बागमती

‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’, कुन वडामा कुन उद्यम

इकागज |
चैत २८, २०८० बुधबार २१:२० बजे

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले आज १५ वटा वडामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ सुरु गरेको छ । सामाजिक विकास विभागले राष्ट्रिय सभा गृहमा औपचारिक समारोह आयोजना गरेर कार्यक्रम थालनी गरेको हो । त्यस अवसरमा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, गुणस्तरीय स्वदेशी उत्पादनले आयात विस्थापन गर्दै लैजान साना साना उद्यम विकास कार्यक्रम थालिएको जानकारी दिइन् ।​

‘संख्यात्मक रुपमा यस अघि धेरै तालिम भए । ती तालिमबाट थोरै मात्र उद्यमी भए । बाँकीले भेटेसम्म तालिम लिए तर सीपयुक्त हुने क्षमता विकास गरेनन् ।’ विगत अभ्यासका बारेमा कुरा गर्दै उनले भनिन, ‘एक वडा, एक नमूना उद्यम कार्यक्रममा जुन वडामा जुन उद्यम छानिएको छ, त्यही उद्यमको तालिम दिएर सीपयुक्त बनाउँछौँ । उद्यमी बन्न दृढ इच्छा भएकालाई मात्र तालिम दिन्छौं । उत्पादनमा रुपान्तरण हुन नसक्ने खालका तालिम रोक्छौँ । तालिम लिएकालाई उद्यमी बनाउँछौँ ।’ गुणस्तरीय सामान उत्पादन भएपछि ‘नेपाल उत्पादन मेला’ गर्ने, त्यसभित्र पनि ‘काठमाडौँ उत्पादन’को छुट्टै स्थान बनाउने र वडाका खाली ठाउँहरूमा मेला गरेर स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने योजना रहेको उनको भनाइ थियो । 


उद्यमशील विकासमा महानगरपालिकाले अहिलेसम्म हासिल गरेका उपलब्धि र सिकाइलाई संस्थागत गर्दै समस्यालाई सिकाइका रुपमा विकास गर्ने प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बताए । ‘गुणस्तरीय नेपाली उत्पादन विदेशमा निर्यात हुन्छ । काठमाडौँका वडाबाट उत्पादन भएका उत्पादनले पनि यो क्षमता राख्छन् । प्रयास गरौँ ।’

‘सीप सानो हुँदैन । सानो उद्यमबाट जीवन यापन गर्न पर्याप्त आय प्राप्त भएको हामीले तालिम दिएका महिलाहरूको अभ्यास भएको छ ।’ सामाजिक समितिका संयोजक रामकुमार के. सी. ले भने, ‘ग्रामीण क्षेत्रका महिलाहरू सबै काम सकेर उद्यम गरिरहेका हुन्छन् । काठमाडौँका महिलाहरूले गृहस्थी जीवनसँगै उद्यमी बन्न सक्छन् ।’ वडा नं. २ का अध्यक्ष एवं सामाजिक समितिका सदस्य राजेन्द्रकुमार श्रेष्ठले, धेरै प्रयासपछि तालिमबाट प्राप्त सीप उद्यममा रुपान्तरण हुन लागेको बताए । 

यस वर्षका लागि उद्यम विकास र प्रविधि हस्तान्तरणका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसबाट कार्यक्रम सञ्चालन गर्नेछौँ । सामाजिक विकास विभागका निमित्त प्रमुख बिमला कोइरालाले, महिलासँगै पुरुषहरू पनि कार्यक्रम सहभागी हुन सक्ने बताइन् । 

कुन वडामा कुन उद्यम

वडाहरुले स्थानीय उद्यमीहरुको रुचि, यसअघि भइरहेका अभ्यास, कच्चा पदार्थको उपलब्धताजस्ता आधारमा विभिन्न उत्पादन छानेका छन् । यीमध्ये धेरै वडाले मस्यौरा बनाउने, तितौरा बनाउने, अचार बनाउने उद्यम छानेका छन् ।  विभागका अनुसार अहिले १५ वटा वडाका लागि एक एक वटा उद्यम छानिएका छन् । वडा नं. ५ मा प्रविधि हस्तान्तरण हुने भएको छ । यस वडामा माटाका भाँडा बनाउने उद्यमबाट सामानहरू उत्पादन हुन थालेपछि यसको प्रवर्धन र उत्पादन मात्रा बढाउन प्रविधि हस्तान्तरण गर्न लागिएको हो । 

१)    वडा नं. १ – गुन्द्रुक र मस्यौरा
२)    वडा नं. २ – मस्यौरा र तितौरा
३)    वडा नं. ३ – फेल्टको सामान बनाउने
४)    वडा नं. ४ – फेल्टको सामान बनाउने 
५)    वडा नं. ७ – क्रिष्टल तथा पोतेको गहना बनाउने 
६)    वडा नं. ८ – दुना टपरी र रुद्राक्षको ढक्की बनाउने 
७)    वडा नं. ९ – रुद्राक्षको माला धुप बनाउने 
८)    वडा नं. १० — मस्यौरा र अचार बनाउने 
९)    वडा नं. १२ – सुकुल बनाउने 
१०)    वडा नं. १६ – काष्ठकला
११)    वडा नं. २१ – कटाँ की मूर्ति कुँद्ने 
१२)    वडा नं. २२ – जुत्ता बनाउने
१३)    वडा नं. २४ – ब्याग बनाउने 
१४)    वडा नं. ३० – गुन्द्रुक मस्यौरा बनाउने 
१५)    वडा नं. ३२ – अचार बनाउने  

‘एक वडा एक उद्यम, आफ्नै सीप आफ्नै मौलीकपन, आत्मनिर्भर उद्यमी बन्न, हाम्रै लगानी हाम्रै श्रम’ नारा राखेर कार्यक्रम चलाउन थालेको हो । 


 


Author

थप समाचार
x