गण्डकी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडानको तयारी

धनबहादुर गुरुङ |
फागुन ११, २०७९ बिहीबार २०:४० बजे

पोखरा- घरेलु उडान मात्र भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडानको तयारी थालिएको छ । सबै प्रक्रिया पूरा भएपछि रात्रिकालीन उडानका लागि विमानस्थल तयार रहेको जानकारी दिइएको छ । 

विमानस्थल रात्रिकालीन उडानका लागि तयार रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए । ‘रात्रिकालीन उडानका लागि हामी तयार छौं,’ उनले भने, ‘९ मार्चबाट बुद्धले राती उडाउने त भनिसकेको छ । त्यो भन्दा अघि कहिले हुन्छ हेर्दै जाम ।’ आन्तरिक उडानतर्फ बिहानदेखि सुरु भएपनि दिउँसो ४ बजे विमानस्थल बन्द गर्नुपर्ने अवस्थाको रात्रिकालीन उडानसँग अन्त्य हुने गौतमले बताए । 


रात्रिकालीन  र अन्तर्राष्ट्रिय उडान दुवैको तयारी भइसकेको विमानस्थल प्रमुख गौतमले बताए । पोखरा विमानस्थल इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) भोलि फेब्रुअरी २३ बाट लागू हुन्छ । योसँग रात्रिकालीन र अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थलको म्याचुरिटी पिरियड पुग्छ । फ्लाइट प्रमाणित नेपाल नागरिक उड्डयन प्राधिकरणले चोक जाँच गरेर रात्रिकालीन उडान गर्न अनुमति दिएको हो । प्राधिकरणले बुद्धलाई अनुमति दिइसकेको उनले बताए । 

विमानस्थलमा चराको समस्या पनि उत्तिकै छ । तर, विविध उपाय अपनाएर सफल उडान भइरहेको गौतमले बताए । पोखरा प्राकृतिक रुपमा चरा बस्नका लागि उपयुक्त ठाउँ भएकाले चराबाट सतर्क हुनुपर्ने उनको भनाई थियो । यसका लागि नदी, कुलो, खोल्सा लगायतामा मरेका जीवजन्तु फाल्न रोक लगाउँदै सरसफाइमा ध्यान दिनुपर्ने उनले बताए ।

केही दिन अघि मरेको गिद्ध सिधैं जहाजमा ठोकिएर नभएको जानकारी दिए । ‘केही दिन अघि जहाजमा ठोकिएर गिद्ध मरेको भन्ने धेरै समाचार आयो । तर, त्यो होइन,’ उनले भने, ‘चरा मर्ने ३ वटा कारण हुन्छन् । पहिलो सिधैं ठोकिएर, दोस्रो जहाज अगाडि गएपछि त्यसको हावाको बेगले र तेस्रो भनेको जेट विमानको तातो हावाले हो ।’ 

पोखरा महानगरका मेयर धनराज आचार्यले पनि विमानस्थलमा अन्तर्राष्ट्रिय र रात्रिकालीन उडानका लागि सबै तबरबाट तयार रहेको बताए । यसका लागि पोखरा महानगरले संघ सरकारसँग पनि आग्रह गर्ने बताए । 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले भारतले सानो नेपाललाई ठूलो आकाश प्रयोग गर्न कन्ज्यूसाई गरेको बताए । यसमा छलफल र बहस आवश्यक रहेको उनको भनाई थियो । एयरब्रिजसहितको विमानस्थलमा त्यसको प्रयोगको वातावरण बन्नुपर्ने मुल्मीले बताए । 


Author

थप समाचार
x