बागमती

सेल्टरदाताको स्मृति सभा कोठामै सिमित

सरिता दाहाल |
असार २७, २०७९ सोमबार १८:४९ बजे

मकवानपुर । जसले शंकटमा आफ्नो ज्यानको बाजी राखेर कम्युनिस्ट विचार बोकेर हिड्यो, गाउँ गाउँको कुना कन्दरासम्म कम्युनिस्ट विचार रोप्यो र संगठनलाई बलियो बनायो ।  जीवनलाई पदभन्दा संगठन र सामाजिक हितको खातिर लगायो उस्को सम्झनामा आज मकवानपुरमा सानो कोठामा सिमित व्यक्तिको उपस्थितिमा स्मृति सभा आयोजना गरेको छ । नेकपा एमालेले सेल्टरदाताको उपमा दिएर पार्टी आमाको रूपमा मान्दै आएको स्वर्गीय बालकुमारी थापाको दोस्रो स्मृति सभा पार्टी कार्यालयको सानो हलमा सिमित गरेकाे हाे । 

तत्कालीन राजा वीरेन्द्रले २ जेठ २०३६ मा जनमतसंग्रह घोषणा गरेलगत्तै नेपाली कांग्रेसले प्रजातन्त्रको पक्षमा प्रचार थाल्यो । तत्कालीन नेकपा मालेले भने सक्रिय बहिष्कार गर्ने निर्णय गर्‍यो । जुन निर्णय थापाकै घरमा गरिएको थियो । 


मकवानपुरको हटिया, राजदेवीस्थित पार्टी सेल्टरमा नेकपा मालेका तत्कालीन महासचिव सीपी मैनालीसहित झलनाथ खनाल, माधवकुमार नेपाल, मोदनाथ प्रश्रित, मुकुन्द न्यौपाने, मदन भण्डारी, जीवराज आश्रित, प्रदीप नेपाल लगायत नेताहरू सहभागी केन्द्रीय कमिटी बैठकले यो निर्णय गरेको थियो । 

मकवानपुरकै पहिलो सेल्टरदाता थापाले २०३३ देखि २०४६ सालसम्म पार्टी कार्यालय जस्तै बनाइन् । 

३–४ वैशाख २०३७ मा त्यही घरमा भएको ‘अगुवा महिला कार्यकर्ता प्रथम राष्ट्रिय भेला’ ले अखिल नेपाल महिला (अनेम) संघ स्थापनाको निर्णय गरेको थियो । आज अनेमसंघ मकवानपुरको आयोजनामा भएको स्मृति सभामा पार्टीको सिमित व्यक्तिहरू मात्रै सहभागी थिए । 

अखिल नेपाल महिला संघ संस्थापक अध्यक्ष स्वर्गीय थापाको दोस्रो स्मृति सभामा जिल्ला अध्यक्ष सुमित्रा काफ्ले विभिन्न व्यस्तताका बाबजुद सिमित रूपमा स्मृति सभा गर्न परेको बताइन् । केन्द्रिय सदस्य तथा अनेमसंघ केन्द्रिय सचिवालय सदस्य जुनेली श्रेष्ठले थापाको जीवनसंघर्षबाट आफूहरूले धेरै सिकेको स्मरण गरिन् । 

"दिदीको जीवनकालको घटना, संघर्ष सम्झँदा र आज उहाँ हामीबीच भौतिक रूपमा हुनुहुन्न भन्न पनि गाह्रो हुन्छ" श्रेष्ठले भनिन् "उहाँले सधै पहाड जस्तो मृत्यु हुनुपर्छ भन्नुहुन्थ्यो, त्यो के भन्नुभको हामी बुझ्दैनथ्यौ,आज बुझ्ने भयौ,उहाँको मृत्युु पहाड जस्तै पनि भयो ।" 

थापालाई नचिनेको कारण स्मृति सभामा महिलाको मात्रै उपस्थिति भएको उनको बुझाई छ । "उहाँ महिला मात्रै हुनुहुन्थेन, पार्टीको आमा हुनुहुन्थ्यो तर आज खै उहाँको सम्मानमा उपस्थिति ?" श्रेष्ठले प्रश्न गरिन् । स्मृति सभा थापाकै घरमा पुगेर, खचाखच उपस्थितिमा हुनुपर्नेमा त्यसो नभएको प्रति श्रेष्ठले आफैलाई पीडाबोध भएको बताइन् ।

कार्यक्रममा पार्टी केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज रामेश्वर रानाले भूमिगत कालमा अति नै कष्टकर काम गरेर अखिल नेपाल महिला संघलाई स्थापित गर्दा थापाको योगदानको स्मरण गरे । "उहाँको विचार र दृष्टिकोणलाई हामीले फैलाउनु पर्छ" रानाले भने । 

यसैगरी बागमती प्रदेश पूर्व मुख्यमन्त्री तथा पार्टी केन्द्रिय सल्लाहकार सदस्य डोरमणी पौडेलले  पूर्वजहरूले पार्टीमा गरेको मेहनतको कदर हुने संस्कारको विकास गर्नुपर्ने बताए । "वर्षमा एक दिन मात्रै हैन,उहाँहरूको योगदानलाई हेरेर हामी अघि बढौ" पौडेलले भने ।

कार्यक्रम अनेमसंघ केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज पद्मा पौडेलले महिला भएकोले घरायसी आफ्नो जिम्मेवारी भ्याएर थापाले पार्टीको लागि गरेको काम हेरेर आजको पुस्तालाई उर्जा मिलेको बताइन् । 

मकवानपुरकै पहिलो सेल्टरको रूपमा रहेको थापाको घर हेटौंडा १७ मा पर्छ । थापाले आफ्नाे घरलाई वि स २०३३ देखि २०४६ सालसम्म पार्टी कार्यालय जस्तै बनाएको नेकपा केन्द्रिय सचिवालय सदस्य श्रेष्ठले बताइन् । मुटु रोगको समस्या झेल्दै आएकी थापाको २९ असार २०७७ सोमबारको दिन ७६ वर्षको उमेरमा निधन भएको थियो ।


Author

थप समाचार
x