप समाचार
x