कोशी

धरानमा डेंगु संक्रमण उच्च, विपी प्रतिष्ठानले सुरु गर्‍याे निःशुल्क क्लिनिक

बाबुराम भण्डारी |
साउन ३, २०८० बुधबार ११:२२ बजे

विराटनगर । सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेंगु क्लिनिक सुरु गरेको छ । सुनसरी जिल्ला मुलुकभर सबैभन्दा बढी डेंगु संक्रमण फैलिएको १० वटा जिल्लाहरु मध्ये पहिलो नम्बरमा छ । यहाँ एक हजार ५७१ जनामा डेंगु संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 

संक्रमण पहिचान र उपचारका लागि प्रतिष्ठानले छुट्टै क्लिनिक सञ्चालनमा ल्याएको हाे । प्रतिष्ठानको जीओपीडी भवनअगाडि डेंगु क्लिनिक सुरु गरिएको सह–प्रवक्ता डा. चुरामणि पोखरेलले बताए । लगातारको वर्षापछि लामखुट्टेको टोकाइ बढ्दा सुनसरीको धरानमा सबैभन्दा बढी डेंगु संक्रमण देखिएको छ । संक्रमण बढेपछि अलग्गै क्लिनिक सुरु गरिएको उनले जानकारी दिए ।


रोगको प्रकोप नियन्त्रण तथा सर्वसाधारणलाई सहजरुपमा उपचार सेवा प्रदान गर्न प्रतिष्ठान तथा धरान उपमहानगरपालिकाको सहकार्यमा असार २९ गतेदेखि क्लिनिक सञ्चालनमा ल्याइएको हो । 
क्लिनिक सञ्चालनका लागि प्रतिष्ठानबाट चिकित्सक, नर्स, पारामेडिक्स लगायत अन्य जनशक्तिको व्यवस्था गरिएको र धरान उपमहानगरपालिकाले पाँच सय थान डेंगु परीक्षण किट उपलब्ध गराएको जनाइएको छ । 

उपचारका लागि आउने सर्वसाधारणका लागि बस्ने व्यवस्था स्वरुप टेन्ट र कुर्सीको व्यवस्था गरेको प्रतिष्ठानले जनाएको छ । क्लिनिक हप्ताको सातै दिन बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म र शनिबार बिहान ९ बजेदेखि १२ बजेसम्म संचालनमा रहने जनाइएको छ ।

क्लिनिकमा आउने बिरामीहरुका लागि डेंगुको परीक्षण निःशुल्क गरिएको प्रतिष्ठानका सह–प्रवक्ता डा.पोखरेलले बताए । असार महिनाको अन्तिम तीन दिनमा मात्रै १२१ जनाको परीक्षण गरिएकोमा ९६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । बालकदेखि बृद्धसम्म र केहि गर्भवती महिलाहरु पनि समेत डेंगु देखिएको जनाइएको छ ।

परीक्षणका लागि आउने बिरामीहरुलाई चिकित्सक र नर्सहरुले जाँच गरेपश्चात र्‍यापिड किटको माध्यमबाट डेंगु संक्रमण भए नभएको तुरुन्तै पत्ता लगाउने गरिएको छ ।

डेंगु संक्रमितमा रक्तचापमा कमी हुने, मुटुको धड्कन बढ्ने, गिजा तथा शरीरमा आएका डाबरहरुबाट रक्तश्राव हुने, छिनछिनमा बान्ता, पेट दुख्ने जस्ता घातक लक्षणहरु देखिएको खण्डमा भने बिरामीहरुलाई इमर्जेन्सी पठाएर उपचार गर्ने व्यवस्था रहेको सह–प्रवक्ता डा.पोखरेलले बताए ।

परीक्षणका लागि किट अभाव

प्रतिष्ठानले सुरु गरेको डेंगु परीक्षण र उपचारका लागि आवश्यक पर्ने र्‍यापिड किटको अभाव भएको छ । परीक्षणका लागि आउने बिरामीहरुको चापका कारण प्रतिष्ठानमा रहेको पाँच सय थान किट सकिएका कारण थप परीक्षणमा चुनौती थपिएको जनाइएको छ । 

किट अपुग हुने अवस्था देखिएको भन्दै प्रतिष्ठानले धरान उपमहानगरपालिकासहित कोशी प्रदेश स्वास्थ्य मन्त्रालय, संघीय स्वास्थ्य मन्त्रालयहरुसँग आवश्यक पहल गरिरहेको प्रतिष्ठानका सह–प्रवक्ता डा.पोखरेलले जानकारी दिए ।

उपमहानगरपालिकाले पहिलो चरणमा २०० थान र स्वास्थ्य मन्त्रालय अन्तरगत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट दुई हजार थान परीक्षण किट उपलब्ध गराउने आश्वासन प्राप्त भएको प्रतिष्ठानले जनाएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x