मधेश

उपप्रमुखद्वारा सरकारी गाडीको दुरुपयोग

इकागज |
चैत १, २०८० बिहीबार १८:११ बजे

सिरहा- सिरहाको एक नगरपालिकाको जनप्रतिनिधिले सरकारी गाडीको दुरुपयोग गर्ने गरेको पाइएको छ । जिल्लाको कल्याणपुर नगरपालिकाका उपमेयर रेखा यादवले सरकारी गाडीको चरम दुरुपयोग गरिरहेको पाइएको हो । 

नगरको कामकाजमा सहजताका लागि नगरपालिकाले उपमेयरलाई दिएको सरकारी गाडी उनले निजी जस्तै गरी प्रयोग गर्दै आएको स्थानीयहरू बताउँछन् ।


कार्यालयमा बिरलै देखिने उपमेयर यादव चढ्ने प्रदेश २–०२००१ झ ००३६ नम्बरको स्कोर्पियो निजी काममा प्रयोग गरेको स्थानीय रामकुमार यादवले बताए । उनले भने, 'उनी त उनी, उनका श्रीमान् अजय यादवले समेत बिहे भोजभतेर लगायतको निजी कामकाजमा प्रयोग गर्दै आइरहेका छन् ।' ​

कल्याणपुर गाउँबाट सोमबार अबेर राति उपमेयरका श्रीमान् अजय यादव र गाउँका ६/७ जनालाई गाडीमा बोकेर जन्तीका लागि जनकपुर गएको नाम नखोल्ने सर्तमा एक स्थानीयले बताए । उनले भने, 'जनकपुरस्थित आरजी होटेलमा कल्याणपुरबाटै गएको जन्तीमा बिहेका सामग्री लोड गरी उनी त्यहाँ गएका थिए ।'

सोमबार सार्वजनिक बिदा थियो । उनले जनकपुर जाँदा बाटाेमा कयौँ प्रहरी र ट्राफिक कार्यालय पार गरे । तर, कसैले केही गरेनन् । सरकारी गाडीको दुरुपयोग गरेको विषयमा स्थानीयले निरन्तर रूपमा विभिन्न माध्यमबाट सरोकारवाला निकायलाई जानकारी गराए पनि सम्बन्धित निकाय मौन भएर बसेका छन् । गाडीको दुरुपयोग गर्नेलाई कानुनी कारबाहीको व्यवस्था नै छ । तर, सरोकारवाला निकायले यस विषयमा मौनता साँधेको स्थानीयहरूले आरोप लगाएका छन् । न्युजकारखाना

 


Author

थप समाचार
x