कोशी

उद्धव थापा ३८ दिन बने मुख्यमन्त्री, कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश (पूर्णपाठ)

बाबुराम भण्डारी |
भदौ २१, २०८० बिहीबार १९:३१ बजे

विराटनगर- नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा ३८ दिन कोशी प्रदेशको मुख्यमन्त्री बनेका छन् । बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले मुख्यमन्त्री थापालाई दोस्रो पटक पदमुक्त गर्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न परमादेश समेत दिएको छ ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलले सर्वोच्चको पूर्ण इजलासको १५ पेज लामो फैसलाबारे जानकारी दिँदै कोशी प्रदेशका मुख्यमन्त्री थापाले प्रदेश सभाबाट प्राप्त गरेको विश्वासको मत संविधान सम्मत् नभएको देखिएको बताए ।


आदेशमा ‘रिट निवेदन उपरको प्रारम्भिक सुनुवाइमा कोशी प्रदेश सरकारका नाउँमा प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागुञ्जेल दीर्घकालीन महत्वको र नीतिगत निर्णय नगर्न नगराउनू भनि अन्तरिम आदेश जारी भएको देखिँदा प्रदेशको कार्यकारिणी अधिकार निहित मन्त्रिपरिषद्लाई लामो समयसम्म सो अवस्थामा राखिरहनु उचित नदेखिएकोले प्रस्तुत आदेश प्राप्त भएको मितिले ४८ घण्टाभित्र नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिमको प्रक्रियाबाट मन्त्रिपरिषद् गठन गर्नु गराउनु भनी प्रत्यार्थी कोशी प्रदेश प्रमुखसमेतका नाउँमा परमादेश समेत जारी गरिएको छ’ भनि उल्लेख छ ।

केन्द्रीय सत्ता गठबन्धनको निर्णय अनुसार गत साउन १६ गते तत्कालीन सभामुख बाबुराम गौतमको राजीनामा गराएर प्रदेश सभाको बहुमत संख्या ४७ पुर्याएका मुख्यमन्त्री थापाले संविधानको धारा १६८ को उपधारा (४) अनुसार ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने बाध्यता स्वरूप भदौ ४ मा विश्वासको मत लिएका थिए । 

तर, उनले विश्वासको मत लिने बेलामा प्रदेश सभा बैठकको अध्यक्षता गरेका अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीले मत विभाजन भइसकेर मत सच्याउने समय समेत समाप्त भएपछि मुख्यमन्त्री थापालाई ९३ सदस्यीय प्रदेश सभाको बहुमत संख्या ४७ पुर्याउन सभाध्यक्षको आसनबाट गएर मतदान गरेका थिए ।

बैठकको सभाध्यक्षले मत विभाजनका क्रममा मत बराबर भएको अवस्थामा मात्रै प्रदेश सभामा निर्णायक मत दिन पाउने संवैधानिक व्यवस्थाविपरीत अध्यक्ष मण्डलका सदस्यले विश्वासको मत लिने क्रममा मतदान गरेको सर्वोच्चको आदेशमा उल्लेख छ ।

सर्वोच्चका न्यायाधीशहरू सपना प्रधान मल्ल, डा.कुमार चुडाल र डा.नहकुल सुवेदी रहेको पूर्ण इजलासमा तीन दिन बहस भएपश्चात बिहीबार फैसला गरेको हो ।

पूर्णपाठ:


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x