बागमती

कीर्तिपुर सफा राख्‍न नगरपालिकाको प्रयास

सफाइमा नम्बर वान बन्ला त कीर्तिपुर ?

सुनीता साखकर्मी |
पुस २८, २०७७ मंगलबार ७:४५ बजे

काठमाडौं : कीर्तिपुस्थित बाघभैरव मन्दिरको दाहिनेपट्टि सानो गल्ली छ । गल्लीमा मकैका घोगामा दानाहरुजस्तै मिलेर बसेका घरहरु छन् । ती घरहरू एकापसमा भिन्‍न छन् । रंग मात्रै होइन, बनावट पनि एक घरको अर्काे घरसँग मिल्दैन । कुनै घरका इँटा माटाले जोडिएका छन्, त कुनैका बालुवा सिमेन्टले । तर, थुपै्र कुराहरुमा फरक भए पनि यी घरहरुको एउटा कुरामा भने समानता छ । त्यो हो- गल्लीका हरेक घरको ढोकाबाहिर हरियो रंगको डस्टबिन राखिएका छन् जसमा ‘स्वच्छ हराभरा कीर्तिपुर’ लेखिएका छन् ।

कीर्तिपुर नगरपालिकाको वडा नं १ मा रहेको यो गल्लीका सडक सफा छन् । केही घरको ढोकाबाहिर फुलका गमला पनि छन् । डस्टबिनमा लेखिएजस्तै कीर्तिपुरलाई स्वच्छ हराभरा बनाउने प्रयास यो गल्लीमा गरिएको देखिन्‍छ ।


कीर्तिपुर नगरपालिकाको फोहोर व्यवस्थापन शाखाका ज्ञानबज्र महर्जनका अनुसार केही समयअघि नगरपालिकाका केही वडाले आफ्ना वासिन्दालाई यस्ता डस्टबिन बाँडेका हुन्, जसले गल्ली सफा राख्‍ने काम गरेको छ । 
‘यो कीर्तिपुरलाई सफा राख्‍न गरिएको सानो प्रयास हो,’ उनी भन्‍छन्, ‘पूरै कीर्तिपुर सफा भइसकेको छैन । हामी सफा गर्ने प्रयासमा गर्दैछौँ ।’

कीर्तिपुर नगरपालिकाले विभिन्‍न कार्ययोजना बनाउनुका साथै विभिन्‍न प्राइभेट संघसंस्था सँग समन्वय गरी नगर सफा राख्‍ने काम गरिरहेको छ । त्यसबापत प्राइभेट कम्पनीले नगरपालिकालाई उल्टै पैसा तिरिरहेको छ । त्यस्तै नगरपालिकाले कीर्तिपुर फोहोर व्यवस्थापन सेवा प्रा.लिसँग पनि सहकार्य गरेको छ ।

यसले कीर्तिपुरका विभिन्‍न ठाउँमा कुहिने र नकुहिने फोहोर फरक दिन फरक समयमा फरक गाडीले उठाउँछ । घरकै दैलोमा पुगेर कुहिने र नकुहिने फोहोर संकलन भइरहेको छ । हरियो गाडीले कुहिने फोहोर र खैरो गाडीले नकुहिने फोहोर संकलन गरिरहेका छन् । कुहिने फोहोरलाई कम्पोष्ट मल उत्पादन तथा पुनः प्रशोधन केन्द्रमा लगि मल बनाउँछ । प्लास्टिक जन्य सामाग्रीहरुको व्यवस्थापन फरक तरिकाले गर्छ ।

नगरपालिकाले ‘टिपनटापन फोहोर संकलक’ पनि चार जना भर्ती गरेको छ, जसले कीर्तिपुर नगरको चारैतिरको रिङरोड क्षेत्रमा फ्याँकिएका फोहोरहरु दिनभर संकलन गर्छन् । 

त्यस्तै नगरपालिकाले स्थानीयलाई नै सरसफाइमा ध्यान दिन जनचेतना दिनको लागि जनसहभागितामा नै सफाइ कार्यक्रम सञ्चालन गर्दै आएको छ । बाल क्लब, महिला समुह लगायत विभिन्‍न समुहरुलाई समेत यस कार्यबारे सूचना दिई स्वयंसेवकको रुपमा सफाइ गर्न लगाइरहेका छन् ।

त्यस्तै राति-राति आँखा छली चोभार क्षेत्रमा फोहोर फ्याक्न आउनेहरु टन्‍नै हुने नगरपालिकाका फोहोर व्यवस्थापन शाखाका ज्ञानबज्रले बताए । उनीहरुलाई पनि समातेर पटकपटक दण्ड दिइसकिएको छ । कुनै पनि ठाउँमा फोहोर फालिरहेको भेटिएमा स्थानीयले प्रहरीकहाँ उजुरी गरेपछि उनीहरु समातिन्‍छन् र कारवाही गरिन्‍छ । त्यसकारण स्थानीय नै जागरुक हुनुपर्ने उनले बताए ।

जबसम्म स्थानीय सचेत हुँदैनन्, तबसम्म नगरपालिकाले मात्रै सफा गरेर नगर सफा नहुने फोहोर व्यवस्थापन शाखाका ज्ञानबज्र बताउँछन् । उनी भन्‍छन्, ‘स्थानीयले पनि पहल गरे मात्रै नगर सफा हुने हुन्‍छ ।’

त्यस्तै पहिले कीर्तिपुरको विभिन्‍न स्थानमा खुल्ला डम्पिङ साइट थियो । कीर्तिपुरकै बाघभैरव मन्दिरको पछाडिपट्टि रहेको डम्पिङ साइट पनि अझै सफा भइसकेको छैन । कीर्तिपुरमा भएका यस्ता डम्पिङ साइटहरु पनि विस्तारै हटाउँदै जाने उनले दावी गरे । भने, ‘मन्दिरहरुमा डस्टबिन राखिएको छ, तर पुजाहरु हुँदा भोज खाएर मानिसहरु जथाभावी खाएका प्लास्टिकका सामानहरु फालिदिन्‍छन् । त्यस्तै मन्दिर वरपर घुम्न जाने पर्यटकहरु पनि खानेकुरा खाएर फोहोर फ्याँकिदिन्‍छन् । यसलाई व्यवस्थापन गर्न हामी कार्ययोजना बनाउँदै छौँ ।’

त्यस्तै आन्तरिक र बाह्य पर्यटकका लागि सडकमा फोहोर नगर्नको लागि सन्देश दिने उद्देश्यले सूचना पनि सार्वजनिक गर्न लागेको उनले बताए । चम्पादेवी जाने रुट पनि सफा राख्‍नको लागि केही दूरीमा डोको राख्‍ने तयारी भइरहेको उनले सुनाए ।

‘हामीले आफ्नो तर्फबाट कीर्तिपुरलाई सफा राख्‍न कोशिस गरिरहेकै छौँ,’ उनी भन्‍छन्, ‘यसमा हामीले मात्रै कोशिस गरेर पुग्दैन । स्थानीय र यहाँ आउने पर्यटक दुबैको साथ चाहिन्‍छ । तब मात्रै कीर्तिपुर पूर्णरुपमा सफा हुन्‍छ ।’


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x