कोशी

विराटनगरमा आज राधाकृष्ण रथयात्रा निकालिँदै

बाबुराम भण्डारी |
भदौ २१, २०८० बिहीबार ९:९ बजे

विराटनगर- वि.सं. १९८८ मा खट यात्राबाट शुरू भएको विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रा आज निकालिँदैछ । ५५औं संस्करणको रथयात्रालाई भव्यता दिन आवश्यक तयारी पुरा भइसकेको मुल समारोह समितिले जनाएको छ ।

खट यात्राबाट शुरू गरेर २०२४ सालदेखि राधाकृष्ण रथयात्राका नामबाट निकालिन थालिएको यो रथयात्रा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने गरिएको छ । दुई महिना अघिदेखि तयारी सुरु गरिएको रथयात्रा आज दिउँसो १ बजे विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट सुरु हुने जनाइएको छ ।


विराटनगरको राधाकृष्ण रथयात्रालाई भारतको जगन्नाथपुरीको रथयात्रा पछिको ठूलो रथयात्रा भएको दाबी गरिन्छ । त्यहि भएर यो रथयात्रामा नेपालसहित भारतको विहार राज्यबाट समेत हजारौं हिन्दु धर्मावलम्बीहरुको सहभागीता हुँदै आएको छ ।

कोभिड–१९ महामारीका कारण २०७७ यताका दुई बर्ष भने रथयात्रा पुनः खटयात्रामै सिमित भएको थियो । गत बर्षदेखि भने झाँकीसहितको रथयात्रा पुनः सुरु भएको हो । यस बर्ष करीव पाँच लाख मानिसले रथयात्रामा सहभागी भई अवलोकन गर्ने अनुमान गरिएको राधाकृष्ण रथयात्रा मुल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले बताए ।

राधाकृष्ण मन्दिरदेखि सुरु हुने राधाकृष्ण रथयात्रा मेनरोड हुँदै ट्राफिक चोक–रोडशेष चोक– महेन्द्र चोक– बरगाछी पुगेर दुर्गा चोक हुँदै जम्मा ९ किलोमिटर दुरी पार गर्दै पुनः राधाकृष्ण मन्दिरसम्म गएर समापन हुनेछ । 
रथ तान्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्वमा करीव पाँच सय स्वयंम्सेवक परिचालन हुनेछन् । एक हजार सुरक्षाकर्मी रथयात्राको सम्पूर्ण सुरक्षामा खटिने र उनीहरुले तीन तहमा रहेर सुरक्षा प्रदान गर्ने योजना बनाइएको अध्यक्ष रेग्मीले जानकारी दिए ।

रथलाई ४३ स्थानमा रथ रोक्ने व्यवस्था मिलाइएको छ । रथ रोकिने स्थानहरुमा रथयात्राका सहभागीहरुलाई पानी पिउने व्यवस्था गरिएको छ । रथ रोकिएको स्थानहरुमा श्रद्धालु भक्तजनहरूलाई राधाकृष्ण रथयात्राको लठ्ठा छुने, तान्ने र रथको दर्शन गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । राधाकृष्ण रथयात्रामा ५८ प्रकारका साँस्कृतिक झाँकीहरुले आ–आफ्नो प्रस्तुतिसहित सहभागीता जनाउने छन् ।

यसैबीच राधाकृष्ण रथयात्रामा लाखौंको संख्यामा श्रद्धालु भक्तजनहरूको सहभागीता हुने भएकोले नेपाल प्रहरीले सीसीटीभीबाट रथयात्राको प्रत्यक्ष निगरानी गर्नेदेखि सादा पोषाकका एक सय बढि सुरक्षाकर्मीको परिचालन गर्ने तयारी गरेको जनाएको छ । 

रथयात्राका क्रममा भिडभाडको फाईदा उठाउँदै आपराधिक प्रवृत्तिका व्यक्तिहरुबाट चोरी, लुटपाट, पाकेटमारी लगायतका अवाञ्छित गतिविधि हुनसक्ने भन्दै प्रहरीले सुरक्षा निगरानी कडा पारिने जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन कुमार दाहालले जानकारी दिए ।

प्रहरीले रथयात्राका क्रममा बहुमुल्य गरगहना नलगाउन, अधिक नगद र बहुमुल्य सामाग्रीहरू साथमा नबोक्न, रथयात्रा हुने मार्ग र समारोहस्थल वरीपरी सवारी साधन पार्किङ नगर्न तथा सवारी साधनहरू ह्यान्डल वा ह्विल लक लगायतका सुरक्षा विधिहरु अपनाउन, सीसीटीभी वा मानिसको निगरानी रहेको सुरक्षित स्थानमा मात्रै पार्किङ गर्न प्रहरीले आग्रह गरेको हो । त्यस्तै रथयात्रामा सहभागी हुन आउँदा साथमा बालबालिका नलिई सहभागी हुन र बृद्ध बृद्धाहरूलाई सहयोगी बिना सहभागीता नगराउन पनि आग्रह गरिएको प्रवक्ता दाहालले बताए । 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x