मधेश

पीडित भन्छन् : कपाली तमसुक घटनामा प्रहरीले असहयोग गर्‍याे

सुभाष कर्ण |
कात्तिक २१, २०८० मंगलबार २०:२० बजे

जनकपुरधाम- बलजफ्ती कपाली तमसुक बनाएको घटनामा न्यायका लागि प्रहरी प्रशासनले असहयोग गरेको आरोप लगाइएको छ । पीडित धनुषाको हंसपुर नगरपालिका ४ मनिपट्टीका रामआशिष दासले मंगलबार पत्रकार सम्मेलनकाे आयोजना गर्दै औरही गाउँपालिका १ पौडेश्वरका रामविलास दासलगायतका समूहले आफूलाई कुटपिट गरी २० लाख रुपैयाँको कपाली तमसुक बनाएको घटनामा प्रहरीसहित सम्बन्धित निकायले असहयोग गरेको आरोप लगाएका हुन् ।

गएको वैशाख २५ गते जनकपुरधाम पुलचोकस्थित पसल बन्द गरेर पीडित घर गइरहेको बेला यदुकोहा सडकखण्डमा तेतरिया बजारस्थित पुल नजिक रामविलासको नेतृत्वमा रहेका ती व्यक्तिहरूले अपहरण शैलीमा कुटपिट गरी हातहतियार देखाएर १५/२० वटा कागजमा बलजफ्ती सहीछाप गराएको उनले बताए ।


घटना भए लगत्तै न्यायका लागि जिल्ला प्रशासन कार्यालयमा जाँदा प्रहरीले हेर्ने मुद्दा रहेको भनी उजुरी लिन नमानेकाे पीडित दासकाे भनाइ छ । 'ती दिनदेखि जिल्ला प्रहरी कार्यालयमा महिनौँ धायौँ तर प्रहरीले उजुरी दर्ता गरेनन् । अन्ततः बाध्य भई हुलाक मार्फत उजुरी पठाएका छौं,' उनले सुनाए । 

धनुषाका तत्कालीन एसपी विश्वराज खड्काले आज समात्छौं, भोलि समात्छौं भनी आरोपितलाई समात्नु त के उजुरी समेत दर्ता नगरेको उनकाे गुनासाे थियाे । उनले भने, 'आफ्नो उजुरी दर्ता गर्नुको त कुरा परै जाओस् जिल्ला सरकारी वकिल कार्यालय समेतले आवश्यक कारबाहीका लागि जाहेरी दरखास्त पठाएकोमा तीन महिना बितिसक्दा पनि कुनै चासो जिप्रकाले लिएको छैन ।'

उनले हुलाक कार्यालयमार्फत् जिल्ला प्रहरी कार्यालयसहित, जिल्ला प्रशासन कार्यालय, उच्च अदालत, जिल्ला तथा उच्च सरकारी वकिल कार्यालय, प्रदेश गृहमन्त्रालय, मुख्यमन्त्रीको कार्यालय, प्रदेश प्रहरी कार्यालय, मुख्यन्यायाधिवक्ताको कार्यालय, प्रधानमन्त्रीको कार्यालय र संघीय गृहमन्त्रालयसहितका निकायमा उजुरी दर्ता गराएकाे उल्लेख गरे ।

घटनाबारे रामआशिषले भने, 'मलाई कुटपिट गरेको अवस्थामा कुन कुन कागजातमा सहीछाप गरायो थाहा भएन । तर, पछिल्लो पटक मविरुद्ध अदालतमा २० लाख ऋण लिएको भनी कपाली तमसुकसहित मुद्दा दर्ता गराइएपछि त्यस बेला मसँग कपाली तमसुकमा सहीछाप गराएको भन्ने कुरा थाहा पाएँ ।'

आफूसँग नामै नसुनेका व्यक्ति महोत्तरी जिल्ला लोहरपट्टी ५ निवासी अशोककुमार ठाकुरसँग २० लाख रुपैयाँ ऋण लिएको भनी पुरानो मिति २०७४ माघ १४ गतेको मितिमा कपाली तमसुक बनाएको थाहा पाएकाे उनले बताए ।

आरोपित रामविलासबाट बलजफ्ती कपाली तमसुक घटनामा रामआशिष मात्र नभई उनकै पौडेश्वर गाउँका मदनेश्वर ठाकुरलगायतका कयौं व्यक्ति पीडित रहेकाे उनले जिकिर गरेका छन् । मदनेश्वरले भने आफ्नो छिमेकी नै रहेका रामविलासले पुर्ख्यौली जग्गा विवादमा रामविलासले आफूलाई घरमा बन्धक बनाई हातहतियारको बलमा बलजफ्ती कपाली तमसुकसहितका कागजातहरूमा सहीछाप गराएको मदनेश्वरले बताए । उनले भने, 'घटना सम्बन्धमा सहीछाप गराएको कागजात फिर्ता गरिदिन गाउँमा कयौं पटक पंचायत समेत भइसकेको छ । यति मात्र होइन ती सहीछापले आगामी दिनमा समस्या हुन सक्छ भनेर जिल्ला अदालतमा मुद्दा समेत हालेका छौं ।'


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x