गण्डकी

फिर्के खोलाका संरचना हटाउन पोखरा महानगरको ३५ दिने सूचना, डाेजर लगाउने चेतावनी

धनबहादुर गुरुङ |
कात्तिक ११, २०८० शनिबार ९:५७ बजे

पोखरा ।  पोखरा महानगरपालिकाको ८ वटा वडा छोएर बग्ने फिर्के खोला अतिक्रमणको चपेटामा छ । फिर्के खोलामाथि नै धेरै संरचना बनेको छ । कति संरचना बनिरहेका छन् भनेर महानगरले गत साउन ३ गतेदेखि खोज्न सुरु ग¥यो । महानगरका सर्वेक्षक बासुदेव पौडेल नेतृत्वको सर्वेक्षण टोलीले एक महिनापछि फिर्केको खोलाघरमा १ सय ६० संरचना निर्माण भएको पत्ता लगायो । त्यसमध्ये १ सय ७ वटा अस्थायी छन् भने ५३ वटा स्थायी छन् ।

यी संचरना फिर्केखोला माथि नै बनेका हुन् । यिनै संरचनाहरु भत्काउन पोखरा महानगरले शुक्रबार ३५ दिने सूचना प्रकाशित गरेको छ । महानगरले फिर्केको खोला घर छुट्ट्याउने समयमै नापजाँच गरे खोलाको पश्चिमतिर ३ सय ३ र पूर्वतिर २ सय ८५ गरी ५ सय ८८ वटा सीमा स्तम्भ गाडेको छ । सोही स्तम्भभित्र बनेका संरचना भत्काउन सूचना जारी गरेको हो । 


तोकिएको मितिभित्र संरचनाहरु नहटाए महानगरपालिका आफैंले हटाउने सूचनामा उल्लेख गरेको छ । सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थावाट असुलउपर गरिने महानगरले बताएको छ । पोखरा महानगरपालिका–१८ अधेरीकुनाबाट सुरु भएको फिर्के वडा नम्बर २, ४, ५, ७, ८, १७ र ६ नम्बर वडाको गाईघाटहुँदै फेवातालमा मिसिन्छ । 

यसअघि पोखरा महानगरले गठन गरेको फिर्के खोला सिमांकन टोलीले असोज ६ गते प्रतिवेदन पेश गरेको थियो । टोलीले बेलैमा उचित कदम नचाले फिर्केखोला नै हराउने र प्राकृतिक विपत्ति तिम्तिने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको थियो ।

सर्वेक्षक वासुदेव पौडेल नेतृत्व टोलीले पेस गरेको “फिर्केखोलाकोे खोलाघर नापजाँच प्रतिवेदन–२०८०” मा खोला मिचेर ९७ वटा अस्थायी, ३५ वटा स्थायी, १० वटा संघसस्थाका अस्थायी र १८ वटा संघसस्थाका स्थायी संरचना बनेका देखिएको छ । फिर्के मिच्नेमा व्यक्ति मात्रै नभएर सरकार र विभिन्न संघ संस्था समेत छन् । 
उक्त समयमा २०३२ सालको नापीलाई आधार मानेर गरिएको अध्ययन अनुसार यो खोला ४ मिटरदेखि ९ मिटरसम्म गहिरो छ भने ३.३ मिटरदेखि ४० मिटरसम्म फराकिलो भेटिएको थियो । तर, अहिले कतिपय ठाउँमा खोलाको अस्तित्व समेत भेटिँदैन । अध्ययन टोलीले फिर्के बचाउन तत्कालै भौतिक संरचना निर्माणको काम रोक्न महानगरलाई सुझाएको थियो । फिर्केमा पार्कसँगै पहुँच मार्ग, चेकड्याम, पैदल तथा साइकल ट्रयाक निर्माण गर्न सकिने सुझाव दिइएको थियो ।

पोखरा महानगरले फिर्केको संरक्षणमा ध्यान दिदैं ब्युटिफिकेसन गर्ने योजना बनाएको छ । मेयर आचार्यले फिर्के कोरिडोर विकास कार्यक्रम सञ्चालन गर्ने बताएका छन् । महानगरका अनुसार एसियाली विकास बैंक (एडिबी) ले पोखरामा दिगो पर्यटनका लागि विभिन्न परियोजना सञ्चालन गर्दैछ । उक्त परियोजनामा फिर्केलाई समेत समावेश गरिने महानगरले जनाएको छ । एडिबीले दिगो पर्यटनका लागि लगानी गर्दैछ । 
 


Author

थप समाचार
x