मधेश

तराई-मधेसमा यमपञ्चक

सुवास कर्ण |
मंसिर १, २०७७ सोमबार १८:११ बजे

जनकपुरधाम : नेपालीको दोस्रो ठूलो चाड तिहार पाँच दिनसम्म मनाइन्छ । पाँच दिन मनाउँने हुनाले यसलाई यमपञ्चक भनिन्छ । तिहारको दुई अघि र दुई दिनपछिसम्म कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल दि्वतियासम्म पाँच दिन विभिन्न पर्वसहित यमपञ्चक/तिहार मनाइन्छ । यमपञ्चक सबै हिन्दु धर्मावलम्बीहरूले मनाउने गर्छन । तर यसको मनाउने तरिका फरक छ । पहाड र तराई/मधेसमा मनाउने शैली फरक छ । भित्री मधेसमा भने 'मिक्स' छ । 

पहाड र भित्री मधेसको उपल्लो भेगमा यमपञ्चकको पहिलो दिन काग तिहार, दोश्रो दिन कुकुर तिहार, तेश्रो दिन गाई तिहार, चौथो दिन गोरु पुजा र अनि्तम पाँचौ दिन भाईटिका गरेर मनाईन्छ । तर तराई मधेसमा मैथिल र भोजपुरी भाषीले यो भन्दा अलि फरक ढंगले मनाउने गर्छन । तराई मधेसमा यमपञ्चकको पहिलो दिन धन्तेरस, दोश्रो दिन हनुमान जयन्ती, तेश्रो दिन दिपावलीमा लक्ष्मी तथा कालीपूजा, चौथो दिन अन्नकुट-गोधन र पाँचौ दिन भातृ द्‍वितीय मनाइने गरिन्छ । भातृदि्वतीयलाई यमदि्वतीया, भरदि्वतीया र भैयादूज नामले समेत चिनिन्छ। नाम फरक भएपनि मनाउने तरिका एउटै हुन्छ । यसदिन भाईलाई निम्तो दिई दिदी बहिनीले न्यौतने गर्छन ।


तराई-मधेसको यमपञ्चक

धन्तेरश

कात्तिक कृष्णपक्ष त्रयोदशीका दिन आयुर्वेदकी देवी धनवन्तरीको पुजापाठ गरी धनवन्तरी जयन्ती मनाइन्छ । तर तराई मधेसतिर धनकी अधिष्ठात्री मानेर माता लक्ष्मीको स्वरुपा धनवन्तरीको पुजापाठ गरी धन्तेरस मनाउने गरिन्छ । यसदिनलाई धन आर्जन गर्ने पर्वको रुपमा मनाउने गरिन्छ । धनतेरशका दिन धन आर्जन गरिएमा कहिलेपनि कमी नहुने जनविश्वास रहेको छ । वर्षभरि कमाइएको धनबाट धन्तेरशका दिन सुनचाँदीको गरगहाना र भाडा वर्तन लगायतका घरायसी सामाग्रीहरू खरिद गर्ने प्रचलन छ । धन्तेरशका दिन कसैलाई सापटी, उधारो र नगद रुपैयाँ परम्परा अनुसार दिंदैन ।

हनुमान जयन्ती

काति्तक कृष्णपक्ष चतुदर्शी अर्थात तिहारको पुर्वसन्ध्यामा हनुमान जयन्ती मनाइन्छ । भगवान हनुमानको जन्म भएको स्मरणमा तराई मधेसमा परापुर्वकालदेखि विशेष पूजापाठ गरी हनुमान जयन्ती मनाइन्छ । हनुमान जयन्तीको अवसरमा विभिन्न मठ मनि्दर सहित घर घरमा बाजागाजा सहित शोभा यात्रा, हनुमान अराधना, सुन्दरकाण्ड, हनुमान चालिसा र भजनकिर्तनको आयोजना गरिन्छ ।

दिपावली/लक्ष्मी पूजा

कात्तिक कृष्ण अमावस्याका दिन तिहार अर्थात दिपावली माता लक्ष्मी र कालीको पूजापाठ गरी मनाइन्छ । यसदिन घर तथा व्यवसायिक प्रतिष्ठानलाई सरसफाई गरी धनकी अधिष्ठात्री माता लक्ष्मीको पूजापाठ गरिन्छ । माता लक्ष्मीसंगै कुल देवता र भगवती स्वरुप कालीको पूजा समेत गरिन्छ ।

दिपावलीका दिन घर आँगन र व्यवसायिक प्रतिष्ठान माटोको दियो र विद्युतिय झिलिमिली बतीले सजाईन्छ । यसदिन माता लक्ष्मीको पूजा गर्दा धन आर्जनमा वृदि्धमा हुने जनविश्वास रहेको छ । खासगरी भगवान श्रीराम लंकापति रावणको वद्ध गरी गृहनगर अयोध्या फर्केको खुसीमा घर घरमा दियो बालेर पुरापुर्वकालदेखि दिपावली मनाइदैं आएको विभिन्न धर्मग्रन्थमा उल्लेख छ ।

अन्नकुट/गोधन

कात्तिक शुक्ल पैरवा अर्थात यमपञ्चकको चौथो दिन अन्नकुट र गोधन मनाइन्छ । भगवान राम अयोध्या फर्केपछि नगरवासीहरुले खुशहालीमा विभिन्न परिकार बनाएर भगवान रामलाई खुवाएको स्मरणमा मिथिला उहाँको ससुराली भएको कारण प्रत्येक घर र मठ मनि्दरमा ५६ व्यंजनको परिकार बनाएर भगवान श्रीराम-जानकीलाई प्रसाद रुपमा भाग लगाईन्छ ।

