मधेश

जनकपुरधामका मन्दिरहरूमा अन्नकुट पर्व मनाइयो

सुभाष कर्ण |
कात्तिक २८, २०८० मंगलबार १८:२४ बजे

जनकपुरधाम- जनकपुरधामसहित तराई मधेशका मिथिलाञ्चल क्षेत्रमा यमपञ्चकको चौथो दिन भगवानलाई खाद्यान्नका ५६ व्यञ्जन (परिकार) भोग चढाई अन्नकुट पर्व मनाइएको छ । आज बिहानदेखि नै जनकपुरधामको जानकी मन्दिर र राममन्दिरसहित मठ मन्दिरहरूमा अन्नकुट पर्व मनाइएको हो ।

अन्नकुट पर्वमा आराध्य देव भगवान रामजानकीलाई ५६ परिकारहरूकाे भोग लगाइएको हो । मर्यादा पुरुषोत्तम भगवान् राम लङ्कामा विजयी भएर फर्केको खुशीयालीमा ५६ प्रकारको व्यञ्जनहरू तयार पारेर भोग लगाएको परम्परालाई अहिले पनि निरन्तरता दिने काम भएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताएका छन् ।


जनकपुरधाममा रहेका प्रत्येक मठ मन्दिर तथा घरहरूमा अन्नकुट पर्व मनाइन्छ । प्रत्येक वर्ष दीपावली सकिएको भोलिपल्ट मनाउने चलन रहे पनि यस वर्ष आज परेकाले आजै पर्व मनाउने तयारी भइरहेको महन्थ दासले बताए । 

अन्नकुटका लागि तयार पारिएका सामग्रीहरू भगवानलाई अर्पण गरिसकेपछि प्रसादको रूपमा साधुसन्त, महन्थहरूसहित सर्वसाधारणलाई भोजन गराइएको छ । प्रत्येक वर्ष झैँ यस वर्ष पनि हजारौँ व्यक्तिलाई प्रसाद ग्रहण गराइएको उनले बताए । विश्व शान्ति तथा मानव कल्याणका लागि प्रत्येक वर्ष आयोजना हुने गरेको अन्नकुटका प्रसाद ग्रहण गर्नका लागि ठूला ठूला व्यक्तिहरू पनि मठ मन्दिरहरूमा आफैँ पुगेका थिए ।

जनकपुरधामको सीताकुण्डमा २०३२ सालदेखि नै भव्य रूपमा अन्नकुट पर्वको आयोजना गर्दै आएको मन्दिरका महन्थ एवं श्रीरामानन्दीय वैष्णव संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका रामनरेश उपाध्यायले जानकारी दिएका छन् । जनकपुरधामको सीताकुण्डका अतिरिक्त जानकी मन्दिर, राम मन्दिर , रत्नसागर, अग्निकुण्ड, विहारकुण्डसहित दर्जनौँ मठ मन्दिरहरूमा धुमधामका साथ पर्व मनाउने गरिएको छ । 

अन्नकुट र गोवर्धन पूजा

कात्तिक महिनाको शुक्ल पक्षको प्रतिपदा तिथिका दिन मिथिलाञ्चलमा गोवर्धन पूजाका दिनमा नै अन्नकुट पर्व मनाउने गरिन्छ । कतिपयले यसलाई भगवान राम र कसैले भगवान कृष्णसँग जोडेका छन् । कात्तिक महिनाको प्रतिपदाका दिन बलि पूजा, अन्नकुट, मार्गपाली आदि उत्सव समेत हुने गरिन्छ । प्रारम्भमा ’व्रज’ (स्थान) मा मनाउने गरिएको यो पर्व कालान्तरमा मिथिलामा समेत भगवान रामको ससुराली भएको कारण मनाउन थालिएको हो ।

अन्नकुट र गोवर्धन पूजा द्वापर युगमा भगवान कृष्णको अवतारकै समयमा प्रारम्भ भएको धर्मग्रन्थहरूमा उल्लेख रहेको पाइन्छ । गाईगोरु आदि मानव सेवा गर्ने प्राणीलाई स्नान गराएर फूल माला, धूप, चन्दन आदिले पूजा गरिन्छ ।

गोबरले गोवर्धन पर्वत बनाएर पूजाअर्चना गरिन्छ । कात्तिक शुक्ल पक्षको प्रतिपदाका दिन भगवानका लागि भोग नैवेदमा नियमित प्रसादका अतिरिक्त अन्नबाट बनेको काँचो वा पकाएको भोग, फलफूल आदि अनेक प्रकारका पदार्थ अर्पण गर्ने गरिन्छ जसलाई ५६ भोग भनिन्छ । सोही भोग प्रसादको रूपमा भक्तजनहरूमा बाँड्ने गरिन्छ । यो पर्वका दिन नयाँ अन्नबाट बनेको भोग भगवानलाई अर्पण गरिन्छ त्यसैले यो पर्वको नाउँ अन्नकुट परेको संस्कृतिविद रेवतीरमण लालको भनाइ छ ।

हुन त यो पर्व गोवर्धन पूजाकै अन्नकुट समारोह हो । प्राचीन कालमा व्रजवासी वर्षाका स्वामी इन्द्रलाई प्रसन्न राख्नका लागि यो पर्व मनाउन सुरु गरिएको हो । व्रजवासीले सोही दिन भगवान इन्द्रको पूजा गरी षडरसपूर्ण ५६ भोग, ३६ व्यञ्जन भोग लगाउने गर्थे । सोही दिन द्वापर युगमा भगवान कृष्णले इन्द्रको पूजा बन्द गराएर गोवर्धन पर्वतको पूजा आरम्भ गराएका थिए । 

यो देखेर भगवान इन्द्र कुपित भएर मूसलाधार वर्षा गराए, जसबाट पूरै व्रज डुब्न लाग्यो । त्यसपछि भगवान कृष्णले गोप र गोपीनीहरूलाई बचाउनका लागि आफ्नो हातको कान्छी औँलामा गोवर्धन पर्वतलाई उठाएर इन्द्रको मानमर्दन गरेका थिए । सोही दिनबाट व्रजवासीलाई सुरक्षा प्रदान गर्ने पर्वत गोवर्धनलाई पूजाअर्चना आरम्भ गराएर अन्नकुट पूजाको समेत आरम्भ गराएको पौराणिक कथा छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x