कोशी

कोशी प्रदेशका मुख्यमन्त्री थापा फेरि पदमुक्त

एमालेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

बाबुराम भण्डारी |
भदौ २१, २०८० बिहीबार १८:४६ बजे

विराटनगर- सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्राप्त गरेको विश्वासको मत रद्द गरिदिएकाे छ । थापाले प्राप्त गरेको विश्वासको मत रद्द भएसँगै मुख्यमन्त्री थापा पदमुक्त भएका छन् ।

बिहीबार सर्वोच्चका न्यायाधीशहरू सपना प्रधान मल्ल, डा.कुमार चुडाल र डा.नहकुल सुवेदी रहेको पूर्ण इजलासमा तीन दिन बहस भएपश्चात फैसला आएको हो ।


सर्वोच्चले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका थापालाई पदमुक्त गर्दै उपधारा (३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेता नेकपा एमालेका हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न समेत परमादेश जारी गरेको छ ।

प्रदेश सभा बैठकको अध्यक्षता गरेका अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीले मत विभाजन भइसकेर मत सच्याउने समय समेत समाप्त भएपछि मुख्यमन्त्री थापालाई ९३ सदस्यीय प्रदेश सभाको बहुमत संख्या ४७ पुर्याउन सभाध्यक्षको आसनबाट गएर मतदान गरेका थिए ।

सभामुखको हैसियतमा रहेको व्यक्तिले मत बराबर भएको अवस्थामा बाहेक प्रदेश सभामा मतदान गर्न नमिल्ने जिकिर गर्दै एमाले संसदीय दलका नेता कार्कीले सर्वोच्चमा भदौ ६ गते रिट दायर गरेका थिए ।

मुख्यमन्त्री थापाले जेठ ४ गते बसेको प्रदेश सभा बैठकमा लिएको विश्वासको मतको संवैधानिक मान्यतामाथि प्रश्न उठाउँदै रिट दायर गरेका थिए ।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो । सो आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार नीतिगत महत्वपूर्ण निर्णय गर्न नपाउने गरी कामचलाउ बनेको थियो ।

मुख्यमन्त्री थापाले यसअघि पनि प्रदेश सभाका तत्कालीन सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरेर सरकार गठनको दाबी पेस गर्दा सर्वोच्चकै आदेशले उक्त दाबी असंवैधानिक ठहर गरिदिएको थियो । मुख्यमन्त्रीमा पेस गरेको दाबी नै असंवैधानिक भएपछि थापा नेतृत्वको सरकार पदमुक्त भएको थियो ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x