गण्डकी

एमाले गण्डकी : पृथ्वीसुब्बा–खगराजबीच 'आफ्नो मान्छे' नेतृत्वमा पुर्‍याउने रस्साकस्सी

धनबहादुर गुरुङ |
असोज १७, २०८० बुधबार १३:१० बजे

पोखरा। नेकपा एमाले गण्डकी प्रदेशको पहिलो अधिवेशनको तेस्रो दिन पोखरा सभागृहमा चुनावी सरगर्मी बढ्दै गएको छ । पोखरामा बाहिर पानी परेकाले चिसो छ । तर, हल भित्र र होटलका कोठा नेतृत्व चयनको विषयले तातिएको छ । पहिलो अधिवेशनले सर्वसम्मत अध्यक्ष चुन्न गाह्रो भएपछि प्यानल बनाएर अघि बढ्ने तयारीमा छन्, यहाँका प्रभावशाली नेताहरु । 

गण्डकीमा विशेषगरी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी बीच आफ्नो फेबरको नेता नेतृत्वमा पुर्‍याउने रस्साकस्सी चलेको छ । गुरुङ–अधिकारी बीचको टकराब पुरानो हो । त्यसैले पनि यो अधिवेशन उनीहरुबीचको जुंगाको लडाई र प्रतिष्ठाको विषय बनेको छ । 


नेकपा एमाले सचिव एवं गण्डकी प्रदेश इञ्चार्ज गोकर्ण विष्टले अधिवेशन अघिसम्म नेतृत्वका लागि कुनै प्यानल नबन्ने बताउँदै आएका थिए । सकेसम्म सर्वसम्मत अध्यक्ष टुंगाउने यदि सहमती नभए निर्वाचन भइहाले प्यानल खडा नहुने अधिवेशनका बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा उनले दोहोर्‍याएर भनेका थिए । उनले प्यानल खडा हुने अवस्था आयो भने उम्मेदवारी खारेज हुनेसम्मको अभिव्याक्ति दिएका थिए । तर, यहाँ अन्तिम अवस्थामा त्यो अवस्था छैन् । नेताहरु निर्वाचनमै जान तयार भएका छन् । उनीहरुले आ–आफ्नो प्यानल नै बनाइसकेका छन् । 

यसका लागि उनीहरुले अघोषित सचिवालय पनि निर्माण गरेका छन् । उपमहासचिव गुरुङले लेकसाइटको होटल एलेगेन्ट र खगराजले जिरोकिमिमा न्यू एरा ​पार्टी प्यालेस र सभागृह चोकमा रहेको मिड टाउन होटलमा छलफल गरिरहेका छन् । 

छलफलबाट अधिकारीले मंगलबार राति नै आफ्नो प्यानलको पदाधिकारीको नाम टुंगाएको बुझिएको छ । अधिकारी प्यानलबाट लमजुङका मायानाथ अधिकारी अध्यक्ष, नवलपुरका बाबुराम बिक उपाध्यक्ष, कास्कीका रश्मि आचार्य सचिवको उम्मेदवार बन्ने गरी टीम तयार भएको छ । सो टीममा म्याग्दीका सन्तोष रावल र कास्कीकी मिना गुरुङ उपसचिवको उम्मेदवार बन्ने तयारी रहेको एक नेताले बताए ।  

गुरुङ प्यानलबाट हालका अध्यक्ष नवराज शर्माको नेतृत्वमा टिम तयार भएको छ । उक्त टिमको पदाधिकारीमा अध्यक्ष शर्मासँगै स्याङ्जाका मिनप्रसाद गुरुङ उपाध्यक्ष, लमजुङका धनञ्जय दवाडी सचिव, पर्वतकी मन्जु अधिकारी र कास्कीका दाम बहादुर बिक उपसचिवको टिम तयार भएको छ । यही टिमबाट लेखा आयोग अध्यक्ष उम्मेदवार नवलपुरका अमृत ज्ञवाली, उपाध्यक्ष उम्मेदवारमा गोर्खाका गिरधारी सापकोटा बन्ने तय भएको छ । आयोगको सचिवमा बाग्लुङका वीर बहादुर बिक टुंगिएको छ ।

बिहान ९ बजेसम्मलाई उम्मेदवारी दर्ता गर्ने समय मंगलबार प्रकाशित गरेपनि विविध कारणले समय फेरबदल भएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता थापामगरले जानकारी दिए  । उनका अनुसार अहिलेसम्म प्यानल नै भनेर उम्मेदवारी दर्ता भएको छैन् । अहिले पोखरा सभागृह हलमा उम्मेदवारी दर्ताको कार्यक्रम चलिरहेको छ । दर्ताको समयनै सर्दै गर्दा बुधबार निर्वाचनको संभावना कम रहेकाले बिहीबार मात्र चुनाव हुने उनले जानकारी दिए । 

गण्डकी एमालेमा १ सय ६५ जनाको कमिटी गठन हुनेछ । गण्डकीमा नेतृत्व छान्न ९ सय ७ जना प्रतिनिधि पोखरामा छन् । ८५ मध्ये ८४ पालिकामा सर्वसम्मत प्रतिनिधि चयन भएकोमा कास्कीको रुपाले भने मतदान मार्फत प्रतिनिधि छनोट गरेको थियो । अधिवेशनका लागि कास्कीबाट सबैभन्दा धेरै १ सय ४६ र मनाङबाट सबैभन्दा कम १४ प्रतिनिधि सहभागी छन् । प्रतिनिधिहरुलाई पोखराका विभिन्न २१ वटा होटलहरु बुक गरेको राखिएको छ । 
 


Author

थप समाचार
x