जनकपुरधामको जानकी मन्दिर सहित विभिन्न मठ मन्दिरमा भात, दाल, तरकारी, खिर, पुरी, आचार र मिठाई लगायतका ५६ प्रकारकै परिकार बनाई भगवान श्रीराम-जानकीलाई भाग लगाइन्छ । यसै दिन भातृदि्वतीयका लागि गोधन समेत कुटने गरिन्छ । गाईको गोबरमा केराउ राखि मुसलले दिदी बहिनले विभिन्न लोकगीत गाउँदै रमाउंदै गोधन कुटने चलन छ । गोधन कुटिसकेपछि त्यसमा रहेका केराउ संकलन गरी भातृद्वतीयका दिन दाजु भाइलाई न्यौत लिने क्रममा सो केराउ मिठाई सँगै खुवाउने गर्छिन ।

भातृदि्वतीया

यमपञ्चकको अन्तिम दिन कात्तिक शुक्ल दि्वतीयाका दिन पहाड हिमालतिर भाइटिका मनाइन्छ भने तराई मधेशमा भातृदि्वतीया अर्थात यमदि्वतीया-भरदि्वतीया- भैयादूज मनाउने गरिन्छ । दाजुभाई निम्तो दिई विशेष पूजापाठ दि्वतीया तिथिको दिन गरिने भएको हुनाले यसलाई भातृदि्वतीया भन्ने गरिन्छ । यसलाई यमदि्वतीया भन्नुको तात्पर्य माता गंगाले आफ्ना भाई यमराजलाई निम्तो दिई पुजापाठ गरेको किवदन्ती छ ।

भाइ बहिनीको स्नेहको प्रतीकका रूपमा रहेको भातृ दि्वतीया अर्थात् भरदि्वतीया (दाजुभाइको पूजा) पर्व हो । धार्मिक विधि अनुरुप दाजुभाइको दिघार्यु तथा सुख समृध्दिको कामना सहित माइन्छ । बिहान नुहाइधुवाइ गरी घरको आँगनमा पिठारको (चामलको पिठो) अर्पणा बनाई त्यसमाथि सिन्दूर र अबिरले सजाएर राखिएको ठाउँमा काठको पिर्कामाथि दाजुभाइलाई बसाएर उनको निधारमा टीका लगाई दिदीबहिनीले दाजुभाइलाई पूजा गर्ने गर्दछन् ।

पूजाका क्रममा दाजुभाइले दुवै हात अञ्जुली बनाएर बस्छन् । त्यसमा दिदीबहिनीले पाँचवटा पानको पात, सुपारी, द्रव्य र कुभिन्डोको फूल राखेर पवित्र जल हाल्दै धार्मिक विधिअनुरूप मन्त्रोच्चारणसहित दाजुभाइलाई तीनचोटी पूजा गर्छन् ।

पूजाका बेलामा दिदीबहिनीले यी मन्त्रोच्चारण गर्छन -

यमुना नेओतैत छथि यम के,

हम नेओतैत छी भाइके,

हमर भाइ कुम्हरक फूल,

बजरी खाय बज्र भके जिवे,

जेना गंगा यमुना धार बढय,

तहिना हमर भाइके औरदा बढय ।

अर्थात्, जसरी यमुनाले आफ्नो भाइ यमराजलाई घर आउन निम्तो दिइन, त्यसरी नै म पनि आफ्नो दाजुभाइलाई निम्तो दिएको छु । मेरो दाजुभाइ कुभिन्डोको फूल जस्तै होस् (जो छिटो ओइलिदैन), बजरी (एक प्रकारको कडा दाना) खाओस् र वज्र भएर बाँचोस् तथा जसरी गंगा-यमुनाको धार निरन्तर बगिरहन्छ, त्यसरी नै मेरो दाजुभाइको आयु निरन्तर बढिरहोस् भन्ने हो ।

पूजा सम्पन्न भएपछि दाजुभाइले आ-आफ्नो गच्छेअनुसार दिदीबहिनीलाई विभिन्न उपहार, गरगहना, लत्ताकपडा अथवा नगद रुपैया दकि्षणा स्वरूप दिने प्रचलन छ । त्यसपछि दिदीबहिनीले पकाएका मीठा मिठा परिकार दाजुभाइले ग्रहण गर्छन्।

दाजुभाइलाई खुवाएपछि मात्र दिदीबहिनीले पनि भोजन ग्रहण गर्छन् । पौराणिक कथाअनुसार, सत्ययुगमा बहिनी यमुनाले दाजु यमराजलाई आफ्नो घर निम्तो गरी विभित्र प्रकारका मीठा-मीठा खानेकुरा खुवाएर बहिनी यमुनाले खुब सम्मान र सत्कार गरेकी विश्वास छ । यसैदिन कायस्थ जातिले आफ्ना कुलदेवता भगवान चित्रगुप्तको पुजापाठ समेत गर्छन । कलमका उत्तराधिकारी भनिएका कायस्थ जातिका व्यक्तिले यसदिन कलमलाई विश्राम दिई लेखपढ गर्ने कार्य गर्दैनन् ।

यसका साथै यमुना नदीको घाटमा ठूलो मेला समेत लाग्ने गर्छ । धनुषाको विर्तामा समेत यमुना नदीबाट आएको धारका घाटमा प्रत्येक वर्ष मेला लाग्ने गर्छ । यस दिन सो नदीमा स्नान गर्दा पापबाट मुकि्त र दिघार्यु हुने जनविश्वास रहेको छ ।    


Author

थप समाचार
x