कोशी

दलहरुबीच सहमति भए सभामुख चयन हुन्छः उपसभामुख

बाबुराम भण्डारी |
कात्तिक २२, २०८० बुधबार २०:४४ बजे

विराटनगर - कोशी प्रदेश सभाकी उपसभामुख सृजना दनुवारले रिक्त रहेको सभामुख चयनका लागि दलहरुबीच सहमति आवश्यक रहेको बताएकी छन् । उनले त्यसका लागि दलहरुले छिट्टै सहमति गर्नुपर्ने बताइन् । 

बुधबार कोशी प्रदेशका संसदीय मामिलासम्वद्ध संचारकर्मीहरुसँग कुराकानी गर्दै उपसभामुख दनुवारले प्रदेश सभाको बैठकमा बोल्ने सभा सदस्यहरुले सभामुख चयनको बिषय उठाउन थालेकोले त्यसका लागि दलहरुबीच सहमति गरेर प्रक्रिया सुरु गर्न आग्रह गरिन् ।


‘सभामुखको रिक्तताकाबीच पनि सबैको सकारात्मक सहयोगले प्रदेश सभालाई यहाँसम्म ल्याइपुर्‍याएका छौं’ उपसभामुख दनुवारले भनिन् ‘सभामुखको निर्वाचनको कुरा सभामै उठिरहेको छ, दलका नेताहरुबीच सहमति भएपछि यसको प्रक्रिया अघि बढ्छ भन्ने विश्वास छ, सहमतिमै सबैजना अघि बढ्नु प्रदेश सभाका लागि पनि राम्रो हो ।’

कोशी प्रदेश सभाका तत्कालीन बाबुराम गौतमले २०८० साउन १६ मा सभामुख पदबाट राजीनामा दिएका थिए । सभामुख पदमा बहाल रहेकै अवस्थामा गौतमले नेपाली कांग्रेसका उद्वव थापालाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पत्रमा प्रदेश सभा सदस्यको हैसियतमा हस्ताक्षर गरेपछि विवादित बनेका थिए ।

उनको हस्ताक्षर सर्वोच्च अदालतको आदेशले खारेज गरेपछि उनी नैतिक संकटमा जेलिए । दोस्रो पटक पनि थापालाई मुख्यमन्त्री बनाउने सत्ता गठबन्धनको निर्णय कार्यन्वयन गर्न माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालकै निर्देशन अनुसार सभामुखबाट राजिनामा दिनुपरेको उनले बताएका थिए । उनी २०७९ पुस २८ मा सभामुख चयन भएका थिए ।

गौतमको कोशी प्रदेश सभाको सभामुख पदबाट राजीनामा दिएपछि उपसभामुख दनुवारले कार्यवाहक सभामुखको हैसियतमा सभाको नियमित काम गर्दै आएकी छन् । 

सरकार गठनका लागि सभामुख पदबाटै राजीनामा दिएपछि रिक्त भएको सभामुख पद हालसम्म रिक्त रहेको छ । उपसभामुख दनुवारले दलहरुबीच सहमति भएपछि सभामुख निर्वाचनको प्रक्रिया अघि बढाउन आफू तयार रहेको बताइन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x